नेपाल–जाम्बिया कुटनीतिक सम्बन्धको साढे ३ दशक : सगरमाथामा फहराइयो जाम्बियाको झण्डा

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथामा अफ्रिकी राष्ट्र जाम्बियाको झण्डा फहराइएको छ । नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको साढे तीन दशकपछि जाम्बियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको झण्डा फहराएको हो ।

जाम्बियाका लागि नेपालका मानार्थ वाणिज्य दूत देशबन्धु बस्नेतले नेपाली पर्वतारोही फुर्वा ओङगेल शेर्पाले सर्वोच्च शिखर सगरमाथामा जाम्बियाको झण्डा फहराएको जानकारी दिए । उनका अनुसार १५ मेको बिहान ४ बजेर ५८ मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथामा पर्वतारोही शेर्पाले जाम्बियाको झण्डा फहराएका थिए ।

दुई देशबीचको द्विपक्षीय व्यापार र द्विपक्षीय सम्बन्ध सुदृढीकरण गर्न ध्यान आकर्षित गर्ने उद्देश्य अनुरुप सगरमाथामा जाम्बियाको झण्डा फरफराइएको समेत उनले बताए ।

‘नेपाल र जाम्बियाबीच १० सेप्टेम्बर १९८६ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो,’ उनले भने, ‘लामो समयदेखि दुई देशबीच कुटनीतिक सम्बन्ध भए पनि त्यस विषयमा लाभ लिन सकिएको छै्रन, अबका दिनमा दुई देशबीच पारस्पारिक सम्बन्धका साथै व्यापारिक सम्बन्धसमेत विस्तार गर्दै लैजानु जरुरी छ ।’
हालसम्म नेपाल र जाम्बियाबीच द्विपक्षीय व्यापार भने नगन्य रुपमा छ । जाम्बियासँग प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्न धेरै विशेषताहरू रहेका छन् ।

यो एक खनिज अर्थव्यवस्था भएको मुलुक हो जहाँ खनिजसम्बन्धित गतिविधिहरूमा दशकौंको अनुभव रहेको छ । विश्वको तामा भण्डारको ६ प्रतिशत जाम्बियामा रहेको छ ।

यस्तै जाम्बियाले बहुमूल्य पत्थरहरू जस्तै पन्ना, नीलम, एक्वामारिन, सुन, र हीराको उत्खनन गर्दछ ।

जाम्बियासँग विश्वकै सबैभन्दा उत्तम इमेराल्डको दोस्रो ठूलो भण्डार रहेको छ र विश्वको कुल खपतको २० प्रतिशत आपूर्ति जाम्बियाले गर्दै आएको छ । अहिलेसम्म जाम्बियामा धेरै लगानी खानीका क्षेत्रमा भएको छ । तामा र कोबाल्टको विशाल भण्डारको साथ खनिज क्षेत्रहरूले विकास र थप विस्तारको व्यापक सम्भावना रहेको छ ।

यस्तै, जाम्बियाले कृषि, सिँचाइ र कृषि–व्यवसायमा ठूलो फड्का मारेको छ । अबका दिनमा नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाई निर्यात व्यापार गर्न पनि जाम्बियासँग प्राविधिक सहयोग लिएर अघि बढ्नुपर्ने बस्नेतले जानकारी दिए ।

‘नेपाल सरकारले अहिले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनलाई विशेष प्राथमिकता दिएको छ,’ उनले भने, ‘अबका दिनमा सरकारले लिएको लक्ष्य हासिल गर्ने हो भने जाम्बियाजस्ता देशबाट नेपालमा प्रविधिका साथ लगानी ल्याउन पहल गर्नुपर्छ ।’

दक्षिण अफ्रिकाको प्रिटोरियामा रहेको नेपालको दूतावासले जाम्बिया र नयाँ दिल्लीस्थित जाम्बियाको दूतावासले नेपाललाई आधिकारिक मान्यता प्रदान गरेको हो । तत्कालीन राजा महेन्द्रले सन् १९७० को सेप्टेम्बर १० देखि १२ सम्म तेस्रो एनएएम शिखर सम्मेलनमा भाग लिन जाम्बियाको भ्रमण गरेका थिए ।

नेपाल र जाम्बिया संयुक्त राष्ट्रसंघ, एनएएम, जी–७७, र डब्ल्यूटीओका सदस्य रहेका छन् । दुवै देशहरू अति कम विकसित (एलडीसी) र ल्याण्ड लक (एलएलडीसी) रहेका छन् र विश्वव्यापी विकास सहयोग र साझेदारीको धेरै एजेन्डामा समान धारणा व्यक्त गर्दै आएका छन् ।

दुवै मुलुकले संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा योगदान पुर्याइरहेका छन् । नोभेम्बर २०१७ सम्ममा, नेपालले ५३५३ सेना र जाम्बियाले ११२८ सेनाले संयुक्त राष्ट्र संघको शान्ति सुरक्षा अभियानमा योगदान पुर्याएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − five =