पेट्राेलियम इन्धनमा १० रुपैयाँ कर घटाएर जनतालाई सहुलियत दिने तयारी

काठमाडौँ । सरकारले पेट्रोलियम इन्धनमा कर घटाएर सहुलियत दिने तयारी गरेको छ । निरन्तरको मूल्य वृद्धिका कारण सरकारप्रति चौतर्फी आलोचना बढेपछि सरकारले १५ गते ल्याउने नयाँ बजेटमार्फत नै यस्तो सहुलियत दिने तयारी गरेको हो ।

पेट्रोलियम इन्धनमा लगाइएको भन्सार कर ५ रुपैयाँ र पूर्वाधार कर ५ रुपैयाँ गरी प्रति लिटर १० रुपैयाँ कर घटाउन वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सैदान्तिक स्वीकृति दिएको आयल निगम स्रोतले बताएको छ ।

शुक्रबार प्रतिनिधि सभा संसदमा समय लिएर बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले कर घटाएर पनि मूल्य वृद्धिले जनतालाई पारेको मर्का कम गर्ने तयारी गरेको बताएका थिए ।

पेट्रोलियमबाट कर घटाउँदा सरकारको राजस्वमा पर्ने असरलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे अध्ययन भइरहेको पनि उनले बताएका थिए ।

सरकारले खास गरी बुढीगण्डकी बहुउद्देश्यीय जलाशययुक्त परियोजना स्वदेशी लगानीमै निर्माण गर्न तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर उठाउने व्यवस्था सुरु गरेका थिए । पछि डा. युवराज खतिवडा अर्थमन्त्री भएका बेला यो करको दर र दायरा बढाएर डिजेलमा समेत पूर्वाधार करको सुरु गरिएको थियो ।

हाल पेट्रोल र डिजेलमा पूर्वाधार करबापत प्रतिलिटर १०/१० उठाउने गरिएको छ । त्यस्तै, पेट्रोलमा २५ रुपैयँ २३ पैसार र डिलेलमा १२ रुपैयाँ २ पैसा भन्सार शुल्क लाग्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *