अब्बल सामुदायिक विद्यालयका झण्झट धेरै, कमजोर विद्यालय सुधारमा न्युन प्राथमिकता

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ मा रहेको सरस्वती माध्यामिक विद्यालयमा यस वर्ष करिब २ हजार विद्यार्थी विद्यालय भर्ना भइसकेका छन्।

२ वर्ष पहिलासम्म हजार विद्यार्थी कटाउन मुस्किल पर्ने विद्यालयमा अहिले भर्ना समय नसकिँदै विद्यार्थी भर्ना लिन नसक्ने अवस्थामा पुगेको संवाद समूह मोरङले आयोजना गरेको कार्यक्रममा बताउँदै थिए, सोही विद्यालयका प्रधानाध्यापक अशोक लुइँटेल। ‘हिजोका दिनमा ८ सय विद्यार्थी रहेको अवस्थामा आज २ हजार विद्यार्थी भर्ना भएर भर्ना बन्द गरिएको छ,’ उनले भने, ‘यसको कारण भनेको सेक्सन बढाउँदा शिक्षक अभाव, भौतिक पूर्वाधारको कमी हुनु नै हो।’

यो ग्रामिण बस्तीमा सरकारकाले नमुना विद्यालयको रूपमा शुरू गरेको एउटा विद्यालयको अवस्था हो। विद्यालयमा शिक्षाको गुणस्तरमा सुधार हुन थालेपछि विद्यार्थीको चाप बढ्दै गएको लुइँटेलको भनाइ छ। हिजो सामुदायिक विद्यालयमा भर्ना गर्नको लागि मन खुम्च्याउने अभिभावकहरूको रोजाइ अहिले सामुदायिक विद्यालय बनेको छ।

सहरका केही विद्यालयहरूबाट शुरु भएको विद्यालयको शैक्षिक गुणस्तर सुधारको अभियान अहिले ग्रामिण क्षेत्रमा पनि पुगेका छन्। इतिहास बोकेको विद्यालय आदर्श माध्यामिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले सामुदायिक विद्यालयप्रतिको मोह जगाउनका लागि समुदायको मानसिकतामा परिर्वतन ल्याउन सक्नु पर्ने बताए। ‘शुरूमा अंग्रेजी माध्यममा पढाई थाल्दा विद्यालय भर्ना फरक गर्नु परेको, कम्पाउण्ड छुट्टै, गेट छुट्टै, ड्रेस छुट्टै गरेर शुरू गर्ने अवस्था थियो,’ उनले भने, ‘अहिले अंग्रेजी र नेपाली माध्यमको पढाइ भनेर कसैले पत्तोसम्म पाउँदैन।’

उनले अब सबैको पहुँच पुग्ने गरी गुणस्तरीय शिक्षा दिइने बताए। पहिलाको जस्तो अंग्रेजी र नेपाली मिडियम भनेर अहिले कुरा नै नहुने गरेको बताउँदै उनले नेपाली माध्यममा पढाइ हुँदा पनि मिलाएर पढाउने गरिएको स्पष्ट पारे। पोखरिया माध्यामिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले अहिले अभिभावकको रोजाइ अंग्रेजी माध्यम बन्दा विद्यालयमा विद्यार्थी भर्ना गराउन समेत सकस हुने गरेको सुनाए। विद्यालयले लिएको अभिभावक सहयोग शुल्कको बारेमा राज्यले विद्यालय सञ्चालनको लागि आवश्यक पर्ने सबै शिक्षकको व्यवस्थापन र व्यवस्थापकीय रूपमा जिम्मा लिने हो भने समस्याको समाधान भएर जाने बताए।

नेपाल शिक्षक महासंघका अध्यक्ष बेदुकुमार खतिवडा र सचिव डेक बास्तोलाले सामुदायिक विद्यालय राम्रो हुनुको कारण भनेको विद्यालयमा केही गर्नुपर्छ भन्ने विद्यालयका शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति सबैको साथ र सहयोगबाट भएको बताए। बहिरा माध्यामिक विद्यालयकी मिनु अधिकारी र महेन्द्र रात्री माविका प्रधानाध्यापक दुर्गा निरौलाले फरक प्रकृतिका विद्यालयहरूलाई प्राथमिकतामा राख्नु पर्ने बताए। महानगरपालिकाले दिएको नमुना सहयोगको बजेट पनि कटौती भएको उनीहरूले बताए। विद्यार्थी कम भएको विद्यालयलाई लक्षित गरेर विद्यार्थीको संख्या भर्ना गर्ने गरी जानुपर्ने उनीहरूको भनाइ छ।

लगानी, अनुगगमन र जनप्रतिनिधिको सहयोग

कुनैपनि विद्यालयलाई राम्रो बनाउनको लागि विद्यालय शिक्षालाई अब्बल बनाउन सबैको साथ र सहयोग हुनु पर्ने शिक्षा प्रशासन क्षेत्रका जानकारहरू बताउँछन्। शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले सामुदायिक विद्यालयलाई अब्बल बनाउनको लागि लगानी, अनुगमन, अभिभावकको कर्तव्य, जनप्रतिनिधिको सहयोग चाहने बताए। वि.सं. २०२८ सालदेखि २०३३ सालसम्म खुलेका विद्यालयहरूका शिक्षक अहिले अवकाश भइसकेको अवस्थामा अहिले आएका शिक्षक विद्यालयमा नै केही गर्छु भनेर भविष्य खोज्न आएको बताए।

‘प्राविधिक शिक्षालाई जोड दिइयो, शिक्षा सुधार दशक, नमुना विद्यालय सञ्चालनले गुणस्तरमा सुधार देखिएको छ, उनले भने, सुधार हुन नसकेका विद्यालयलाई सुधार गर्नै तर्फ जाने हो भने अब स्थानीय तहले हेडसरलाई जिम्मेवार बनाउने काम गर्नुपर्छ।’

विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख दुर्गा खतिवडाले कानुनी समस्या समाधान नहुँदा लिड विद्यालय बनाएर अघि बढ्न नसकिएको बताए। उनले शिक्षाको लगानी बढाउने मात्र हो भने पनि धेरै विद्यालयहरू सुधारको चरणमा जाने बताए। विद्यालय व्यवस्थापन समिति, वडा शिक्षा समिति, नगर शिक्षा समितिसहितले विद्यालय सुधारका योजना ल्याउँदा त्यहाँ हुँदैन भन्ने कोही नहुने स्पष्ट पारे।

अंग्रेजी शिक्षा मात्र सुधार होइन

कार्यक्रममा सहभागी विद्यार्थी संगठनहरूले स्तरोन्नति हुन नसक्ने विद्यालयहरूको सुधारको लागि पनि सहयोग गर्न सकिने बताए। समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य कमल पोखरेल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ताजिम अन्सारी, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष देवचन्द्र घिमिरे, अनेरास्ववियूका जिल्ला सचिव विरेन्द्र घिमिरे लगायतले सामुदायिक विद्यालयको विकृति सुधारको लागि विद्यालय प्रशासनको भूमिका महत्त्वपूर्ण हुने बताए।

सामुदायिक विद्यालयमा दुई खालको शिक्षा लागु भएकोले त्यस्ता दुई खाले शिक्षा खारेज हुनु पर्ने विद्यार्थी संगठनहरूको जोड छ। ‘अहिलेको सुधार भएका विद्यालयहरूमा दुई खालको शिक्षा लागु भएको छ, यो गलत छ,’ विद्यार्थी संगठन भन्छन्, ‘धनी वर्गले अंग्रेजी, निम्न वर्गले नेपाली माध्यम पढ्ने व्यवस्था न्यायोचित होइन, समान शिक्षा लागु गर्न सक्नुपर्छ।’

शिक्षामा सुधार हुनु भनेको अंग्रेजी माध्यममा पहुँच पुग्नु मात्र होइन भन्ने सबै विद्यालयका शिक्षक र प्रधानाध्यापकहरूले बुझ्नुपर्ने बताए। सुधार हुन नसकेका सामुदायिक विद्यालयहरूको समस्या भनेको विद्यालय व्यवस्थापन समितिभित्र हुने राजनीति, प्रअ र व्यवस्थापन समितिबीचको द्वन्द्व पनि रहेको उनीहरूको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.