प्रचण्डको ‘धम्की’ र वाम एकताको चर्चा !

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई वरिपरि राखेर भने, ‘कांग्रेस हिजोको एमालेजस्तै अहङ्कारी र दम्भी बन्न थालेको छ । एमालेलाई झैँ ठोक्न नपरोस् ।’ उनी त्यहीँ रोकिएनन्, थपे, ‘हामी त क्रान्तिकारी सिद्धान्तको परियो, जसलाई पनि ठोकिन्छ । हामीले त गठबन्धन जोगाएरै लाने भनेका छौँ । तर कांग्रेस बढी अहङ्कारी हुन थाल्यो । यदि यसै हुने हो भने हामी पछि पर्दैनौँ ।’

प्रचण्डको यो चेतावनीपूर्ण भाषालाई धेरैले विभिन्न काेणबाट विश्लेषण गरेका छन् ।

हुन पनि कांग्रेससँगका पछिल्लाे सहकार्यमा प्रचण्ड यत्तिका खह्रो सुनिएका थिएनन् । असारयता सत्तासाझेदार बनेका माओवादी-कांग्रेसबीच खासगरी स्थानीय तह सदस्य निर्वाचनअघिसम्म राम्रै सम्बन्ध थियाे, त्यही कारण उनीहरू गठबन्धनकै रूपमा निर्वाचनमा पनि हाेमिएका हुन् । तर, बुधबार प्रचण्ड एक्कासी खह्राे सुनिँदा राजनीतिक वृत्तमा स्वाभाविकरूपमा चर्चा हुने नै भयाे । कतिपयले यसलाई प्रचण्डले कांग्रेससँग ‘सत्ता/शक्ति बार्गेनिङ्ग’ शुरू गरेको रूपमा बुझेका छन् । स्थानीय तह निर्वाचनमा अपेक्षा गरेभन्दा बढी सीट जितेको माओवादीले आम चुनावबारे छलफल शुरू हुँदैगर्दा बार्गेनिङ्ग शुरू गरेको बताइन्छ । राजनीतिक विश्लेषक डा. केपी शर्मा भन्छन्, ‘नेपालको सन्दर्भमा जो तेस्रो शक्ति बन्छ, ऊचाहिँ निर्णायक बन्ने गरेकाे छ । नेपालको राजनीतिमा अहिले माओवादी नै तेस्राे शक्ति र निर्णायक शक्ति हाे । प्रचण्ड फेरि कहिल्यै नसेलाउने पात्र हुन् नेपाली राजनीतिमा । यसो हुँदा माओवादीकै हातमा सत्ताको चाबी जान पनि सक्छ । त्यसमा प्रचण्डले बार्गेनिङ्ग गर्न सक्छन् ।’

हामीले विगतदेखि नै नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुट्टाछुट्टै रहनुकाे कुनै अर्थ छैन भनेर भन्दै आएका हाैँ र याे सत्य हाे । ढिलाेचाँडाे यी दुई दलहरू एकठाउँमा आउनुपर्छ ।

गठबन्धनमा आम चुनावबारेकाे छलफल गत साेमबारे नै प्रारम्भ भएकाे छ । सरकारले मंसिरभित्रै चुनाव भइसक्नुपर्ने धारणा राखेको छ । यसबारे प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र रमेश लेखक भन्छन्, ‘आम चुनाव जत्तिसक्दो चाँडै गरौँ भन्ने सरकारले धारणा प्रस्तुत गरेकाे छ । गठबन्धनमा मंसिरभित्रै चुनाव भइसक्नुपर्छ भन्ने कोणबाट छलफल भइरहेको छ र यो हुन्छ ।’ त्यसो त प्रधानमन्त्री देउवा जत्तिसक्दो चाँडो चुनाव गराउन चाहन्छन् । प्रधानमन्त्री देउवाको यही मनसायलाई बुझेर प्रचण्डले बार्गेनिङ्ग गर्न शुरू गरेको गैरमाओवादी नेताहरू बताउँछन् । कांग्रेसका एक नेताले भने, ‘उहाँ (प्रचण्ड) चतुर हुनुहुन्छ । उहाँले कतिखेर के हुन्छ भन्ने हिसाब-किताब गर्नुहुन्छ र चल्नुहुन्छ/बाेल्नुहुन्छ । उहाँले अहिले पनि हिसाब-किताब गरेरै यसो भनिरहनुभएको छ भन्ने लाग्छ । त्यसमा हामी बसेरै छलफल गर्छाैँ । हामी यसअघि जसरी नै जान चाहन्छाैँ ।’

जसै प्रधानमन्त्री देउवालाई ‘वाम एकता’ सँग डर छ र उनी चाँडै आम चुनाव गराउन चाहन्छन् । ढिलो भए वामपन्थीहरू मिल्ने र कांग्रेसकाे हविगत पुन: २०७४ काे जस्तै हुने डर प्रधानमन्त्री देउवालाई छ । त्यसाे हुँदा जत्तिसक्दाे चाँडै प्रादेशिक र संघीय चुनाव हाेस् भन्ने धारणा प्रधानमन्त्री देउवाकाे छ । जसले गर्दा माओ‌वादीलगायतका दलहरू आफूसँग नछुटिउन् । तर, माओवादीलाई बढी कांग्रेसलाई धम्क्याउन थालेकाे कांग्रेस नेताहरूकाे आराेप छ । ती नेताले भने, ‘यसैगरी धम्क्याइरहने हाे भने त गाह्रै हुन्छ हाेला ।’

राजनीतिक वृत्तमा चर्चा भएझैँ प्रचण्डले कांग्रेसलाई धम्क्याएका हुन् (?) भन्ने मकालुखबरको प्रश्नमा माओवादी नेता लिलामणी पोखरेल भन्छन्, ‘धम्क्याएको होइन, सचेत गराएको हो । यसलाई धम्क्याएको रूपमा बुझ्नु हुँदैन । उहाँले सँगै गलतरूपमा नबुझियोस् पनि भन्नुभएको छ नि ।’ माओवादीकै अर्का एक नेता भने स्थानीय तहमा प्राप्त सीटका कारण कांग्रेस हौसिएको बताउँछन् । ‘कांग्रेसले के अलिकति बढी सीट ल्याएको थियो स्थानीय निर्वाचनमा; बढी हौसियो र गठबन्धनमा पनि मै हुँ भन्न थाल्यो । यही भयो भने त विकल्प भनेको हिजो अध्यक्ष कमरेडले भनेजस्तै मात्रै हो,’ उनले भने । तर आफूहरू जहिल्यै पनि गठबन्धनकै पक्षमा रहेको उनकाे भनाइ छ । ‘गठबन्धनकै रूपमा आगामी आम चनावमा जाने भन्ने हाम्रो हो । तर कांग्रेसले निहुँ खोजिरहेको हाम्रो बुझाइ छ,’ उनले भनेका छन् ।

२०७४ सालको संघीय निर्वाचनअघि पनि प्रचण्डले यसैगरी कांग्रेसलाई चेतावनी दिएर एमालेसँगकाे एकतामा लागेका थिए । मागेजत्ति सीट नपाएपछि माओवादीले पछि एमालेसँग ४० प्रतिशत लिएर गठबन्धन बनाएकाे थियाे । त्यसबेला माओवादीले कांग्रेसँग ४० प्रतिशत मागेकाे थियाे । तर, कांग्रेसले ३० प्रतिशतभन्दा धेरै नदिने भएपछि माओवादीले एमालेसँग ४० प्रतिशत लिएर गठबन्धन गरेका थियाे । त्यसबेला नेताहरू वर्षमान पुन र जनार्दन शर्माले कांग्रेससँग वान् टू वान् वार्ता गरेका थिए । त्यसपछि कांग्रेससँग गठबन्धन ताेडेर माओवादी एमालेसँग लागेकाे थियाे ।

यसपटक भएको स्थानीय निर्वाचनमा पनि कांग्रेस नेताहरूले माओवादीसँग मिलेर चुनाव लड्न नहुने बताएका थिए । खासगरी संस्थापनइतर पक्षले माओवादीसँग छुट्टाछुट्टै चुनाव लड्नुपर्ने बताउँदै आएका थिए । तर प्रधानमन्त्री देउवाकै ढिपीका कारण कांग्रेस सँगै चुनाव लड्न तयार भएकाे थियाे । स्थानीय चुनावअघि कांग्रेस नेताहरूले ‘प्रचण्डले २०७४ सालको जस्तै पुनः धोका दिनसक्ने’ भन्दै सभापति देउवाको ध्यानाकर्षण गरेका थिए । तर देउवाले उनीहरूको अडानविरुद्ध गठबन्धनकै माध्यमबाट जानुको विकल्प नरहेको बताएका थिए । सोहीअनुसार माओवादी-कांग्रेससहितका दलहरू गठबन्धनकै रूपमा चुनावमा गएका थिए ।

वाम एकताको चर्चा

प्रचण्डले कांग्रेसलाई धम्कीपूर्ण चेतावनी दिइरहँदा कम्युनिष्ट वृत्तमा ‘वाम एकता’ को चर्चा छ । यसपछि माओवादीले २०७४ सालको जस्तै धोका दिने त होइन (?) भन्ने कांग्रेसलाई लागेको छ । ‘हिजो हामी विशेष परिस्थितिले गर्दा एकठाउँमा उभियौँ,’ कांग्रेसका एक नेताले भने, ‘अहिले माओवादी फेरि २०७४ तिर पुग्छ कि भन्ने लागेको छ । त्यसाे नभए राम्राे हुन्छ । त्यसमा माओवादी साथीहरूले साेच्नुपर्छ ।’

त्यसो त नेकपा (एमाले) का दोस्रो तहका नेताहरूले वाम एकता हुनैपर्छ भनिरहेका छन् । घनश्याम भुसाललगायतका नेताहरूले शुरूदेखि नै वाम एकताकाे पक्षमा छन् । त्यसबाहेक दाेस्राे तहका नेताहरू पनि अन्तत: वाम एकताको विकल्प देख्दैनन् । एमाले महासचिव शंकर पाेखरेल हिजोको वाम एकता कुनै पनि काेणबाट गलत देख्दैनन् । ‘हिजोको वाम एकता कुनै पनि हालतमा गल्ती थिएन । हामीले एकता गरेर गल्ती गरेका थिएनौँ । त्यसको सहर्ष अनुमोदन जनताले पनि गरेका थिए । तर, अहिले भने हामी तितरबितर भयौँ, यो नेपालकाे भविष्यविपरीत छ,’ महासचिव पोखरेल भन्छन् ।

उनी वाम एकताको बहस पुनः ब्युँझिएको स्वीकार्छन्, भन्छन्— ‘बहस हुनु स्वाभाविक हो । हामीले भन्दै आएका छाैँ कि, एमाले र माओवादी छुट्टै रहनुकाे कुनै अर्थै छैन भनेर; उनीहरू अन्तत: एकैठाउँ हुनुपर्छ भनेरका छाैँ र यो हुनु पनि पर्छ । तर अहिलेको लागि भने तत्काल सम्भावना छैन कि जस्ताे छ ।’

एमाले अहिलेको पाँचलदीय गठबन्धन कुनै पनि हालतमा भत्किनुपर्ने मान्यता बोक्छ । शुरूदेखि नै गठबन्धनलाई ‘दूषित मिलन’ काे संज्ञा दिँदै आएको एमाले अब पनि गठबन्धन नभत्किए मुलुक विपरीत दिशातिर जाने विश्लेषण गर्छ । एमालेका एक पदाधिकारी भन्छन्, ‘एमाले र माओवादी दुवै वामपन्थी दलहरू भए । उनीहरूको मिलन अतिआवश्यक छ । यो ढिलोचाँडो हुन्छ । अहिलेको गठबन्धनले केही गरेन । बरु हिजो एमाले र माओवादी मिल्दा मुलुक धेरै सन्तुलनमा चलेको थियो । अहिले मुलुक असन्तुलनतिर गएको छ । अब पुनः वाम एकता हुन आवश्यक छ । याे तत्कालका लागि भने कति सम्भावना छ भनेर यसकाे सम्भाव्यता जाँच्ने काम भइरहेकाे छ ।’

माओवादी नेताहरू पनि वाम एकताकाे विकल्प नरहेपनि तत्कालका लागि यसकाे सम्भावना नरहेकाे निष्कर्षका साथ बसिरहेका छन् । तत्काल हुनका लागि के हुनपर्‍याे भन्ने प्रश्नमा माओवादी नेताहरू भन्छन्, ‘एमालेले विगतमा गरेको गल्तीको प्रायश्चित गर्नुपर्छ र सच्चिने प्रण गर्नुपर्छ । यसो भयो भने मात्रै तत्कालका लागि सम्भव हुनसक्छ ।’

०००

यसरी प्रचण्डकाे चेतावनसँग वाम एकताकाे चर्चा जाेडिएकाे विश्लेषण शुरू भएकाे छ । एक राजनीतिक विश्लेषकले भनेका छन्, ‘प्रचण्ड अझै केपी ओलीलाई साईजमा ल्याउन चाहन्छन् । एक हदसम्म स्थानीय निर्वाचनमार्फत साईजमा झारिसकेका छन् । अझै साईजमा ल्याएर वाम एकता गर्न चाहन्छन् र त्यसकाे नेतृत्व आफू गर्न चाहन्छन् ।’ प्रधानमन्त्री देउवा भने माओवादी एमालेसँग मिल्ने डरले नै लचिलो बनिरहेकाे ती विश्लेषककाे विश्लेषण छ, भन्छन्— ‘देउवाजी अहिलेसम्म लचिलाे देखिनुभएकाे छ । अब भने नेपालकाे राजनीतिक काेर्ष फरक दिशामा जान सक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *