झापामा १२ चोरीका मोटरसाइकलसहित ८ जना पक्राउ

विराटनगर । झापामा चोरीको मोटरसाइकलसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाका विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरीमा संलग्न रहेका ८ जना र चोरी भएका १२ थान मोटरसाइकल नियन्त्रणमा लिएको झापा प्रहरीले जनाएको छ ।

केही खिन पहिलादेखि झापाका विभिन्न स्थानहरूबाट मोटरसाइकल हराएको भन्ने सूचना पाएसँगै चोरीमा संलग्नहरु तथा हराएका मोटरसाइकलको खोजी गरेको प्रहरीले विभिन्न ठाउँबाट १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले चोरीमा संलग्न ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा टिकुली नगरपालिका-५ सप्तरीका करण महमद, झापाको गौरिगञ्ज गाउँपालिका-५ का ओम प्रकाश यादव, अर्जुनधारा नगरपालिका-८ का समिर मिया, बिर्तामोड नगरपालिका-५ का विष्णु भण्डारी र करण मण्डल छन् । यसैगरी बिर्तामोड नगरपालिका-३ का १९ कुमार राजवंशी तथा सुमन बिहारी र इलाम चुलाचुलीका-१८ वर्षीय राहुल श्रेष्ठलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेको समूहले अशोक विहारीको अर्जुनधारा नगरपालिका-८ कदमगाछीमा रहेको ग्यारेज भित्रबाट र अर्जुनधारा- १० को अर्को मोटरसाइकल ग्यारेजबाट तथा झापाको अन्य विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको प्रहरीको दाबी छ । १२ थान मोटरसाइकल सहित पक्राउ परेको यो समूहको सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *