कर्णालीमा रासायनिक मलकाे अभाव

सुर्खेत । कर्णालीमा रासायनिक मलको अभाव भएको छ । खेतीपातीको सिजनको मुखैमा भएको मल अभाव भएको हो । बर्खायाम सुरु हुँदै लाग्दा किसानहरु खेतबारीतिर लागेका छन् ।

कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश भनिएपनि कर्णालीमा दिनानुदिन रासायनिक मलको प्रयोग बढ्दै छ । खेतीपातीको सिजन सुरु भएसँगै वर्षेनी कर्णालीमा मल अभाको समस्या हुँदै आएको छ ।

विगतका वर्षहरुमा झै कर्णालीका कृषकहरुले यसपालि पनि मल नपाउने भएका हुन् । कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतमा अहिले एक सय ५० टन डिएपी र १० टन पोटास मौज्दात रहँदा युरिया मलको पूर्ण अभाव छ ।

दैनिक वितरणको अवस्था हेर्ने हो भने कम्पनीसँग १० दिनलाई मात्र पुग्ने युरिया बाहेकको मल बाँकी छ । चालु आर्थिक वर्षको मंसिर मसान्तमा ६३५ टन डीएपी मल आएकोमा पाँच सय ३० टन विक्री भएको छ ।

यस्तै, पूर्ण अभावरहेको युरिया चालु आर्थिक वर्षको मंसिर मसान्तमै ८ सय ९४ टन आएकोमा गत चैत २३ गते नै सकिएको छ । अहिले कम्पनीसँग युरिया मल छैन ।

केही समय अघि मात्रै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–११ सुर्खेतका जगत महतारा कृषि सामाग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतमा रासायनिक मल लिन पुगेका थिए । सहकारी संस्थामार्फत मल लिन आएका महताराले मल नपाएपछि रित्तो हात घर फर्किन बाध्य भए ।

यस्तै, चौकुने गाउँपालिकामा रहेको नवलक्ष्मी सहकारीले पनि मागे जति मल नपाएपछि फर्कनु प¥यो । वर्खे सिजन सुरु भएसँगै मल नपाएर फर्किएका महतारा र नवलक्ष्मी सहकारी प्रतिनिधिमुलक पात्रमात्र हुन् । मुख्यगरी धान खेतीका लागि किसानहरुले विऊ राख्न सुरु गरिसकेको अवस्थामा मलको अभावहुँदा किसान मारमा परेका छन् ।

कृषि सामाग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख अमूल्यलाल श्रेष्ठलले गत मंसिरमै आएको ७३ टनपोटास मल ६३ टन विक्री भई सकेको बताए । प्रमुख श्रेष्ठ भने्, ‘हामीसँग अहिले डीएपी र पोटास मलमात्र मौज्दात छ । यसलाई हामीले समानुपातिक हिसावले वितरण गरिरहेका छौं । भारत सरकारले मल दिने भनिएपनि पछिल्लो समय नदिने भएपछि मल अभाव भएको छ । कम्पनीमा मल आउने नआउने विषय निश्चित पनि छैन् ।’

कम्पनीले कर्णाली प्रदेशका सल्यान र रुकुमबाहेकका आठ जिल्लामा दर्ता भएका १०८ सहकारी संस्थामार्फत मल वितरण गर्दै आएको छ । कर्णालीमा युरिया मल बढी खपत भएपनि साविक कर्णाली अञ्चलमा रासायनिक मलको प्रयोग कम हुने गरेको कार्यालयले जनाएको छ ।

यस्तै, साविक भेरी अञ्चलका पाँच जिल्लामा भने रसायनिक मलको प्रयोग बढ्दै गएको प्रमुख श्रेष्ठले दाबी गरे । कर्णालीमा वितरण हुने मलमा कम्पनीले ७० र ३० प्रतिशत साल्ट ट्रेडिङ्ग कर्पोरशनले वितरण गर्दै आएको छ । हाल साल्ट ट्रेडिङ्गमा पनि युरिया मलको अभाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *