तुइनमा झुण्डिएर मेलम्ची तर्नुपर्ने समस्या समाधान

काठमाडौँ । गत साल निर्माण गरेलगत्तै असार र साउनको बाढीले पक्की पुल बगाएपछि मेलम्ची घ्याङ, टेजा, तर्कदोल, कुसङपाललगायत क्षेत्रका बासिन्दा तुइनमा झुण्डिएर मेलम्चीखोला वारपार गर्न बाध्य थिए ।

हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल बनेपछि अब उनीहरूलाई तुइनमा झुण्डिएर मेलम्ची खोला तर्नु नपर्ने भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल निर्माण भएपछि ती बस्तीमा आवतजावत गर्न सहज भएको हेलम्बु–१ का वडाध्यक्ष दावा ग्यालजेन शेर्पाले बताए । उनका अनुसार गत साल असार र साउनको बाढीले निर्माण गरेलगत्तै पक्की पुल बगाएका कारण ती बस्तीमा तुइनको सहारामा मानिसहरू आवतजावत गरिरहेका थिए ।

स्थानीय बासिन्दाका साथै मुलुककै नमूनाको रूपमा चिनिने मेलम्ची घ्याङ माध्यमिक विद्यालयसमेत रहेको मेलम्ची घ्याङ बस्तीमा टाढाटाढाका साना विद्यार्थीलाई विद्यालय आउनजान कठिनाइ परेकोले प्राथमिकतामा राखी तीन महिनामै पुल निर्माण गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । उनले भने, “अब तुइनको जोखिम यात्रा गरेर मेलम्ची खोला तर्नुपर्ने समस्या टरेको छ । यस कार्यका लागि सहयोग गर्नुहुने सम्बन्धित सबैप्रति आभारी छु । यस वर्ष पनि बाढीले पुर्याउन सक्ने क्षतिप्रति हामि सचेत छौँ ।”

अध्यक्ष शेर्पाका अनुसार उक्त पुल निर्माणपश्चात् बस्तीका बासिन्दा र विद्यालयका विद्यार्थी मात्र नभई मेलम्ची घ्याङको बाटोबाट ठाडेपाटी हुँदै गोसाँइकुण्डसम्म जाने तीर्थयात्री र पर्यटकका लागि पनि सहज भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *