कर्णाली प्रतिष्ठान र राजमार्ग प्राथमिकतामा नपर्दा आपत्ति व्यक्त

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९-८० मा कर्णालीका लागि धेरै कार्यक्रम थपिए । यद्यपि, सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग भने प्राथमिकतामा परेको पाइएन ।

बजेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राथमिकता पाएको छैन । बजेटले अपेक्षित सम्बोधन नगरेको भन्दै कर्णालीवासीले दुःखेसो पोखेका छन् । बजेटमा सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरजहारी सामुदायिक अस्पतालसँगको सहकार्यमा विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्न व्यवस्था मिलाइनेछ भन्नेबाहेक अरू सम्बोधन गरेको पाइँदैन ।

कर्णाली राजमार्ग एक लेनमै सीमित छ । भिरमा खोपेर बनाइएको एकलेनको सडक, जहाँ गाडी ओहोरदोहोर गर्न निकै गाह्रो अवस्था छ । सरकारलाई राम्रोसँग थाहा हुँदापनि यसको स्तरवृद्धिका विषयमा बजेटमा सम्बोधन नगरिएको नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीको भनाइ छ । सुर्खेतदेखि जुम्लासम्म कर्णाली राजमार्ग २३२ किलोमिटर लामो छ । यो राजमार्गमा डेढ दशकमा सयौँ मानिसले जीवन गुमाइसकेका छन् । शाही भन्छन्, “जीर्ण र साँघुरो सडकलाई दुई लेनमा विस्तार गर्न आवश्यक छ ।”

सबैभन्दा ठूलो आयोजना धौलीगाड बृहत् खानेपानी बारेमा पनि बजेटमा केही उल्लेख नभएको उनको भनाइ छ । पातारासी गाउँपालिका जुम्लाको लौठचौरमा निर्माणाधिन अवस्थामा रहेको कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण योजनालाई पनि वेवास्ता गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले बताए ।

“विश्वको उच्च भागमा धान फल्ने स्थानमा बन्न लागेको कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण सम्पन्न गर्न बजेटको व्यवस्था गर्न आवश्यक थियो”, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *