गीता माझीको दाहसंस्कार जिम्मा खैरहनी नगरपालिकाले लियो

चितवन । श्रीमानकाे चरम यातनाबाट मृत्यु भएकी गीता माझीको दाहसंस्कार जिम्मा खैरहनी नगरपालिकाले लिएको छ । शवको पोष्टमार्टमपछि खैरहनी नगरपालिकाले गीताको दाहसंस्कारको जिम्मा लिएको हो ।
गीताको तीन छोरीबाहेक अन्य शवको जिम्मा लिने आफन्तहरू कोही पनि नभएका र दाहसंस्कारमा लाग्ने खर्च पनि नभएका कारण खैरहनी नगरपालिकाले जिम्मा लिएको हो । खैरहनी नगरपालिका १० मा गीताको घर रहेको छ ।
दाहसंस्कार गर्ने गरी जिम्मा लिँदै खैरहनी नगरपालिकाले गीताको शव उठाएको छ । शव अहिले उनको घरमा राखिएको र आजै दाहसंस्कार गरिने खैरहनी नगरपालिकाकी उपमेयर कविता उप्रेतीले जानकारी दिइन् ।
गीताका श्रीमान आरोपित रामचन्द्र माझीविरुद्ध उनकै छोरी पुष्पा माझीले उजुरी दर्ता गरेकी हुन् । हिरासतमा रहेका रामचन्द्रविरुद्ध प्रहरीले यसअघि नै ज्यान मार्ने उद्योग र बलात्कारको मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ । न्यायिक प्रक्रिया अघि बढ्दै जाँदा बाबुविरुद्ध उजुरी दिने छोरीको मन फेरिन सक्ने भएकाले चितवन प्रहरीले अधिकारकर्मीहरूको सहयोग लिएको छ ।
श्रीमानले मलद्वार र गुप्ताङमा लौरो घुसाउँदा गम्भीर घाइते भई उपचारका क्रममा भरतपुर अस्पतालमा गीताको मृत्यु भएको थियो । पाँच दिनको उपचारपछि उनको मृत्यु भएको हो ।
उनको सोमबार राति १२ बजेको समयमा भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । जेठ १२ गते राति गीताका श्रीमान्ले कोठाभित्र थुनेर चरम यातना दिँदै मलद्वार र गुप्ताङमा लौरो घुसाएका चितवन प्रहरीले जनाएको छ ।
गीताका तीन छोरी छन् । उनीहरूको जिम्मा स्थानीय अधिकारकर्मीहरूले लिने भएका छन् । किरिया खर्चका लागि स्थानीय पालिका र अधिकारकर्मीहरूले जुटाउनेछन् ।









