बाँदरमुढे घटनास्थलबाटै मृतकको सम्झना, कार्यक्रमस्थलमा सन्नाटा !

चितवन । माडी बाँदरमुढे घटनाको आज १७ वर्ष पूरा भएको दिनमा मृतकको सम्झनामा घटनास्थलमै स्मृति सभा गरिएको छ । बाँदरमुढे घटनास्थलमै आज स्मृति सभाको आयोजना गरी मृतकप्रति श्रद्धाञ्जलि प्रकट गरिएको छ ।
मृतकप्रति श्रद्धाञ्जलि प्रकट गरिरहँदा कार्यक्रमस्थलमा सन्नाटा छाएको थियो । बाँदरमुढे घटनापीडित समिति, माडी नगरपालिकाले एडभोकोसी फोरम नेपालको सहकार्यमा आयोजित स्मृति सभाका वक्ताहरूले घटनाका दोषीलाई कारबाही र पीडितलाई अधिकारको सुनिश्चित गर्न माग गरेका थिए ।
वक्ताहरूले घटनाको १७ वर्ष हुँदा पनि पीडितले कहिले न्याय पाउने भनेर प्रश्न गरेका थिए । घटनाका घाइतेहरूको समेत उपस्थिति रहेको सो सभामा पटकपटक न्यायको माग गरिएको थियो । घाइतेहरू मृतक आफन्तप्रति दुःख प्रकट गरेका थिए ।
माडी नगरपालिका प्रमुख ताराकाजी कुमारी महताले २०६२ साल जेठ २३ गते भएको बाँदरमुढे घटनाका पीडितले न्याय नपाएको बताइन् । उनले भनिन्, ‘बाँदरमुढे घटना नियोजित तरिकाले घटाइएको अपराधपूर्ण कार्य हो, यो घटनाका पीडितले न न्याय पाए, न त राहत नै ।’ उनले यसै क्षेत्रका सांसद नेकमा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको आश्वासन पनि पूरा नभएको बताइन् । उनले भनिन्, ‘अहिले उहाँ (प्रचण्ड)को पार्टी सरकारमा छ, तर घाइतेहरूलाई उहाँले दिनुभएको आश्वासन पूरा हुन सकेको छैन ।’
माडी नगर उपप्रमुख खेमप्रसाद महतोले घटनाका दोषीलाई कारबाहीको माग गर्दै पीडितहरूको रोजगार, औषधि खर्चको व्यवस्था गर्न नगरपालिका गम्भीर भएर लाग्ने बताए ।
कार्यक्रममा अग्रज पत्रकार कनकमणि दीक्षितले नियतवस, जानीजानी बाँदरमुढे घटना घटाइएको बताए । उनले भने, ‘बसको छतभरि मान्छे देख्दादेख्दै स्वीच अन गरेर बम विष्फोट गराइयो, ४२ जना मरे । कयौँ घाइते भए । यो घटना अदालतमा जानैपर्छ । दोषीलाई सजाय हुनैपर्छ ।’
मानवअधिकारकर्मी सुशील प्याकुरेलले बाँदरमुढे घटना नभई काण्डका रुपमा नियोजित रुपमा गराइएको बताए । उनले यो आतंकारी घटना भएको बताए ।
कार्यक्रममा एड्भोकेसी फोरम नेपालका वरिष्ठ अधिवक्ता पुष्प पौडेल, विश्व हिन्दू महासंघका अध्यक्ष रामचन्द्र अधिकारी, इन्सेक चितवनका दीपेन्द्र अधिकारीलगायतले मन्तव्य दिएका थिए ।
माडीको बगईबाट नारायणगढ आउँदै गरेको बसलाई लक्षित गरेर बाँदरमुढेमा तत्कालीन विद्रोही नेकपा माओवादीले बम विष्फोट गराएको थियो ।
बम विष्फोटमा माडीका २० जना, भरतपुरका ३, झापाका ४ जना, नवलपरासीका ५ जना, कास्कीका २ जना, लमजुङका १ जना सर्वसाधरणको ज्यान गएको थियो । गोर्खा, उदयपुर र सुर्खेतका एक एक जना सेनाको पनि सो घटनामा मृत्यु भएको थियो ।
मृतक र घाइतेको घटनास्थलमा स्मारक बनाइएको छ । स्मारकमा मृतक ४२ र घाइते ७५ जनाको नाम लेखिएको छ ।








