मन्त्री हेरफेरमा प्रधानमन्त्री देउवाकाे अनिच्छा

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले गरेकाे मन्त्री हेरफेरकाे सिफारिस कार्यान्वयन गर्न अनिच्छा देखाएका छन् । बजेट अधिवेशन चलिरहेकाे कारण देखाउँदै प्रधानमन्त्री देउवाले मन्त्री हेरफेरकाे सिफारिस तत्काल कार्यान्वयन नगर्दा उचित हुने बताएका छन् । प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै कांग्रेसका एक नेताले भने, ‘यही समयमा मन्त्रीहरू फेर्नु राम्राे हुँदैन । बजेट अधिवेशन चलिरहेकाे छ ।’

प्रधानमन्त्री देउवाले बजेट अधिवेशन सकिएपछि भने मन्त्रीहरू फेर्दा फरक नपर्ने बताएका छन् ।

मन्त्रीहरूले पनि तत्काल फिर्ता नहुने मनसाय व्यक्त गरिरहेका छन् । मन्त्री हेरफेरबारे आफूहरूलाई जानकारी नै नभएकाे उनीहरूले बताइरहेका छन् । सहरी विकासमन्त्री रामकुमार झाँक्रीले भनेकी छन्, ‘हामीले पनि बाहिरचाहिँ सुन्याैँ, आधिकारिक जानकारी भने छैन ।’ त्यसअघि स्वास्थ्यमन्त्री विराेध खतिवडाले पनि ‘कुन बैठकले मन्त्री फिर्ता बाेलाउने निर्णय गरेकाे हाे ?’ भनेर प्रतिप्रश्न गरेका थिए । मन्त्रीहरूले आफ्नाे ‘लाइन’मा रहेका कामहरू टुङ्ग्याएर मात्रै फिर्ता हुने बताएका छन् ।

एकीकृत समाजवादीले विराेध खतिवडालाई हटाउँदै स्वास्थ्यमन्त्रीमा यसअघिका स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद दापुङलाई बढुवा गरेकाे छ । श्रम मन्त्रालयकाे जिम्मेवारी शेरबहादुर कुँवरलाई दिएकाे छ । जहाँ यसअघि कृष्णकुमार श्रेष्ठ थिए । यसअघि रामकुमार झाँक्रीले सम्हालेकाे सहरी विकास मन्त्रालयमा मेटमणि चाैधरीलाई पठाएकाे छ भने यसअघिका पर्यटनमन्त्री प्रेम आलेलाई हटाउँदै उनकाे स्थानमा जीवनराम श्रेष्ठलाई सिफारिस गरेकाे छ ।

यसअघि पहिले भवानीप्रसाद खापुङले सम्हालेकाे स्वास्थ्य राज्यमन्त्रीकाे कार्यभार हिरा केसीले सम्हाल्नेगरी एकीकृत समाजवादीले सिफारिस गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =