डा. सुनिल शर्माद्वारा विराटनगरका गाउँगाउँमा निःशुल्क उपचारको व्यवस्था (तस्वीरसहित)

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा. सुनिल शर्माले मोरङका चारवटा पालिकाका सर्वसाधरणलाई गाउँघरमै निःशुल्क उपचार सेवा उपलब्ध गराइरहेका छन्।
डा. शर्माले मोरङको बेलबारी, सुन्दरहरैचा, पथरी शनिश्चरे र कानेपोखरीका सर्वसाधरणको उपचारका लागि गाउँ–गाउँमा डाक्टरसहितको टोली परिचालन गर्ने व्यवस्था गरेका हुन्। शनिबार बाहेक हप्ताका ६ दिन नै नोबेल अस्पतालबाट डाक्टरसहितको टोली सो क्षेत्रमा पुग्ने गर्छ। बिरामीहरूलाई टोल–टोलमा भेला गरी डाक्टरहरूको टोलीले उपचार गर्ने गरेको छ।
उपचारबापत बिरामीले कुनै शुल्क तिर्नु नपर्ने गरी निःशुल्क उपचार सेवाको प्रावधान गर्ने डा.शर्मा भन्छन्, ‘गरीबीका कारण, पैसाको अभावमा कुनैपनि बिरामीले अकालमै मृत्युवरण गर्न नपरोस् भन्ने मनसाय हो। म यही क्षेत्रको मान्छे हुँ, कतिपय मान्छेले पैसा नभएर रोग पालेर बसिरहेका हुन्छन्, आफ्नो ठाउँका मान्छेलाई आफूले सकेको सहयोग गरौँ भनेर टोल–टोलमै डाक्टर पठाएर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएको हुँ।’
बेलबारी–४ स्थायी घर भएका डा. शर्मा नेपाली कांग्रेसका नेतासमेत हुन्। उनी गत प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्र अर्थात मोरङ क्षेत्र नं. ३ बाट चुनाव भिडेका थिए, पराजित भए। तरपनि, उनी त्यो क्षेत्रका जनताको सेवामा निरन्तर लागिरहेका छन्। उनले केही वर्ष अघिदेखि नै टोल–टोलमा डाक्टर पठाएर बिरामीहरूको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउँदै आएका छन्। तर, कोरोनाको महामारीका कारण यो अभियान रोकिएको थियो। अहिले पुनः सेवा सुरु गरिएको हो।
डा. शर्माको योजना अनरूप नोबेलका विशेषज्ञ डाक्टरसहितको टोली एम्बुलेन्स लिएर टोल–टोल पुग्ने गरेका छन्। उनीहरूले भिडियो एक्सरे, इसीजी, ल्याब टेष्टसहितको सेवा त्यही प्रदान गर्छन्। सामान्य बिरामीहरूलाई गाउँमै उपचार गरिन्छ। गम्भीर अवस्थामा बिरामीलाई आफ्नै एम्बुलेन्समा राखेर नोबेल अस्पताल ल्याई उपचार गर्ने गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए।
डा. शर्माले गरिब, विपन्न र असहायहरूलाई अस्पतालमा पनि निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएका छन्। गाउँघरमै विशेषज्ञ डाक्टरबाट निःशुल्क उपचार सेवा पाउँदा सो क्षेत्रका सर्वसाधरण हर्षित छन्। उनीहरूले डा. शर्माको सेवा भावको प्रशंसा गर्ने गरेका छन्।
समाजसेवाका क्षेत्रमा उदाहरणीय व्यक्तिको पहिचान बनाएका डा. शर्माले यसअघि पनि सयौं गरिब तथा विपन्न बिरामीलाई उद्धार गरी निःशुल्क उपचार गराइसकेका छन्।

तस्वीरहरू:

प्रतिक्रिया

One thought on “डा. सुनिल शर्माद्वारा विराटनगरका गाउँगाउँमा निःशुल्क उपचारको व्यवस्था (तस्वीरसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *