देवघाटको शवदाह गृह: ‘कछुवाको गति’मा घिस्रिरहेको एउटा आयोजना

चितवन । ‘कछुवाको गति’मा घिस्रिरहेको एउटा आयोजना हो देवघाटको शवदाह गृह ।

दुई वर्षमा सकिने आयोजना तीन वर्षमा पनि सम्पन्न भएको छैन, तर जबर्जस्त घिस्रिरहेको छ ‘कछुवा गति’मा । दुई(दुई पटक म्याद थप्दा पनि आयोजना सम्पन्न हुन सकेको छैन । सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरले शवदाह निर्माणको ठेक्का मिलिनियम सिद्धगढी जेभीलाई निर्माणको जिम्मा दिएको हो । समयमै काम नसकिएपछि दुईपटक निर्माणको समय थपियो, तर पनि काम पूरा सम्पन्न भएन । हालै फेरि तेस्रोपटक शवदाह गृह निर्माणको म्याद थपिएको छ ।

सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका प्रमुख प्रकाश अर्यालले शवदाह गृह निर्माण तेस्रोपटक म्याद थपिएको बताए । उनले विभिन्न कारणले शवदाह गृह निर्माणमा ढिलाइ भएपछि तेस्रोपटक म्याद थपिएको बताए । सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका सूचना अधिकारी होमनाथ पौडेलले आगामी साउन ३० सम्म म्याद थपिएको बताए ।

सघन सहरी तथा भवन निर्माण कार्यालय चितवनले शवदाह गृह निर्माणका लागि ठेक्का लगाएको दुई वर्षमा सकिनुपर्ने हो, तर तीन वर्ष पूरा हुँदा पनि शवदाह गृह निर्माण पूरा हुन सकेको छैन । भरतपुर महानगरले यस आयोजनालाई गौरवको आयोजनाभित्र राखेको छ । तोकिएको समयमा काम नहुँदा तेस्रोपटक शवदाह गृह निर्माणका लागि म्याद थप्नु परेको भरतपुर महानगरको भनाइ छ । सूचना अधिकारी पौडेलका अनुसार दोस्रोपटक थपिएको म्याद चैत मसान्तमा सकिएको हो । अहिले साउन ३० गतेसम्मका लागि तेस्रोपटक म्याद थपिएको छ, तर पछिल्लो समय काम तीव्र रूपमा अघि बढेको छ ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले शवदाह गृह निर्माणको काम सुस्त भएको बताए । उनका अनुसार यतिबेला शवदाह गृहको पहिलो तलाको ढलानको काम भइरहेको छ । उनले भने, ‘डिभिसी उठेको छ, पिलरहरू सबै उठे । अहिले ढलानको काम हुँदैछ, तर काम तीव्र हुन सकिरहेको छैन ।’
छ सय वर्गमिटरमा शवदाह गृह बन्न लागेको हो । शवदाह गृहमा दुई मेसिन जडान हुनेछ । एकैपटक दुई शवदाह गर्न सकिने निर्माण पक्षले जनाएको छ । यसबाहेक सागर जानेहरुलाई बस्ने ठाउँ, खानेपानी, शौचालयलगायतका सुविधासहितको भवन पनि बन्नेछ ।

नदीमा आएको बाढी, कोरोना कहर, डिजाइन परिवर्तनलगायतका कारण निर्माणमा ढिलाई भएको पौडेल बताउँछन् । उनका अनुसार शवदाह गृहको पहिलो निर्माण सम्झौता अवधि ३ माघ २०७७ मै सकिएको हो । निर्माण पूरा नभएपछि २०७८ चैत मसान्तसम्म निर्माण सक्ने गरी दोस्रोपटक म्याद थपियो । चैत मसान्तसम्म पनि निर्माण नभएपछि अहिले तेस्रोपटक साउन ३० गतेसम्म म्याद थपिएको सघन सहरी तथा भवन निर्माण कार्यालयले जनाएको छ ।

संघीय सरकारको बजेटबाट शवदाह गृह निर्माणको काम भइरहेको हो । मूल्य अभिवृद्धि करबाहेक नौ करोड ९२ लाखमा ठेक्का लगाइएको हो । २०७५ माघ ३ मा शवदाह निर्माणको ठेक्का मिलिनियम सिद्धगढी जेभीले लिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *