धनुषा र सिरहामा लोसपालाई निराशा

जनकपुर । धनुषा र सिरहामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल स्थानीय तहको चुनावी परिणामबाट निराश बनेको छ । धनुषामा लोसपाले एउटा पनि स्थानीय तह जित्न सकेन । धनौजी गाउँपालिकाबाहेकमा निकटतम प्रतिद्वन्द्वीसम्म पनि पार्टी हुन सकेन ।

धनुषाका १८ तथा सिरहाका १७ पालिकामध्ये लोसपाले एउटा पनि जित्न नसक्दा नेता तथा कार्यकर्ता निराश भएका छन् । पार्टी विभाजनको असर, पार्टीभित्रको अन्तरसंघर्ष तथा टिकट वितरणमा भएको किचलोजस्ता कारणले लोसपाले धनुषा र सिरहाका कुनै पालिकामा जित्न नसकेको जनकपुरधाम उपमहानगरपालिका-४ का सुधीर साहले बताउँछन् ।

“समयमा उपयुक्त उमेदवार तय गरी चुनाव जित्ने रणनीतिका साथ पार्टी गएको भए यस्तो नराम्रो परिणाम आउने थिएन,” उनले भने, “यसमा लोसपाका नेताहरूबाट धेरै कमी-कमजोरी भएका छन् । परिणामस्वरूप, निराशाजनक परिणाम आएको हो ।”

सर्वसाधारण मात्र होइन, स्वयं लोसपाका नेता समेत आफ्नै कमजोरीका कारण चुनावमा अकल्पनीय परिणाम आएको स्वीर्काछन् । “यस्तो परिणाम आउँछजस्तो लागेको थिएन,” लोसपा धनुषाका अध्यक्ष परमेश्वर साहले भने, “यो परिणामबाट हामी आश्चर्यमा परेका छौँ ।”

जनता समाजवादी पार्टी (जसपा)बाट केही समयअघि मात्रै अलग भएको र बीचमा संगठनलाई जसरी लैजानुपर्ने थियो, त्यसरी नसक्दा तथा टिकट वितरणमा भएको कमजोरीले हार बेहोर्नुपरेको उनको भनाइ छ ।

केही समयअघि मात्रै जसपाबाट अलग भएकाले पार्टी संगठनको काम राम्ररी गर्न नसक्नु, पहिला पार्टीको तर्फबाट जितेका जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसक्नु, जनताबीच आफ्नो एजेन्डा पुर्‍याउन नसक्नुजस्ता कारणले नसोचेको परिणाम आएको अध्यक्ष साह बताउँछन् । अहिलेको चुनावमा भएका कमी-कमजोरीबाट पाठ सिकेर आउँदो निर्वाचनमा बढी सिट जित्ने तयारीमा जुट्न उनले कार्यकर्तालाई आग्रह गरेका छन् ।

यस्तै, मत परिणामले नेकपा (एकीकृत समाजवादी)लाई पनि धनुषामा निराश बनाएको छ । एकीकृत समाजवादी सिरहामा भने एउटा पालिकाको अध्यक्ष जित्न सफल भएको छ ।

एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका रहेको धनुषामा नेपाली कांग्रेसले १० पालिका जितेको छ । नेकपा (एमाले) र जसपाले तीन/तीन तथा नेकपा (माओवादी केन्द्र)ले एउटा स्थानीय तह जितेका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *