यस्ताे रह्याे बालेनकाे शपथग्रहण (तस्वीरहरू)

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले शपथ लिएका छन् ।

प्रमुख शाहले मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि नेपाल भाषामा शपथको ब्यहोरा पढेका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित बालेन्द्र शाहलाई शपथ गराए ।

त्यस्तै, साेही समाराेहमा प्रमुख शाहले उपप्रमुखमा निर्वाचित सुनिता डङ्गोल, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराएका थिए । उपप्रमुख डङ्गोलले नेपाल भाषामा शपथ लिएकी थिइन् ।

शपथ ग्रहण समारोहमा प्रमुखमा निर्वाचित शाह दौरा सुरुवाल, कोट र भादगाउँले टोपी तथा उपप्रमुख डङ्गोलले हातले बुनेको ढाकाको साडी, चोलोका साथ सहभागी भएकी थिइन् ।

समारोहमा नवनिर्वाचित १६० जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो ।

प्रमुख शाह र उपप्रमुख डङ्गोलले आजै पदवहाली गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा मुख्य निर्वाचन अधिकृत खतिवडाले जनताले दिएको मतलाई शिरोधार्य गरेर जनताको सेवा गर्न आग्रह गरे । गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट प्रमुखमा स्वतन्त्र उम्मेदवार शाह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल निर्वाचित भएका थिए । गत वैशाख ३१ गते बिहानदेखि कामपाको मतगणना सुरु गरिएको थियो ।

महानगरको अन्तिम मतपरिणाम गत शुक्रबार मात्रै सार्वजनिक भएको थियो । वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नै परेन । कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ र उपप्रमुखमा ३५ जनाको उम्मेदवारी परेको थियो । कामपाको ३२ वडामध्ये १९ वडामा नेपाली कांग्रेस र १२ वडामा एमाले विजयी भएको छ । एक वडामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ ।

तीन लाख २४२ मतदाता रहेको कामपामा करिब एक लाख ९० हजार ९६२ मत खसेको थियो । सात हजार ६८२ मत पूर्ण बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *