सगरमाथा जलविद्युतकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौँ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्तिसम्बन्धी सम्झौता एक कार्यक्रमको आयोजना गरी बिहीबार सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सम्झौता पत्रमा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईं तथा प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक भूषण गुरागाईं तथा प्रभु क्यापिटल लिमिटेडका चिफ बिजनेस अफिसर बासु थपलियाको उपस्थिति थियो ।

कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ । आयोजनाले २०७७ जेठ ३२ देखि जलविद्युत् उत्पादन शुरु गरिसकेको र आयोजनाले शतप्रतिशत क्षमतामा विद्युत् उत्पादन गरिरहेको कम्पनीका प्रबन्ध सञ्चालक भूषण गुरागाईंले सम्झौता कार्यक्रममा जानकारी दिए ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १२ करोड मध्ये स्थानीयका लागि १० प्रतिशत वापत ११ लाख २० हजार कित्ता, तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि ४३ लाख ६८ हजार कित्ता गरी जम्मा ५४ लाख ८८ हजार कित्ता बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *