कपडाभित्र लुकाएर दुबईबाट सुन तस्करी, चिनियाँ र भारतीयसहित ७ पक्राउ

काठमाडाैँ । सुन तस्करीमा संलग्न रहेकाे आरोपमा प्रहरीले भारतीय र चिनियाँ नागरिक सहित ७ जना पक्राउ परेका छन् ।
शनिबार दिउँसो दुबईबाट काठमाडौँ आएको नेपाल वायु सेवा निगमको जहाजमा केही व्यक्तिहरूले भन्सार छलेर सुन ल्याउँदैछन् भन्ने सूचनाका आधारमा प्रहरीले अनुसन्धान र खानतलासी गर्दा उनीहरू पक्राउ परेकाे प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरले जानकारी दिए ।
सूचनाको आधारमा प्रहरीले कार्यालयबाट खटिएकाे विशेष अनुसन्धानको टोलीले सुरूमा दुई जनामाथि निगरानी राखेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
साे क्रममा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेटबाहिर गुल्मी घर भई रूपन्देहीको सैनामैना-१ बस्ने ४२ वर्षीय सुरेशबहादुर शाही र कपिलवस्तु बस्ने २९ वर्षीय सन्दीप चन्द ठकुरीमाथि निगरानी राखी चेक गर्दा उनीहरूले लगाएको कपडामा सुनको धुलो बनाएर ल्याएको भेटिएकाे हाे ।
उनीहरूमध्ये सन्दीप चन्द ठकुरीसँग ५७२.१६० ग्राम र सुरेशबहादुर शाहीसँग ३९६.८९ ग्राम सुन फेला रेको हो ।
उनीहरूले सर्ट, पाइन्ट र अन्डरवेयरलगायत विभिन्न भागहरूमा सुनको पेस्ट लगाएका थिए ।
प्रहरीले उक्त मात्राको सुन कपडाबाट पगालेर निकालेको हो ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएपछि अन्य पाँच जनालाई पनि पक्राउ गरेको उपरीक्षक कोइरालाले बताए ।
पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा-१६ घर भई काठमाडौँ बौद्ध बस्ने निर्मला घलान, धनुषा बडेश्वर-४ घर भई बुढानिलकण्ठ बस्ने ४१ वर्षीय राहुल भन्ने वरुणभक्त माथेमा र चीनको तिब्बतका घर भई बौद्ध बस्ने २७ वर्षीय लोप्साङ ग्याल्सेन रहेका छन् ।
त्यस्तै, नवलपरासी पश्चिम सुनवाल-१० घर भई माछापोखरी बस्ने ४२ वर्षीय युवराज भुषाल र भारतको दिल्ली कृष्णनगर घर भई ललितपुरको बागडोल बस्ने ५१ वर्षीय अमन राजपुत छन् ।
यसरी कपडामा टाँसेका थिए सुनः










