रन्थनिएका ओलीले संसद्‍मा कुण्ठा पोखे : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्‍मा कुण्ठा पोखेको टिप्पणी गरेका छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा सांसद थापाले केपी ओलीले गरेको सम्बोधन रन्थनिएको बेलाको कुण्ठा भएको टिप्पणी गरेका हुन् ।

ओलीले बिहीबार सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो विचार राख्दै संसद्मा तीन घण्टा लामो सम्बोधन गरेका थिए । ओलीको त्यही सम्बोधनमाथि थापाले टिप्पणी गरेका हुन् । ‘कुण्ठामा केबल सहानुभूति मात्रै हुन्छ । त्यसैले यो बेलामा रन्थनिएको बेलामा उठेर, बसेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेँटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ । कहाँ बोल्ने कहिले बोल्ने भन्ने बोल्नेले हेक्का राख्ने कुरा हो । हामीले केबल बिचरा भन्न सक्छौँ । यति मात्रै हो,’ सांसद थापाले भने ।

नीति तथा कार्यक्रममा काठमाडौँमा एउटा मात्रै नगरपालिकाले केही गर्न नसक्ने र सबै मिलेर काम गर्नुपर्ने गरी योजना ल्याएको छ । त्यसको प्रशंसा गर्दै थापाले भने, ‘काठमाडौँलाई चाहिएको सडक विस्तार आयोजना होइन, फुटपाथ विस्तार, निर्माण, पुनर्स्थापना र स्तरोन्नति हो ।’

उनले पेट्रोलियम पदार्थमाथिका निर्भरता घटाउनुपर्नेमा जोड दिए। त्यसका लागि सरकारले जनतालाई राहत दिनुपर्ने कार्यक्रम ल्याउनुपर्ने बताए । ‘पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने कुरा आजको सबैभन्दा ठूलो प्राथमिकता हुनुपर्छ।’ थापाले भने, ‘यो राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो । यसबाट उत्पन्न समस्या पटक पटक भोगका पनि छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *