बागलुङका स्थानीय तहको बजेटमा वृद्धि

काठमाडौँ । बागलुङका स्थानीय तहको बजेट रु. ४७ करोडले बढेको छ । बागलुङ जिल्लाका १० स्थानीय तहका लागि सङ्घीय सरकारले आगमी वर्षका लागि रु ४७ करोड बजेट बढाएर पढाएको हो ।

चालू आर्थिक वर्षको तुलनामा आगमी आर्थिक वर्षका लागि ९ पालिकाको बजेट बढाइएको हो भने भने १ पालिकामा बजेट घटेको छ । जिल्लाको काठेखोला गाउँपालिकाको बाहेक सबै पालिकाको बजेट बढेर आउने भएको हो । आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी रु. चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन गरेको छ । जुन चालू आवको तुलनामा रु. ४७ करोड बढी हो । बजेट बढेपछि यहाँका पालिकाले समेत बजेट बढाएर योजना तथा कार्यक्रम ल्याउने योजनामा जुटेका छन् । सङ्घीय मात्रै हैन प्रदेशको बजेटसमेत चालू वर्षको तुलनामा बढेर आउने देखिन्छ ।

यस्तै, स्थानीय तहलेसमेत आन्तरिक आम्दानीलाई बढाउँदै गएका छन् । उनीहरूले करको दायरा बढाउँदै आन्तरिक आम्दानी बढाउँदा बागलुङका पालिकाको बजेट उकालो लाग्ने देखिन्छ । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९-०८० का लागि बजेटको बाँडफाँट गर्दा चालू आवको तुलनामा आगामी आवको बजेट बढाइएको हो । चालू आवका लागि सङ्घीय सरकारबाट यहाँका दश स्थानीय तहलाई रु. तीन अर्ब ८७ करोड ७५ लाख बजेट प्राप्त भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७७-७८ मा सङ्घीय सरकारले बागलुङलाई रु. तीन अर्ब ५७ करोड ९८ लाख बजेट विनियोजित गरेको थियो । जिल्ला आउने सङ्घीय सरकारको बजेट विस्तारै बढेर आउन थालेको देखिन्छ । बागलुङ नगरको सबैभन्दा बढी रु. १० करोड बजेट चालूको तुलनामा बढेर आएको छ । स्थानीय तहले सङ्घीय बजेट आइसेपछि प्रदेशको बजेटमा योजना छनोट र प्रदेशले बजेट विनियोजन गरेपछि आफ्नो बजेट निर्माणमा जुट्ने छन् । अहिले पालिकाले वडा तहबाटै टोल भेला गरेर बजेटका लागि योजना तथा कार्यक्रम माग्दै आएका छन् ।

बागलुङका लागि चालु आवको बजेटभन्दा आगामी आवका लागि रु. ४७ करोड ६ लाख बजेट बढेर आएको अर्थ मन्त्रालयले जनाएको छ । उक्त नगरलाई आगामी आवका लागि रु. ८५ करोड २५ लाख बजेट विनियोजन गरिएको हो । बागलुङमा चालू आवमा सङ्घीय सरकारको बजेट रु. ७४ करोड ७२ लाख बजेट प्राप्त भएको थियो । चालू आवको तुलनामा आगामी आवमा बागलुङको बजेट रु. १० करोड ५३ लाख बढी बजेट विनियोजन भएको छ ।

यस्तै, गलकोट नगरपालिकालाई आगामी आवका लागि रु. ५१ करोड एक लाख बजेट विनियोजन भएको छ । उक्त नगरका लागि चालू आवमा रु. ४७ करोड ४८ लाख बजेट विनियोजन भएको थियो । चालू आवको तुलनामा गलकोटको बजेट रु. चार करोड ३७ लाख बढेर बजेट बढाइएको हो । यसैगरी, जैमिनी नगरमा आगामी आवका लागि रु. ५२ करोड २४ लाख बजेट विनियोजन भएको छ । उक्त नगरमा चालू आवमा सङ्घीय सरकारबाट रु. ४९ करोड ५७ लाख प्राप्त भएको थियो । आगामी आवमा सङ्घीय सरकारबाट यस नगरलाई रु. दुई करोड ६७ लाख बजेट बढेको हो ।

त्यस्तै, ढोरपाटन नगरमा आगामी आवका लागि रु. ३७ करोड एक लाख बजेट विनियोजन भएको छ । चालू आवमा सोही पालिकामा रु. ३२ करोड ७० लाख विनियोजन भएको थियो । जुन गत वर्षको तुलनामा रु. चार करोड ३१ लाख रकम बढी हो । यसैगरी, काठेखोला गाउँपालिकालाई आगामी आवका लागि रु. ३९ करोड ७६ लाख बजेट विनियोजन भएको छ । उक्त पालिकाको चालू आवमा सङ्घीय सरकारले रु. ४१ करोड ५८ बजेट विनियोजन गरेको छ । यस गाउँपालिकामा चालू आवको तुलनामा आगामी आवमा रु. एक करोड ८२ लाख बजेट घटेर आएको छ ।

यस्तै, बडिगाड गाउँपालिकालाई आगामी वर्षका लागि रु. ४८ करोड चार लाख बजेट विनियोजन भएको छ । यसलाई चालू आवमा रु. ४४ करोड ६ लाख बजेट बिनियोजन भएको थियो । चालू आवको तुलनामा उक्त गाउँपालिकाको आगामी बजेट रु. तीन करोड ८० लाख बजेट बढेको हो । यस्तै, निसीखोला गाउँपालिकालाई आगामी आवमा रु. ३३ करोड १२ लाख बजेट विनियोजन भएको छ । यहाँ चालू आवमा रु. २८ करोड ८३ लाख बजेट आएको थियो । चालूको तुलनामा आगामी वर्षको बजेटमा रु. चार करोड २९ लाख बढी बजेट प्राप्त भएको छ ।

बरेङ गाउँपालिकालाई आगामी वर्षका लागि रु. ३० करोड पाँच लाख बजेट प्राप्त हुने भएको छ । उक्त पालिकाको चालू आवमा रु. २५ करोड ९८ लाख बजेट प्राप्त भएको थियो । चालू आवको तुलनामा आगामी वर्ष यस गाउँपालिकाको बजेट रु. चार करोड सात लाख बजेट बढ्ने भएको हो । यस्तै, ताराखोला गाउँपालिकालाई आगामी वर्षका लागि रु. २६ करोड ४३ लाख र तमानखोला गाउँपालिकालाई रु. २१ करोड ९० लाख बजेट विनियोजन गरिएको छ । चालू आवमा ताराखोलालाई रु. २४ करोड ९२ लाख र तमानखोलालाई रु. १७ करोड ९१ लाख बजेट विनियोजन भएको थियो ।

चालू आवको तुलनामा आगामी आवमा ताराखोलाको र तमानखोला गाउँपालिकाको बजेट बढाएको छ । ताराखोलामा चालू बजेटको तुलनामा रु. एक करोड ५१ लाख बजेट बढेको हो भने तमानखोलाको बजेट रु. तीन करोड ९९ लाख बढेर आउने भएको छ ।

पालिकाले उक्त बजेटमा प्रदेशले दिएको बजेट थपेर स्थानीय आम्दानीलाई जोडेर बजेट बनाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *