करोडको गाडी चढेर जनताको समस्या देखिदैँन, म सडकमै हिँड्न चाहन्छु : हर्क साम्पाङ

काठमाडौँ । ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गदैँ एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताएका छन् । उनले सामाजिक सञ्चालबाट गाडी नचढ्ने बताएका हुन् । “म करोडौँ पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँडन चाहन्छु, किनकी ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु”, उनले भनेका छन् ।

धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदै आएका राईले सामाजिक सञ्जालबाटै समस्या परे फोन गर्न आफ्नो निजी नं. वितरण गरेका छन् । “पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ, भने मलाई कल गर्नु होला ९९८१९०१२३७१ र ९७४६९६५१९८०, तपाइँको सेवक, जय धरान”, उनले भनेका छन् । उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले प्रमुखका लागि को१ज ६४० नं को आरमदायी स्कोर्पियो तयारी अवस्थामा राखिदिएको छ ।

चालक पनि तयारी अवस्थामा रहेका छन् । यस्तै उपप्रमुखका लागि पनि गाडी तयारी अवस्थामा राखिएको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए । “हामीले उहाँहरुले पाउने सेवा सुविधा तयारी अवस्थामा राखेका छौँ, सुविधा लिने वा नलिने भन्ने उहाँहरुको इच्छा हो”, अधिकृत खतिवडाले भने । मङ्गलबार पदभार ग्रहणपछि प्रमुख राई उपमहानगरपालिका पुगेका छैनन् । आफू जनताका आधारभूत र अति आवश्यक समस्या समाधान नभएसम्म फिल्डमै हुने प्रमुखमा विजयी हुने बित्तिकै उनले घोषणा गरेका थिए ।

प्रमुखमा निर्वाचित भएपछि विभिन्न सामाजिक सङ्घ संस्थाको सम्मानका लागि निम्ता आउन थाले पनि उनले सामाजिक सञ्जालबाटै सम्मानका लागि नबोलाइदिन आग्रह समेत गरेका छन् ।

लामो सयमदेखि सामाजिक अभियानमा लाग्नुभएका साम्पाङले चुनावको मुद्दा नै खानेपानी बनाउनुभएको थियो । मङ्गलबार पदभार ग्रहण गर्दै उनले पहिलो चरणमै खानेपानी वितरणलाई चुस्त बनाउँदै चुहावट रोक्ने प्रतिबद्धता जनाएका छन् । खानेपानी वितरणलाई व्यवस्थापन गर्न नसक्दा नै खानेपानीको अभाव चुलिँदै गएको उनकाे भनाइ छ । पदभार ग्रहण गदैं साम्पाङले भने, “परियोजनाको उत्पादन बढाउने र स्रोत थप्ने कामलाई अघि बढाउने मेरो पहिलो प्राथमिकता हुनेछ ।”

राईले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागू गर्न अध्ययन गरी सुझाव पेश गर्न एक कार्यदल गठन गर्ने निर्णय पनि गर्नुभएको छ । कार्यदलको संयोजकमा उपप्रमुख अइन्द्रविक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजस्व महाशाखा प्रमुख रहेका छन् । यस्तै सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित एक अर्थशास्त्री र सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष वा उनले तोकेका व्यक्ति कार्यदलमा सदस्य रहने छन् । कार्यदलले धरानको कर वैज्ञानिक भए नभएको, आयस्रोतको पहिचान गर्ने र दररेट निर्धारणका लागि अध्ययन गरी सुझाव दिइने प्रमुख राईले जानकारी दिए । सर्वदलीय सहभागितामा धरानको विकासमा मिलेर अघि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *