मौसमबारे समन्वय नहुँदा दुई घण्टा उडान रोकियो

काठमाडौँ । मौसमबारे समन्वय नहुँदा बिहान दुई घण्टा उडान रोकिएको छ । सरकारले उडान सुरक्षालाई ध्यानमा राखेर गरेको निर्णय कार्यान्वयनमा समन्वय हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान दुई घण्टा रोकिएको हो ।
आजदेखि लागु हुने गरी सरकारले डिपार्चर, इनरुट र टेस्टीनेसन मौसम क्लीयर हुनु पर्ने त्यसपछि मात्र उडान अनुमती दिनुपर्ने गरी निर्णय गरेको थियो । मौसम सफा भएपनि बिहान ६ बजे लुक्लाका लागि उड्न लागेको जहाजलाई अनुमती नदिँदा २ घण्टा रोकिएको यती एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले बताए ।
उनकाअनुसार मौसमबारे जल तथा मौसम विज्ञान विभागले रिपोर्ट नदिएको भन्दै नागरिक उडड्यन प्राधिकरणले उडानका लागि अनुमती नदिँदा ६ बजेको उडान ८ः१८ बजे मात्र उडेको हो । सरकारले गरेको निर्णय स्वागतयोग्य छ तर मौसमबारे समन्वय नहुँदा यात्रुले सास्ती खेप्नु परेको भन्दै भोलिदेखि सफा मौसम हुँदा समयमै रिपोर्ट दिएर उडान अनुमती दिनुपर्ने उनले माग छ ।
नागरिक उडड्यन प्राधिकरण अन्र्तगत टावरका कर्मचारीले भने मौसमको रिपोर्टको जानकारी नदिदाँ उडान अनुमती दिन नसकेको जानकारी दिए । सरकारले भिजुअल फ्लाइट सिष्टम (भिएफआर) प्रणाली जडान भएका विमानस्थलका लागि मात्र यो नियम लागु गर्ने निर्णय गरेको छ । यसअन्तर्गत अधिकांश हिमाली र पहाडी क्षेत्रका विमानस्थलहरुमा इनरुट मौसम सफा भएपछि मात्र उडान अनुमती दिनु पर्ने भएको छ ।
बिहान भिएफआर प्रणाली जडानभएका अधिकांश विमानस्थलको उडान रोकिएको थियो । यसअघि विभागले दुई घण्टाको अन्तरमा मौसमको जानकारी दिँदै आएको भएतापनि अब यो नियम लागु भएसँगै तत्कालको मौसमबारे जानकारी दिनुपर्ने प्राधिकरणले जनाएको छ ।








