भारतीय गायक मुसेवालाको हत्यामाथि छानबिन गर्दै दिल्ली प्रहरी नेपालमा

काठमाडौँ — भारतका पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा संलग्न हतियारधारीलाई पक्राउ गर्न दिल्ली प्रहरीको विशेष टोली शुक्रबार नेपाल आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गायक मुसेवालाको हत्यामा संलग्न बन्दुकधारीलाई पक्राउ गर्न दिल्ली प्रहरीको विशेष टोली नेपाल आइपुगेको जनाइएको भएपनि सो टोली नेपालको कुन क्षेत्रमा आइपुगेका छन् भन्नेबारे भने जानकारी दिइएको छैन ।
घटनामा संलग्न हतियारधारीहरू नेपालमा लुकेर बसेको हुनसक्ने भन्दै भारतको राजधानी दिल्लीबाट खटिएको
प्रहरीको अनुसन्धान टोली नेपाल आइपुगेको बताइएको हो ।

पञ्जाब पुलिसले मुसेवालाको हत्यामा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको केही घण्टापछि दिल्लीको प्रहरी टोलीलाई नेपाल पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुसेवालाको हत्याका लागि बोलेरो कार उपलब्ध गराएको आरोपमा प्रहरीले फतेहबादको भिरडाना गाउँबाट मंगलबार दुई जनालाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार हत्यामा संलग्न आरोपमा मनप्रित सिंहलाई अदालतमा उपस्थित गराई ५ दिनको म्याद थपिएको छ। यसअघि, गोल्डी ब्रारले आफ्नो फेसबुक पोस्टमार्फत् मुसेवालाको हत्याको जिम्मेवारी लिएका थिए । उनले ग्याङस्टर वियक्की मिड्डुखेराको मृत्युको बदला लिएको बताएका थिए ।

सो क्रममा विभिन्न मुद्दामा प्रहरी हिरासतमा रहेका गुण्डा नाइके कला जठेदी र उनका सहयोगी कला रानालाई पनि मुसेवालाको हत्या सम्बन्धमा सोधपुछ गरिएको छ । पछिल्लो समय राजनीतिमा प्रवेश गरेका गायक मुसेवालाको सुरक्षा व्यवस्था पञ्जाब सरकारले हटाइदिएको केही दिनपछि अज्ञात बन्दुकधारीहरूबाट उनको हत्या भएको हो ।
मुसेवालामाथि उक्त अज्ञात समूहले १९ वटा गोली प्रहार गरेको र आक्रमणको १५ मिनेटमै उनको मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ ।

पञ्जाबको मन्सा जिल्लास्थित जवाहार्के गाउँमा गत आइतबार पञ्जाबी गायक मुसेवालाको हत्या भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *