६ महिनादेखि २ वर्षसम्मका बालबालिकालाई केएमसीले निःशुल्क ‘पोषण प्याकेट’ दिँदै

काठमाडाैँ । केएमसी अस्पतालले ६ महिनादेखि २ वर्ष सम्मको कुपोषण भएका बालबालिकालाई निःशुल्क ‘पोषण प्याकेट’ उपलब्ध गराउने भएको छ ।
केएमसी अस्पताल र बलियो नेपाल न्यूट्रिसनबिच सम्झौता भई भोलिदेखि नै सञ्चालनमा आउने गरी ‘पोषण प्याकेट’ उपलब्ध हुने केएमसीका जनरल म्यानेजर नारायण दाहालले जानकारी दिए । सम्झौता कार्यक्रममा अस्पतालका निर्देशक डा. सुमन श्रेष्ठ र प्रशासकीय अधिकृत प्रेम थापाको समेत उपस्थिति रहेको थियो ।
कुपोषण भएका बालकालिकालाई ध्यानमा राखी कार्यक्रम सञ्चालन गर्न लागिएको र पोषण प्याकेटमा बालबालिकालाई अति आवश्यक पर्ने तत्व सहितको पोषणयुक्त लिटोको पिठो हुने बाल चिकित्सक पावना कायस्थले जानकारी दिइन् । कार्यक्रमका लागि केएमसीमै पाेषण क्लिनिक समेत सञ्चालन गरिने उनले बताइन् । क्लिनिक दिउँसो २ बजेदेखि सञ्चालन नियमित रूपमा सञ्चालन हुनेछ ।
केएमसीमा निःशुल्क उपलब्ध गराइने पोषण प्याकेट प्रत्येक कुपोषणको सिकार भएका शिशुलाई दिनको एक पटक खानलाई तिन महिना सम्म पुग्ने डा. पावनाले बताइन् । प्रत्येक पोषण प्याकेट २५ ग्रामको हुनेछ ।
त्यस्तै, केएमसीले सेवा लिन आउने बिरामी तथा सेवाग्राहीका लागि विभिन्न लाभदायी कार्यक्रम सञ्चालन गर्दै आएकाे र भावी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने अस्पतालका अध्यक्ष डा.सुनिल शर्माले बताए ।
विराटनगरको नोबेल शिक्षण अस्पतालका सञ्चालक रहेका डा. सुनिल शर्माको केएमसी प्रवेशसँगै अस्पतालकाे स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आएको छ । केएमसीका कार्यकारी अध्यक्ष समेत रहेका डा. शर्माले नेपालमै सर्वसुलभ शुल्कमा अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्न लागिपरेको बताउँदै निकट भविष्यमै अस्पतालमा सुपरस्पेशियालिटी सेवाहरू थप गरिने बताए ।









