बजेटमा कर्णाली : डोल्पाको दुई नाकामा सुख्खा बन्दरगाह स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने

सुर्खेत । आगामी आर्थिक वर्ष २०७९-०८० का लागि संघीय सरकारले संसद्मा बजेट पेश गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

जसमध्ये चालु खर्चतर्फ ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ र पुँजीगत खर्चतर्फ २१.२ प्रतिशत अर्थात् ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेका छन् । यस्तै वित्तीय व्यवस्थापनतर्फ १२.८ प्रतिशत अर्थात् २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताएका छन् ।

संघीय सरकारले ल्याएको बजेटमा कर्णालीमा केही नयाँ योजनाले प्राथमिकता पाएका छन् । वर्षौँदेखि चर्चाको विषय बनेको प्रादेशिक विमानस्थलको विषय पुनः सतहमा आएको छ । यस अघि प्रादेशिक विमानस्थलका लागि भेरीगंगा नगरपालिकाको मदाने चौरमा निर्माण हुने भनिए पनि प्राविधिक रूपमा फेल भएपछि आयोजना पछि हटेको थियो ।

आगामी बजेटका लागि कर्णालीमा नयाँ विमानस्थल निर्माण हुने गरी बजेटमा समेटिएको छ । सुर्खेतको रामघाटमा नयाँ प्रादेशिक विमानस्थल निर्माण गरिने बजेटमा उल्लेख छ । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाको दुई वटा नाका तिन्छे र धोमा सुख्खा बन्दरगाह स्थापनाका गरिने भएको छ , जसका लागि सम्भाव्यता अध्ययन गरेर निर्माण कार्य अघि बढाउने योजना बजेटमा समेटिएको छ ।

सुर्खेत-रानिघाट-भुरीगाउँ सुरुङ निर्माणको सम्भाव्यता अध्ययन गरिने भएको छ, भने कर्णालीमा एक सयभन्दा बढीलाई रोजगारी दिनेगरी स्थापना हुने उद्योगलाई १५ वर्षसम्म आय करमा छुट दिइने बजेटमा योजना समावेश गरिएको छ ।

सरकारको बजेटमा समावेश यी सबै आयोजना नयाँ हुन् । राष्ट्रिय गौरवको आयोजना भेरी-बबई बहुउद्देश्यीय आयोजनालाई निरन्तरता दिइएको छ । आयोजनाको हेडबक्स र पावर हाउस निर्माणलाई तीव्रता दिइने जसका लागि २ अर्ब २७ करोड बजेट विनियोजित भएको मन्त्री शर्माले उल्लेख गरेका छन् ।

आगामी बजेटमा प्रदेश राजधानी सुर्खेतमा दुई वटा मेडिकल कलेज बन्ने भएका छन् । हालको कर्णाली प्रदेश अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक मेडिकलका रूपमा विकास गरिने छ । सुर्खेत मेडिकल कलेजलाई अगाडि बढाइने योजना बजेटमा उल्लेख छ । दैलेखको राकम कर्णालीमा सुविधा सम्पन्न ट्रमा सेन्टर निर्माण हुनेछ, भने कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री शर्माले जानकारी दिए ।

अर्थमन्त्री शर्माले संसद्मा बजेट पेश गर्दै कर्णाली प्रदेशमा कृषि क्षेत्र विकास कार्यक्रम लागु गरिने बताएका छन् । कार्यक्रम अन्तर्गत कर्णालीको फापर, कोदो, गहुँ र जौ प्रशोधनका लागि उद्योग स्थापना गरिने उल्लेख छ ।

पर्यटकीय पूर्वाधार विकासका लागि मुगुको रारा, डोल्पा, शे-फोक्सुण्डो तथा हुम्लाको लिमीलाई पर्यटकीय स्थल बनाउन पर्यटकीय मार्ग निर्माणमा आवश्यक बजेट विनियोजन गरिएको छ । जडीबुटी र बहुमूल्य पत्थर प्रशोधनका लागि सुर्खेतमा प्रशोधन उद्योगको स्थापना गर्ने जस्ता विषय बजेटमा परेका छन् । खानेपानी पूर्वाधारका सन्दर्भमा सुर्खेतको पूर्वी गुर्भाकोट नगरपालिकामा रहेको सुभाघाट खानेपानी आयोजना निर्माण सुरु हुनेछ ।

जुम्लाको टोप्ला पाटनमा हाइअल्टिच्युट एण्ट टेनिङ्ग सेन्टर निर्माण हुने बजेटमा उल्लेख छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत सल्यान र सुर्खेत खण्डमा पर्ने मदन भण्डारी राजमार्गको स्तरोन्नतिकाे काम जारी राखिने छ । कर्णाली र भेरी कोरिडोर अन्तर्गतका सडक स्तरोन्नति गरिने छ, भने हिमाली जिल्ला हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडिने छ । यस्तै, कर्णालीमा बहुउद्देश्यीय तालिम केन्द्र स्थापना गरिने भएको छ ।

समृद्ध कर्णालीका लागि ‘समृद्ध कर्णाली’ कार्यक्रम अन्तर्गत हुम्लाको लिमी र डोल्पाको डोल्पो बुद्धलाई हिमाली शहर र जुम्लाको सिञ्जामा एकीकृत बस्ती विकास गरिने छ । जलविद्युत आयोजना अन्तर्गत फुकोट कर्णाली, जगदुल्ला जलविद्युत आयोजनालाई निरन्तरता दिइने छ, भने बेतन कर्णाली जलविद्युत आयोजनाको खरिद पक्रिया अगाडि बढाइने बजेटमा उल्लेख गरिएको छ ।

बजेटमा समेटिएका योजनाहरू

  • १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा आयोजना गर्नका लागि पूर्वाधार निर्माण गर्न आवश्यक बजेट विनियोजन
  • कर्णालीको रैथाने बाली, जैविक खेतीको विकास तथा संरक्षणका लागि कृषि क्षेत्र विकास कार्यक्रम लागू गर्ने
  • रारा, हुम्लाको लिमी, मुगुको छायाँनाथ, डोल्पाको शे-फोक्सुण्डोको पर्यटकीय स्थलको रूपमा प्रवर्द्धन गर्ने
  • सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र स्थापना, किम्मती र अर्धकिम्मती पत्थर प्रशोधन केन्द्र सञ्चालन गर्ने
  • कालिकोटमा रहेको फुकोट कर्णाली र जगदुल्ला आयोजना निर्माणका लागि कार्यान्वयन गरिने
  • कर्णालीका कागुनो, मार्सी, टिमुर, सिमी लगायतका उत्पादनको बजारीकरण गर्ने
  • भेरी कोरिडोर र कर्णाली कोरिडोरमा विद्युत् प्रसारण लाइन विस्तार गर्ने
  • जुम्लादेखि रारा, फोक्सुन्डोदेखि लिमीसम्म पर्यटकीय मार्ग निर्माण गर्ने
  • हिमाली जिल्लामा स्याउ उत्पादन प्रशोधन केन्द्र स्थापना गर्ने
  • जाजरकोटको पत्थर अन्वेषण तथा प्रशोधन गर्ने
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *