इलाममा ‘चेप्टी फनपार्क’ निर्माण सम्बन्धमा छानबिन समिति गठन

काठमाडौँ । इलामको दक्षिणी क्षेत्र चुरेमा पर्ने माई नगरपालिकामा निर्माण गरिएको ‘चेप्टी फनपार्क’मा जग्गा अतिक्रमण भएको विषयमा छानबिन गर्न डिभिजन वन कार्यालयले तीन सदस्यीय छानबिन समिति बनाएको छ ।

डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठका अनुसार सहायक वन अधिकृत सञ्जिवराज ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिमा अधिकृत कर्ण अधिकारी र अधिकृत सरोज घिमिरे सदस्य रहेका छन् । समितिले वन क्षेत्रमा अतिक्रमण भएको वस्तुस्थिति बुझेर प्रतिवेदन बुझाउने डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठले बताए ।

चेप्टी फनपार्कले वन क्षेत्र अतिक्रमण गरेको भन्ने विषयको समाचार राससलगायतका सञ्चारमाध्यममा आएको थियो । यसअघिसमेत डिभिजन वन कार्यालयले प्रतिवेदन तयार पारिसकेको छ । पहिलेको प्रतिवेदनमा सरस्वति सामुदायिक वन समूहको ४५ रोपनी जग्गा अतिक्रमण भएको पाइएको थियो । कार्यालय प्रमुख श्रेष्ठले हाल सञ्चारमाध्यममा गम्भीररुपमा यस विषयको चर्चा भएकाले विस्तृत रूपमा अध्यययन गर्न समिति बनाइएको बताए ।

माई नगरपालिका वडा नम्बर ८ मा जमिन अतिक्रमण भएको र पार्क निर्माण गर्दा वन क्षेत्र अतिक्रमण भएको साथै अवैध रूपमा काठ काटिएको विषयमा पनि विस्तृत छानबिन गरिने बताइएको छ । जो कोही पनि दोषी भएमा कारबाहीको दायरामा ल्याउने कार्यालय प्रमुख श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे । माईका वडा नं २ र १० मा पार्क निर्माण गरिएको छ ।

वडा नं २ का तत्कालीन वडाध्यक्ष एवं नवनिर्वाचित नगर प्रमुख खम्बासिंह लिम्बू, इलामका तत्कालीन डिएफओ इन्द्रमणि भण्डारीसमेतको मिलेमतोमा चेप्टी फनपार्क निर्माणका क्रममा राष्ट्रिय वन क्षेत्रको ३०० भन्दा बढी जग्गा अतिक्रमण भएको विभिन्न सञ्चारमाध्यममा चर्चामा आएको थियो । ह्याप्पी डिम्सका सञ्चालक दिनेश शिवाकोटीसहितका व्यक्ति र तत्कालीन डिएफओ भण्डारीले पार्कसम्म जाने सडक वन क्षेत्रबाट निर्माण गर्दा दर्जनौं काँचो सालका रूख काटिएको पनि समाचारमा उल्लेख छ ।

यद्यपि, उक्त सडकखण्ड सुखानी र अर्को एक सामुदायिक वनमा पर्ने बताइएको छ । राष्ट्रिय वन क्षेत्रमा पर्ने वास्तविक जग्गा कति हो भन्ने यकीन गर्न फिल्डमा नै गएर अनुसन्धान गरिने डिएफओ श्रेष्ठले बताए । उनले बयानका लागि नाम उल्लेख भएका व्यक्तिसँग पनि सोधपुछ गरिने जानकारी दिए । समितिले जतिसक्दो चाँडो अनुसन्धान गर्ने र प्रतिवेदन तयार पार्नेसमेत जनाइएको छ ।

नवनिर्वाचित नगर प्रमुख खम्बासिंह लिम्बूले विज्ञप्ति जारी गर्दै नगपालिकामा हुँदै गरेको विकासको काम भएको र समाचारले लगानीकर्तामा निरासा पैदा भएको बताएका छन् । सञ्चारमाध्यमले विकासका कामलाई उजागर गर्नुपर्नेमा विकास विरोधी समाचार प्रकाशन भएको उनको बुझाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *