सूर्यविनायकको गुण्डुमा बृहत औद्योगिक ग्राम निर्माण हुँदै

काठमाडौँ । सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डुमा जिल्लाकै पहिलो औद्योगिक ग्राम बन्ने भएको छ ।

स्थानीय सार्की खोल्छा नामबाट चिनिने सो स्थानमा रहेको ८४ रोपनी सार्वजनिक जग्गा र स्थानीयवासीको करिब एक हजार रोपनी जग्गामा विशाल औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । वडा कार्यालय अगाडिकै क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि नेपाल सरकारसँग प्रस्ताव गरिएकामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले रु. एक करोड बजेट विनियोजन गरेकामा औद्योगिक ग्रामको गुरुयोजना निर्माण अन्तिमचरणमा पुर्याई कार्यान्वयनका लागि छलफल अगाडि बढाइएको सांसद महेश बस्नेतले जानकारी दिए ।

औद्योगिक ग्रामका लागि गुरुयोजना निर्माण र सडक निर्माण अन्तिम चरणमा पुगेपछि स्थानीयवासीलाई अधिकभन्दा अधिक फाइदा हुने र त्यस क्षेत्रमा आर्थिक क्रान्ति आउने गरी आयोजनालाई पूर्णता दिनेबारे विज्ञसहित स्थानीयवासीसँग छलफल शुरू भएको उनको भनाइ छ । सांसद बस्नेतले भने, “त्यस क्षेत्रमा तीन प्रकारका उद्योग सञ्चालनमा आउनेछन्, एकमा उपकरणको प्रयोग नगरी उत्पादन हुने माइक्रोइन्डस्ट्री जस्तैः हस्तकलाका सामान, दोस्रो घरेलु उद्योगमा उपकरणको प्रयोग हुने जस्तैः धातु कला, काष्ठकला र तेस्रोमा साना तथा मझौला उद्योग सञ्चालनमा आउनेछन् ।”

उद्योगसँगै प्रशासनिक भवन, हरियाली क्षेत्र, स्वास्थ्य उपचार क्षेत्र, मजदूरका बालबालिका हेरचाह केन्द्र, बालग्राम, प्रशोधन केन्द्र, उपकरण सर्भिस सेन्टरलगायत आवश्यक संरचनासमेत निर्माण गरिनेछ । त्यस क्षेत्रलाई औद्योगिक सहरको रूपमा विकास गर्दै ल्याण्ड पुलिङ गरी उद्योगीदेखि मजदूरसम्मले घडेरी खरिद गरी बसोबासको क्षेत्र बनाउन सक्ने गरी पूर्वाधार निर्माण गर्ने योजना रहेको छ ।

औद्योगिक ग्रामको २०० मिटर आसपासका क्षेत्रका बासिन्दाले यहाँका करिब एक हजार रोपनी क्षेत्रफल रहेको आफ्नो निजी जग्गालाई समेत औद्योगिक ग्रामकै रूपमा विकास गरी निजीस्तरमा उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने वा कुनै उद्योग सञ्चालनका लागि जग्गा भाडामा दिएर आम्दानीको बलियो स्रोत बनाउने सक्ने गरी योजना अगाडि बढाइएको छ । सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले औद्योगिक ग्राम निर्माणका लागि गुरुयोजना अन्तिम चरणमा पुगेको र स्थानीयवासी एवं विज्ञहरुसँग विभिन्न चरणमा छलफल भइरहेको बताए ।

औद्योगिक ग्राम निर्माण भएपछि यस क्षेत्रलाई आर्थिक क्रान्तिको रूपमा विकास गरिने र स्थानीयस्तरमा रोजगारी समेत वृद्धि हुने अपेक्षा गरिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *