संसद बैठकमा सांसद गिरीको मागः सप्तरी घटनामाथि छानबिन होस् !

काठमाडौँ । नेकपा (एमाले) की सांसद सरिताकुमारी गिरीले सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकाका चिकित्सक डा. विजयकुमार यादवको हत्या गरिएको भन्दै निष्पक्ष छानबिनको माग गरेकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शुरूमै सभामुख अग्निप्रसाद सापकोटासँग समय माग गरी सांसद गिरीले नोबेल मेडिकल कलेजमा हाडजोर्नी विशेषज्ञ डा. विजयकुमार यादवको यही जेठ १८ गते राति निर्ममतापूर्वक हत्या गरिएको तर प्रशासनले घटनालाई आत्महत्यातर्फ बङ्ग्याउन खोजेको आरोप लगाएकी छन् । डा. विजयकुमार पाँच वर्षअघि बङ्गलादेशबाट एमबिबिएस अध्ययन सकेर नेपाल आएका थिए ।

सांसद गिरीले भनिन्, “डा. विजयको हत्यालाई प्रशासनले आत्महत्याजस्तो देखाउने प्रयास गरे पनि डेरा वरिपरि डा. विजयको शव घोप्टो पारी राखिएको थियो, त्यो कम्पाउण्डबाहिर मृतकको रगत जताततै छरिएको थियो, साथै, शरीरमा आक्रमणका चिह्न रहेका थिए । तर, घटनास्थलमा रहेका प्रमाण नेपाल प्रहरीले नष्ट गर्न खोजेको छ ।”

डा. विजयको हत्यामा मेडिकल कलेजकै डाक्टर, कर्मचारी र औषधि पसलेको संलग्नता रहेको मृतकको परिवारले दाबी गर्दै आएको सांसद गिरीको भनाइ छ । हत्या काण्डको मसिनो गरी छानबिन गर्न एक संसदीय छानबिन समिति गठन गरी मृतक परिवारलाई न्याय गर्नुपर्ने सांसद गिरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *