नेपाली सेनाद्वारा जलउद्धार प्रदर्शनी

काठमाडौँ । नेपाली सेनाले जलउद्धार अभ्यास ३ को प्रदर्शनी गरेको छ।

भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा आज जल उत्पन्न प्रकोपको दौरानमा गरिने खोज तथा उद्धारको कारबाहीसम्बन्धी प्रदर्शनी गरिएको हो। नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी यमप्रसाद ढकालको उपस्थितिमा प्रदर्शनी गरिएको हो। सो अवसरमा विपद् व्यवस्थापन गण र राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयमा भएका तालिम खोज तथा उद्धार कार्यको दौरान खटिदा सिकेका पाठ तथा नेपाली सेनासँग उपलब्ध स्रोत एवं साधन व्यवस्थापन क्षमतामा आधारित प्रदर्शनी गरिएको हो।

प्रदर्शनीका क्रममा नारायणी नदीमा पल्टिएको डुङ्गाका यात्रुको सकुशल उद्धार गरी देखाइएको थियो। उद्धारमा उपयोग हुने महत्वपूर्ण आधुनिक उपकरणहरुका बारेमा जानकारी गराइएको थियो। उद्धारमा सहभागीहरुलाई निर्देशन दिँदै ढकालले नेपाल भौगोलिक हिसाबले सम्वेदनशील भएकाले जुनसुकै बेला जहाँ कही विपद् पर्न सक्ने भन्दै सिकेको सीपलाई उपयोग गर्न तयारी अवस्थामा रहनुपर्ने बताए।

नेपाली सेनामाथि आमनागरिकको विश्वास रहेको भन्दै उनले विपदमा साथ दिनका लागि तालिमबाट अधिकतम सीप लिएर कार्यक्षेत्रमा खटिन निर्देशन दिए। विपद् व्यवस्थापन गण नं २ विपद् व्यवस्थापन गण, राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालय, कालिबहादुर गण र सिंहनाथ गण कमाण्डोद्वारा संयुक्त रूपमा प्रदर्शनी गरिएको हो।
नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयअन्तर्गत काठमाडौँमा रहेको गणले पूर्व र चितवनमा रहेको २ नं गणले पश्चिममा विपदमा उद्धारमा खट्ने गर्दछ।

नेपाली सेना सबै खालका विपद्का समयमा उद्धारमा जुट्ने गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *