कोशी अस्पताल परिसरमा फोहोर फाल्नेलाई कारबाही गरिने

विराटनगर । कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएको छ । तत्काल गर्न सकिने काम सरसफाइ नै भएको कारण अहिलेलाई सरसफाइमा कडाई गर्ने अस्पताल प्रशासनको तयारी छ ।

संवाद समूहको आयोजनामा विराटनगरमा भएको संवादको क्रममा अस्पतालल विकास समिति र अस्पताल प्रशासनले फोहोरमैला व्यवस्थापन गर्न कानुनी कारबाहीमा जाने तयारी गरेको हो । अस्पताल प्रवेश गर्दादेखि नै धुम्रपान र मध्यपान प्रवेश गरेर अस्पतालभित्र प्रवेश नदिईने, यदी सुर्ती तथा सुर्तीजन्य पद्धार्थ प्रयोग गर्दै कार्यलय परिसरभित्र प्रवेश गरी मनपरी थुक्ने, फोहोर फाल्ने गरेको पाइएमा कानुनी प्रक्रियामा लगिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट यज्ञ खरेलले बताए ।

‘धुम्रपान र मध्यपान प्रयोग गर्दै कोशी अस्पताल भित्र प्रबेश गर्ने गरिएको छ, जसले अस्पताललाई कुरुप बनाउने काम गरेको छ, उनले भने, अस्पताललाई सफा बनाउने अभियानमा मेरो दृढ ईच्छाशक्ति छ, त्यो अभियानमा दलहरुले सहयोग गर्नु पर्छ ।’

अस्पताल भित्र, बिभिन्न बहानामा फोहोर गर्नेलाई कानुन अनुसार कार्वाही गरेर जाने उनले बताए । अस्पताल प्रशासनले अस्पताल भित्र फोहोर ब्यवस्थापन गर्ने बारेमा सुचना टाँस्ने, प्रचार प्रसार गर्ने र त्यो बारेमा जानकारी दिन कर्मचारीको व्यवस्थापन गर्ने र अटेर गरेको पाईएमा कारबाहीमा जाने उनले बताए । अस्पताल प्रशासनले तत्काल हेल्प डेस्क संचालन गर्ने पनि प्रतिबद्धता जनाएको छ । अस्पतालमा उपचार गर्न गएका नागरिक अन्योलमा पर्ने, घुमेको घुमेकै गर्ने तर उपचार गर्ने ठाउँ नपाएको गुनासो आएपछि अस्पतालले तत्काल हेल्पडेस्क संचालन गर्ने जनाएको हो ।

अस्पताल भित्र दिइने सेवा र डाक्टर रहने समयको बारेमा जानकारी दिने खालका बोर्ड र संकेतहरु राख्ने पनि अस्पताल प्रशासनले प्रतिबद्धता जनाएको छ । कोशी अस्पतालमा कार्यालय समयमा पनि डाक्टर नबस्ने गुनासा आएपछि त्यसलाई कडाईका साथ कार्यान्वयनमा लग्नकालागि बोर्ड सहित कुन सेवा कहाँ लिन पाइन्छ भन्ने संकेतहरू राखिने अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले जानकारी दिए । संवाद समूहको समन्वयमा अस्पताल प्रशासन र दलहरूकाबीच अस्पतालभित्रै हरेक महिना नियमित गर्ने अस्पताल प्रशासनले प्रस्ताव गरेको छ ।

हामी सघाउँछौँ : दल
सामान्य समस्याले पनि बिरामीलाई असजिलो हुने गरेको छ । अस्पताल प्रवेश गर्ने मुख्य गेटमा सिटी र अटोको कारण बिरामी तथा एम्बुलेन्सलाई आवतजावतमा समस्या हुने गरेपछि त्यसलाई व्यवस्थापन गर्न अस्पताल प्रशासनले ट्राफिक प्रहरीको सहयोग लिने बताएको छ ।

अस्पतालको गेटदेखि भित्रैसम्म सिटी र अटोका कारण समस्या रहेकोले त्यसलाई व्यवस्थापन गर्न नेकपा एकिकृत समाजवादीका नेता महेश रेग्मीले सुझाव दिएका थिए । उनले हिजो अस्पतालको तर्फबाट भएको प्रतिबद्धता कार्यान्वायन गर्न आग्रह गरे । ‘कोशी अस्पतालको केही सुधार भएको देखिएपनि शत् प्रतिशत कामहरू पूरा भएको देखिँदैन, उनले भने, दलहरूको तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कमी भएको छैन, अस्पताल प्रशासनले गरेको प्रतिबद्धता कार्यान्वायन गर्नु पर्यो ।’

उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले सुचना प्रणालीलाई ब्यवस्थित गर्नु पर्ने बताए । अनुहार चिनिने मान्छे गयो भने सहजै्र उपचार पाउने र नयाँ ब्यक्ति उपचारको लागि गयो भने अलमल पर्नु पर्ने अबस्थाको अन्त्य गर्न उनले आग्रह गरे । अस्पतालमा उपचारको लागि पुगेका सेवाग्राहीले सोधेको प्रश्नको जवाफ नदिने, सोध्यो भने झर्किएर जवाफ दिनुले नागरिकप्रतिको अन्याय हुने उनको तर्क छ ।

नेपाली कांग्रेसका उपसभापति भक्तिनाथ माझीले सरसफाईमा धेरै काम भएपनि नागरिकका समस्यामा अस्पतालले अझै काम गर्न नसकेको बताए । ‘नागरिकलाई समस्या परेको बेला समाधान गर्नको लागि चासो नदिएको जस्तो देखियो, उनले भने, अहिलेको अस्पतालको अवस्था कुनै बिरामी आधा घण्टा कुर्नु पर्यो भने कहाँ राख्ने भन्ने चिन्ता छ ।’

नेकपा एमालेका सचिव रुपेश खतिवडाले अस्पताल सुधार गर्दैछौँ भनेपनि सामान्य नागरिकले सेवा पाउन निक्कै गाह्रो रहेको बताए । ‘अस्पतालले सरसफाईका मापदण्ड पुरा गरेको छैन, उनले भने, कोशी अस्पताल नचलेको फ्याक्ट्रीको गोदाम घर जस्तो देखिएको छ, सरसफाईको अवस्था हेर्दा दर्दनाक देखिन्छ ।’ घाम पानीबाट जोगिने र बस्ने खालको प्रतिक्षालय समेत नभएको यथार्थ सुनाए ।

प्रतिक्षालयभित्रै नागरिकको सहजताको लागि टोकन ब्यवस्थापन गर्न सकियो भने धेरै समस्याको समाधान हुने उनले सुझाव दिए । अस्पतालमा डाक्टर भएपनि पूर्ण समय काम नगरेको समेत टिप्पणी गरे । डाक्टरले कार्यालय समयअवधि पूरा नगर्दा सेवाग्राही भौतारिनु पर्ने अवस्था रहेको उनले बताए । कोशी कोभिड अस्पताललाई संचालन गरेर प्रयोगमा ल्याउन उनले सुझाव दिएका छन् ।

लोसपाका जिल्ला अध्यक्ष मोहम्मद कादिरले नागरिकले उपचार गर्न आउँदा फोन गरेर आउनुपर्ने बाध्यता रहेको बताए । उनले पहिलाको भन्दा अहिले अस्पतालको व्यवस्थापकीय रुपमा केही सुधार भएको बताए । कर्मचारीको व्यवहारमा परिवर्तन गरिनुपर्ने उनको सुझाव छ ।

अस्पताल कस्तो बनाउने भन्ने हात प्रशासनको जिम्मेवारी लिएका व्यक्तिको हुने बताउँदै राप्रपाका सचिव टंक गुरागाईले विशेषज्ञ डाक्टरकोमा जाँदा मुख थुनेर जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *