घरघरमा धूमपान निषेध अभियान सञ्चालन गर्छौँं: चिरीबाबु महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरमा नगरक्षेत्रभित्र धूमपान सेवन निषेध अभियान सञ्चालन गर्ने बताएका छन्।

विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा आज यहाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालको आयोजना भएको अन्तक्र्रिया कार्यक्रममा उहाँले प्रत्येक घरघरमा गएर धूमपान सेवनविरुद्धको अभियान सञ्चालन गर्ने बताए। उनका अनुसार जनप्रतिनिधि र नगर प्रहरीले प्रत्येक घरमा गएर सुर्तीजन्य पदार्थ सेवन विरुद्धको अभियान सञ्चालन गर्नेछन्। नगरप्रमुख महर्जनले पाटन, पुल्चोक, जावलाखेल र लखनखेल धूमपान निधेष क्षेत्र घोषणा गरिसकेको भन्दै अन्य क्षेत्रलाई पनि घोषणाको तयारी गरेको बताए।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले जनचेतनामार्फत धूमपान सेवनलाई नियन्त्रण गर्न सकिने बताए। उनले मन्त्रालयले मात्र नभएर सबैको सहयोगबाट धूमपान नियन्त्रण गर्न सकिने धारणा राखेका छन्। उनले मन्त्रालयले गुणस्तर स्वास्थ्य सेवा प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको बताए।

ललितपुरका प्रमुख जिल्ला अधिकारी धनश्याम उपाध्यायले धूमपान सेवन पछिल्लो पटक युवामा बढेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए। उनले धूमपान सेवनलाई रोकथाम र नियन्त्रण गर्न सामाजिक सङ्घसंस्था, विद्यार्थी र युवालाई परिचालन गर्नुपर्ने धारणा राखे। “विद्यालयका विद्यार्थी र टोलमा युवालाई समेटेर धूमपान निषेध अभियान सञ्चालन गर्नु पर्दछ” उनले भने, “धूमपान सेवनको रोकथाम गर्न स्थानीय तह सक्षम बनाउनुपर्दछ।”

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादवले धूमपानको सेवन नगर्ने हो भने अहिले मृत्यु हुने भन्दा ५० प्रतिशत मानिसको ज्यान जोगाउन सकिने बताए। उनका अनुसार प्रत्येक सातजनामा एकजनाको धूमपानका कारण मृत्यु हुने गरेको छ। उनले सुर्तिजन्य पदार्थको सेवनबाट स्वास्थ्यमा १ दशमलव ८ प्रतिशत कुल ग्राहस्थ उत्पादन घटेकोले राज्यलाई नै नोक्सान भएको बताएका छन्।

उनले सुर्तिजन्य पदार्थको सेवन छुटाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे। प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले १५ दिनभित्रमा ललितपुरका विद्यालय वरपर सुर्तिजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने बताए। उनले विद्यालयको सय मिटर वरपर सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने कानुन अनुसार नै १५ दिनभित्र विद्यायल वरपर बिक्री वितरणमा रोक लगाइने बताए। उनले चुरोट सेवनको लत युवामा बढेकोले कडाइका साथ नियन्त्रण गर्ने बताए।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यले चुरोटको सेवन छुटाउन कारबाही नभएर जनचेतनामार्फत छुटाउन सकिने बताए। उनले चुरोट छुटाउने औषधि नेपालमा प्रयोग भए तापनि सफल नभएको भन्दै जनचेनतामार्फत नै छुटाउन सकिने बताएका हुन्।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्माले चियापसलमा चुरोट अत्यधिक सेवन गर्ने पाइएकोले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए। एक्सन नेपालमा अध्यक्ष आनन्दबहादुर चन्दले वार्षिक २७ हजार मानिस सुर्तीजन्य पदार्थ सेवन गर्नाले ज्यान जाने गरेको भन्दै सरकारले समयमा नै सुर्तीजन्य पदार्थको सेवन रोकथाम गर्नुपर्ने धारणा राखेका छन्।

भोलि विश्व सुर्तीजन्य पदार्थरहित दिवस नेपालसहित विश्वभर ‘सुर्तीजन्य पदार्थ त्यागौँः स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ मनाइँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *