विराटनगरमा कृष्ण सेन इच्छुकको सम्झना

विराटनगर । विराटनगरमा सहिद कृष्ण सेन इच्छुकको २० औं स्मृति दिवस मनाइएको छ।

प्रेस सेन्टर नेपाल मोरङ र प्रेस सेन्टर नेपाल विराटनगरको आयोजनमा इच्छुकको सम्झनामा अन्तरक्रिया गरिएको हो। कार्यक्रममा नेकपा(माओवादी केन्द्र) प्रदेश १ सचिव गणेश उप्रेतीले पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकले पत्रकारिता र साहित्य क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरे। पत्रकार सेन इच्छुक समाजको ऐना रहेको उनले स्मरण गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघप्रदेश १ का महासचिव विवेक गौतम, नाटककार तथा श्रष्टा भरत गुरागाईं बर्बरिकले पनि इच्छुकको योगदानको चर्चा गरे। प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइरालाले कृष्ण सेन इच्छुकलाई स्मरण गर्दै पत्रकार महासंघले पनि कृष्णसेनको स्मृतिदिवस साझा रूपमा मनाउनु पर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्सालले तत्कालिन सरकारको विरुद्धमा आवाज उठाएकै कारण एक होनाहार पत्रकारले ज्यान गुमाउनु परेको स्मरण गरे। कार्यक्रममा मधेसी पत्रकार समाजका अध्यक्ष श्याम सुन्दर सुतिहारले इच्छुकको पत्रकारितामा दिएको योगदानको सम्झना गरे।

तत्कालीन जनादेश साप्ताहिकका सम्पादक रहेका कृष्णसेन इच्छुकलाई सेनाले हिरासतमा लिएर लामो समयसम्म बेपत्ता बनाउँदै २०५९ जेठ १३ गते हत्या गरेको सार्वजनिक भएको थियो। सोही दिनको स्मरणमा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरले विभिन्न कार्यक्रम गरेको छ।

विराटनगरमा आयोजित कार्यक्रम प्रेस सेन्टर नेपाल मोरङका अध्यक्ष अर्जुन आचार्यको अध्यक्षतामा आयोजना गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *