चितवनका दुई महिला प्रमुखले हाँक्दैछन् पालिकाको रथ !

चितवन । अबको पाँच वर्ष चितवनको दुई पालिका महिला नेतृत्वबाट चल्ने भएको छ । अहिलको चुनावले चितवनको भरतपुर महानगर र माडी नगरपालिकाको नेतृत्व महिलाको काँधमा सुम्पेको छ ।

भरतपुर महानगरको रथ मेयर रेनु दाहालले हाँक्दैछिन् भने माडी नगरपालिकाको रथ ताराकुमारी काजी महतोले हाँक्दैछिन् । दुवै पालिका हाँक्न सक्षम महिला नेतृत्व हुन् । यसअघि नै रेनु एक पटक भरतपुरको मेयर भइसकेकी र ताराकुमारी माडीकी उपमेयर भइसकेकी छन् ।

भरतपुर महानगरपालिका गएको पाँच वर्ष महिला नेतृत्वबाट सञ्चालन भयो । भरतपुरमा मेयरमात्र होइन, उपमेयर पनि महिला नै थिइन् । २०७४ सालको स्थानीय तहको चुनावले भरतपुरको मेयरमा रेनु दाहाल र उपमेयरमा पार्वती शाह विजयी गराएको थियो । त्यतिबेला पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल थियो । मेयरमा माओवादीबाट दाहाल र उपमेयरमा कांग्रेसबाट शाह विजयी भए ।

२०७९ सालको स्थानीय तहको चुनावले भरतपुर महानगरको मेयरमा रेनु दाहाललाई कमव्याक गराएको छ । भरतपुर महानगरको नेतृत्व फेरि महिलाकै हातमा आएको छ । निर्वाचित भएकी रेनु दाहाल पदभार ग्रहण गरिसकेकी छन् । उनले केही निर्णयसमेत गरेर पालिकाको रथ हाँक्न सुरु गरिसकेकी छन् । उनले भरतपुर महानगरको रथ कतातिर हाँक्छिन्, त्यो समयले देखाउनेछ ।

यसअघि भरतपुर महानगरको पाँच वर्ष मेयर भएर रथ हाँकिसकेकी दाहाललाई फेरि भरतपुर महानगरवासीले पाँच वर्ष रथ हाँक्न जिम्मा दिएका छन् । दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरिन् । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरे ।

जनताको भारी मत लिएर भरतपुरमा कमव्याक भएकी रेनु दाहालले जनताको मन जितेकी छन् । अन्य पालिकामा हालसम्म नसुनिएको छोरीको जीवन बिमा गराउने पहिलो निर्णय गरेकी छन् दाहालले । भरतपुर महानगरमा अब छोरी जन्मिनेबित्तिक्कै एक लाखको जीवन बिमा हुनेछ । यस निर्णयले रेनुको चर्चा सर्वत्र हुन थालेको छ । उनले २०७४ सालमा पनि पहिलो निर्णय भरतपुरमा अस्पतालमा महिलालाई निःशुल्क टिकटको व्यवस्था गरेकी थिइन् ।

भरतपुर महानगरपालिकाको मेयर बनेर पाँच वर्षमा उनले थुप्रै योजनाहरू अघि सारेकी छन्, तर अधिकांश योजना पूरा भएका छैनन । उनले मतदातासामु आफ्नो अधुरा काम पूरा गर्ने संकल्प गर्दै मत मागिन् । अधुरा काम पूरा होला भन्ने आशाले रेनुलाई मत दिएर जिताए । पदभार ग्रहण कार्यक्रममा उनले भनिन्, ‘मलाई जनताले अधुरा काम पूरा गर्न कमव्याक गराएका हुन्, म ती काम पूरा गर्न निरन्तर लाग्नेछु ।’

रेनुको समयमा सुरु भएका अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशालादेखि सिटीहलसम्म, देवघाटको विद्युतीय शवदाहगृहदेखि पुल्चोक गोन्द्राङ ६ लेन सडक कुनै पनि पूरा भएका छैनन् । उनको काँधमा आएका यी योजनाहरू अब पूरा हुने उनले विश्वास दिलाएकी छन् ।
उनी भरतपुर महानगरवासीको मन जित्न हरहमेसा लागिरहेकी छन् । भरतपुर महानगर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला हो । प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् । भरतपुर महानगरको आधा भाग चितवन क्षेत्र नम्बर ३ मा पर्छ । अब आउने संघीय चुनावमा प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाटै उठ्नेछन् । रेनुलाई आफ्ना पिता प्रचण्डलाई जिताउन पनि अधुरा काम पूरा गरेर जनताको मन जित्न थप दबाब परेको देखिन्छ ।

भरतपुर महानगर प्रमुख रेनु कसरी अगाडि बढ्दै जान्छिन् ? उनका अधुरा काम पूरा हुन्छन् कि हुँदैनन्, उनी जनताको भारी मतलाई अवमूल्यन गर्छिन् कि गर्दिनन् भन्ने विषय गर्वभित्रै रहेको छ ।

माडी नगरपालिकाले यसपटक महिला नेतृत्व पाएको छ । २०७४ मा उपमेयर भएकी ताराकुमारी काजी महताले यसपटक मेयरमा कमव्याक भएकी छन् । उनले
पुरुष उमेदवार गठबन्धनका ऋषि काफ्लेलाई दुई हजार १७२ मतान्तरले पराजित गरिदिइन् । मेयरमा निर्वाचित एमालेकी महतोले नौ हजार ९०१ मत प्राप्त गरिन् । त्यस्तै, प्रतिस्पर्धी माओवादीका काफ्लेले सात हजार ७२९ मत पाए ।

माडी नगरपालिकाको रथ ताराकुमारीले अगाडि बढाइसकेकी छन् । यसअघि माडीमा ५ वर्ष उपमेयरको जिम्मेवारी लिएर असल काम गरेबापत् फेरि ताराकाजीलाई माडीवासीले मेयरको जिम्मेवारी सुम्पेका छन् । माडी वसन्तपुरकी ताराकाजी थारु समुदायबाट सामाजिक काम गर्दै राजनीतिमा आएकी सक्षम महिला हुन् । पाँच वर्ष माडीमा बसेर उपमेयरको जिम्मेवारी लिँदै गर्दा उनीप्रति कुनै माडीवासीले आलोचनासमेत गरेनन् । माडीवासी भन्ने गर्थे– जनप्रतिनिधि त ‘ताराकाजी’जस्तो हुनुपर्छ ।

माडी नगरपालिका पनि चितवन क्षेत्र नम्बर ३ मा पर्छ । यसअघि माओवादी केन्द्रका ठाकुर ढकालले हाँकेका माडी नगरपालिका अब महिला ताराकुमारीले हाँक्ने भएकी छन् । माओवादी केन्द्रले हारेका कारण माडीमा प्रचण्डलाई धक्का लागेको चर्चा यतिबेला भइरहेको छ । तथापी, ताराकुमारीले माडी उपत्यकालाई सुन्दर बगैँचाको रूपमा विकास गर्न होमिएकी छन् । हुन त यसअघिको चुनावमा प्रचण्डले माडीलाई मणि बनाउँछु भनेका थिए, माडी मणि भयो कि भएन, त्यहाँका जनताले विश्लेषण गरिरहेका होलान् ।

जेहोस्, ताराकुमारीले माडीलाई राम्रैसँग हाँक्ने देखिएको छ । नगरवासीमा गरेको विकास र नगरवासीप्रति देखाएको मायाले ताराकाजीको हाइट थप चुलिएको माडीवासीको भनाइ छ । ताराकाजीको ठाउँमा एमालेले अरू कुनै उमेदवार उठाएको भए हार निश्चित थियो भन्नेहरू पनि छन् । यो जित उनको व्यक्तिगत क्षमताले नै दिलाएको हो । उनले नगरवासीमा गरेको विकास र नगरवासीप्रति देखाएको माया, सद्भावले ताराकाजीलाई माडी नगरपालिकाको जिम्मा लगाइएको माडीवासी बताउँछन् ।

२०७४ सालमा उपमेयर हुनुअघि ताराकाजी माडीको वडा सचिव भएर माडीवासीको मनमुटुमा बसेकी थिइन् । अहिले त उनलाई मेयर नै बनाइदिए । ताराकाजीले माडीको रथ कसरी अगाडि बढाउनेछिन् ? त्यो भने हेर्न बाँकी छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *