चिकित्सकको लापरबाहीले बालिकाको मृत्यु, डडेलधुरा अस्पताल तनावग्रस्त

काठमाडौँ । डडेलधुरा अस्पतालमा चिकित्सकको लापरबाहीका कारण एक बाललिकाको मृत्यु भएको भन्दै मृतकका आफन्तले विरोध गर्दा अस्पताल तनाग्रस्त बनेको छ।

डडेलधुराको भागेश्वर गाउँपालिका–५ शिराडका प्रकाश थापामगरकी ५ वर्षीया छोरी यमुना थापा मगरको आज बिहीबार बिहान ७ बजेतिर आइसियुमा राखिएको अवस्थामै मृत्यु भएको हो । निमोनियाको आशंका गरी बिहीबार बिहानै ५ बजेतिर अस्पताल पुर्याइएकी यमुनालाई दुई घण्टासम्म पनि जाँचका लागि चिकित्सक आएनन्। दुई घण्टासम्म पनि चिकित्सक नआएपछि बालिकाका आफन्तले अस्पताल व्यवस्थापन समितिका अध्यक्षदेखि प्रमुख जिल्ला अधिकारीसम्म गुहारेका थिए।

चिकित्सकले समयमा बिरामी बालिकाको जाँच नगरेका कारण मृत्यु भएको भन्दै बालिकाका आफन्तले शव उठाउन मानेका छैनन् । उनीहरूले अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाको राजीनामा र मेडिकल सुपरिटेन्डेन्टको सरुवा गर्नुपर्ने मागसमेत गरेका छन् । अस्पतालमा चिकित्सक हुँदाहुँदै पनि बालिकाको अवस्था जाँचका लागि नआएको मृतकका आफन्त राजेन्द्र थापाले बताए ।

अस्पतालका मेसु चेतनराज भट्टले भने श्वास फेर्न गाह्रो भएपछि अस्पताल पुर्‍याइएकी यमुनालाई आईसियुमा राखिएको बताउँदै भने, ‘दुई-तीन दिनदेखि उच्च ज्वरोसहित निमोनिया भएको रहेछ । हिजो राति १२ बजेतिर श्वास फेर्न गाह्रो भएपछि बिहानै अस्पताल ल्याएका थिए । उच्च ज्वरो देखेपछि आईसियूमा राखेका थियौँ । त्यहीँ उनको मृत्यु भयो ।’ मेसु भट्टले भने।

यता अस्पताल समितिका अध्यक्ष करुणाकार ओझा भने आफूलाई ७ बजेतिर खबर आएको र त्यसपछि उपचारका लागि व्यवस्थापन गरेको दाबी गर्छन् । तर, आफन्तले भने चिकित्सकको लापरबाहीकै कारण बालिकाको ज्यान गएको भन्दै आन्दोलन शुरू गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *