उदयपुरको चौदण्डीगढीमा नगर कार्यपालिकाको निर्वाचन सम्पन्न

काठमाडौँ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन समेत सम्पन्न भएको छ ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत चौदण्डी गढी नगरपालिकामा ५२ सिटमध्ये ४१ सिट जितेको एमालेले निर्विरोध कार्यपालिका सदस्य गठन गरेको छ ।
नगरको कार्यपालिका सदस्य निर्वाचनको लागि जेष्ठ १५ गते मनोनयन दर्ता र १७ गते चुनावको मिति तोकिएकोमा निर्धारित समयमा एमालेका उम्मेदवारको मात्र मनोनयन दर्ता भएपश्चात् उनीहरू निर्विरोध निर्वाचित भएका हुन ।
मंगलबार चौदण्डी गढी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर निर्विरोध निर्वाचित भएका कार्यपालिका सदस्यको नाम निर्वाचन अधिकृत महेश दाहालले सार्वजनिक गरेका थिए ।
चौदण्डी गढी नगरपालिकाको नगर कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित हुनेहरूमा दलित वा अल्पसङ्ख्यक सदस्य पदमा उदय राज भुजेल, माधव सार्की र जय कुमार राई त्यस्तै महिला सदस्य पदमा स्मृति तोलाङ्गी सुयल, तिलावती राई, शुष्मा राई, जानकी देवी चौधरी र शान्ति देवी चौधरी रहेका छन् ।
कार्यपालिकाको सदस्य निर्वाचनको मनोनयन दर्ताको समयमा उनीहरूको मात्र उम्मेदवारी दर्ता भए पश्चात् स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।
निर्वाचित भएका सम्पूर्ण नगर कार्यपालिका सदस्यहरूलाई निर्वाचन आयोगले प्रमाण पत्र समेत आजै हस्तान्तरण गरेको थियो भने नगरप्रमुख कालूमान लामाले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।









