६ महानगर : बालेनले जित्दा कांग्रेसलाई घाटा, एमाले शून्यमा खुम्चियाे

काठमाडाैँ । देशका ६ वटै महानगरपालिकाहरूकाे चुनावी नतिजा सार्वजनिक भएकाे छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनकाे मतगणना सकिएकाे छ । काठमाडाैँमा भने अन्तिम मतपरिणामचाहिँ आउन भने बाँकी छ । यद्यपि विजय-पराजयबारे भने टुङ्गाे लागिसकेकाे छ । काठमाडाैँमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले मेयरमा बाजी मारिसकेका छन् ।

यसबाहेक ५ वटा महानगरपालिकामाहरूमा सत्तारुढ पाँचलीय गठबन्धनले जित निकालेकाे छ । काठमाडाैँमा भने बालेन गठबन्धनकी उम्मेदवार सिर्जना सिंह र एमालेका उम्मेदवार केशव स्थापितलाई फराकिलाे मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । बालेनले दाेस्राे स्थानमा रहेकी सिर्जना र केशवभन्दा २१ हजारभन्दा बढी मत ल्याएका छन् । यहाँ उनी निर्वाचित बनिसकेका छन् ।

यसबाहेक पाेखरा, भरतपुर, ललितपुर, वीरगञ्ज र विराटनगरमा भने गठबन्धनका उम्मेदवारहरूले विजय प्राप्त गरेका छन् ।

महानगरकाे भागबन्डा सरकारकाे नेतृत्वकर्ता दल नेपाली कांग्रेसलाई ३ र अन्य ३ दल; माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीलाई एक/एकवटा पर्नेगरी गरिएकाे थियाे । त्यसमा कांग्रेसले २ वटा विराटनगर र ललितपुर मात्रै जित्याे । भागबन्डाअनुसार काठमाडाैँ पनि कांग्रेसकै भागमा परेकाे थियाे । तर, काठमाडाैँ कांग्रेसले गुमाउनुपर्‍याे ।

काठमाडाैँमा स्वतन्त्र उम्मेदवार बालेनले गठबन्धनकी तर्फबाट उठेकी कांग्रेस नेतृ सिर्जना सिंहलाई पराजित गरेका छन् ।

०००

पाेखरामा गठबन्धनकाे तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता धनराज आचार्य मेयरमा निर्वाचित भएका छन् । उनले ५८ हजार ८ सय ९३ मत प्राप्त गरेर मेयरमा निर्वाचित बनेका हुन् । उनले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पछि पारेका छन् । थापाले ५२ हजार ८ सय ४८ मात्रै मत पाए ।

यस्तै चितवनकाे भरतपुरमा माओवादी केन्द्रकी नेतृ रेनु दाहाल मेयरमा निर्वाचित बनेकी छन् । गठबन्धनकै तर्फबाट उम्मेदवार बनेकी उनले निकटतम् प्रतिस्पर्धी एमालेका विजय सुवेदीले भन्दा १२ हजार ५ सय १२ मत बढी  पाइन् । विजयले ३९ हजार ५ सय १८ मात्रै मत ल्याउँदा रेनुकाे पक्षमा ५२ हजार ३० मत खस्याे ।

काठमाडाैँ उपत्यकाभित्रकैकाे अर्काे महानगरपालिका ललितपुरमा चिरिबाबु महर्जन दाेहाेरिएका छन् । उनी यसअघि पनि कांग्रेसबाटै मेयर बनेका थिए । उनी पुन: गठबन्धनबाटै मेयरमा दाेहाेरिएका हुन् । उनले आफ्नाे निकटतम् प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारभन्दा १८ हजार १ सय ६२ बढी मत ल्याए । चिरिबाबुले ४२ हजार ७ सय २२ मत प्राप्त गर्दा हरिकृष्ण २४ हजार ५ सय ६० मतमा खुम्चिनुपर्‍याे ।

उता मधेश प्रदेशकाे एकमात्रै महानगरपालिका वीरगञ्जमा पनि गठबन्धनकै राजेशमान सिंह निर्वाचित बनेका छन् । उनी जनता समाजवादी पार्टीका नेता हुन् । उनी फराकिलाे मतान्तरले मेयरमा निर्वाचित बनेका छन् । उनी एमालेका विजयकुमार सरावगीलाई २२ हजार ५ सय ४४ मतले पछि पार्दै मेयरमा निर्वाचित बनेका हुन् । विजयकुमारले २३ हजार ६ सय ७१ मत बटुल्दा राजेशमानकाे पक्षमा ४६ हजार २ सय १५ मत प्राप्त गरे ।

विराटनगर महानगरपालिकामा पनि गठबन्धनकै नागेश काेइराला निर्वाचित बनेका छन् । कांग्रेस नेता नागेश एमालेका सागरकुमार थापालाई ११ हजार ३ सय ३५ मतले पछि पार्दै निर्वाचित बनेका हुन् । ३० हजार १ सय ७० मत नागेशले पाए भने सागरकुमार १८ हजार ८ सय ३५ मतमै सीमित हुनुपर्‍याे ।

०००

एमालेले भने महानगरपालिकामा शून्यमै सीमित हुनुपर्‍याे । पाँचदल एक कित्तामा उभिँदा एमालेलाई सकस भएकाे हाे । २०७४ सालकाे स्थानीय तह सदस्यकाे निर्वाचनमा काठमाडाैँ र पाेखरा महानगर जितेकाे एमाले यसपटक भने शून्यमै रमाउनुपर्‍याे ।

त्यसाे त गठबन्धनले खाेलाे बगाएर आफूबाट महानगर खासेकाे अभिव्यक्ति दिन्छन् एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, भन्छन्- ‘यसपटक गठबन्धनले पैसाकाे खाेलाे बगाएर एमालेबाट महानगर खाेस्याे ।’ पैसा लगानी गरेर महानगरपालिकाकाे चुनाव जितेकाे आराेप लगाउँदै उनले भनेका छन्, ‘यसकाे हिसाब-किताब एक एक गर्नेछाैँ ।’

तर, सिट सङ्ख्या घटेपनि एमालेकाे जनमत भने अझ बढेकाे विश्लेषण छ उनकाे । ‘यसपटककाे चुनावले एमालेकाे जनमत बढेकाे प्रमाणित गरेकाे छ,’ उनले भने, ‘हामीले सिट सङ्ख्यामात्रै गुमायाैँ तर जनमत भने यथावत् नै छ । यसकाे प्रमाण यसपटककाे निर्वाचनमा देखिएकाे छ ।’

अर्का उपमहासचिव विष्णु रिमाल पनि यही दाेहाेर्‍याउँछन् । ‘एमालेकाे जनमत बढेकाे छ,’ उनले भने, ‘हामीले सिटचाहिँ कम जित्याैँ तर हाम्राे जनमत घटेकाे छैन । सिट घट्याे तर जनमत घटेकाे छैन ।’ उनी गठबन्धनसँग भिड्दै गर्दा पनि महानगरका उम्मेदवारहरूले प्राप्त गरेकाे मत कम नभएकाे बताउँछन् । एक्लाएक्लै भिडेकाे भए जहाँतहीँ एमालेनै जित्ने उल्लेख गर्दै उनले थपे, ‘एक्लै भिड्न डराएर उनीहरू एकठाउँमा भए ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *