स्थानीय निर्वाचन २०७९

‘स्वतन्त्र’हरूकाे जितकाे अर्थ !

कस्ताे छ दलहरूकाे बुझाइ ?

काठमडौँ । स्थानीय तह सदस्यकाे दाेस्राे निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेदवारीकाे ठूलै लहर देखियो । उम्मेदवारहरूलाई प्राप्त जनसमर्थन पनि कमचाहिँ छैन । स्वतन्त्ररूपमा उम्मेदवार बनेकाहरूले धेरै पालिकाहरूमा बाजी मारिरहेका छन् । त्यसाे त देशकाे संघीय राजधानी काठमाडाैँमा समेत स्वतन्त्र उम्मेदवारले नै जित्ने पक्का भइसकेकाे छ ।

यसबाहेक ११ उपमहानगरपालिकामध्ये ३ वटामा स्वतन्त्र नै हाबी भएका छन् । धनगढी, धरान र जनकपुरमा स्वतन्त्र उम्मेदवारहरू क्रमशः गोपाल हमाल, हर्कराज राई र मनोजकुमार साह सुडी निर्वाचित भएका छन् भने ३ नगरपालिकामा पनि स्वतन्त्रले बाजी मारेका छन् । धनुषको बर्दिवास नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, कालिकोटको खाँडाचक्र नगरपालिकालगायतका पालिकामा पनि स्वतन्त्रहरू नै निर्वाचित बनेका छन् ।

स्वतन्त्रहरूले ५ वटा गाउँपालिकामा समेत जित हासिल गरेका छन् । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेदवार दौलथ कुलुङ राई विजयी  बन्दा ओखलढुङ्गाकाे मानेभञ्ज्याङमा ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन्, उनले पनि स्वतन्त्ररूपमा उम्मेदवारी दिएका थिए । उता डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा पनि स्वतन्त्र उम्मेदवार नै निर्वाचित बनेका छन्, कार्माछोइवेल गुरुङ निर्वाचित बनेका छन् भने कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा पनि स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसीले अध्यक्षमा बाजी मारेका छन् । हुम्लाको चंखेली गाउँपालिकामा पनि स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित बनेकी छन् । उता बैतडीको डिलासैनी गाउँपालिकामा पनि स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी निर्वाचित बनेका छन् ।

यसरी हेर्दाखेरी यसपटकको स्थानीय सदस्यको चुनावमा झन्डै २ प्रतिशत पालिका स्वतन्त्र उम्मेदवाहरूले जितेका छन् । महानगर १, उपमहानगर ३, नगरपालिका ३ र गाउँपालिका ६ गरी स्वतन्त्रहरूले १३ पालिकामा जित हासिल गरेका छन् । यो भनेको कूल पालिकाको १ दशमलब ७२ प्रतिशत हुन आउँछ ।

दलहरूकाे बुझाइ ?

त्यसो त स्वतन्त्रहरूकाे जितपछि दलहरूमा एकखाले छटपटी देखिन्छ । दलका नेताहरूले यसकाे निर्मम समीक्षा गर्ने बताउँदै आएका छन् । हुन पनि स्वतन्त्रहरूले वर्षाैँदेखि स्थापित आफ्नो राजनीतिक साख र गढलाई धुलिसात पार्दै जित निकालेका छन् । यस्ताे अवस्थामा दलहरू हेरेकाे हेर्‍यै हुन बाध्य छन् । यसले उनीहरलाई असह्य राजनीतिक चाेट लागेकाे छ । यसबारे समीक्षा गरेर अघि बढ्ने उनीहरूकाे निष्कर्ष छ अहिलेसम्म ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग यसपटक स्वतन्त्रहरूबाट दलहरूले धेरै कुरा सिक्नुपर्ने देखिएको बताउँछन् । ‘कतिपय मुद्दाहरूमा स्वतन्त्रहरूबाट दलहरूले सिक्नैपर्ने देखियो,’ उनले मकालुखबरसँग भनेका छन्, ‘यो भन्न हिच्किचाउनु हुँदैन । सत्य कुरामा कोही-कसैले लाज मान्नुपर्ने छैन । सिक्ने कुरामा सिक्नैपर्छ ।’

स्वतन्त्रहरूको जितलाई सकारात्मक रूपमा लिनुपर्ने उपाध्यक्ष नेम्वाङ्गको भनाइ छ, भन्छन्— ‘यसले दलहरूलाई सवक सिकाएको छ । यस्ता कुराहरूलाई दलहरूले गम्भीरतापूर्वक लिनुपर्छ । यसमा अन्यथा मान्नुहुँदैन ।’ काठमाडौँ र धरानको उदाहरण दिँदै नेम्वाङ्गले थपे, ‘अरु ठाउँका त ठिकै हुन् । यी दुईठाउँमा त राजनीतिक दलका भन्दा स्वतन्त्रहरूको मुद्दा जनताले मन पराएकै हुन् । त्याे भएर उहाँहरूलाई जिताए जनताले । यसबाट राजनीतिक दलहरूले सिक्ने कि नसिक्ने ? यसबारे अब सबै दलहरूकाे ध्यान जानु जरुरी छ ।’

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेल पनि स्वतन्त्रहरूको जितलाई दलहरूले गम्भीरतापूर्वक लिनुपर्ने बताउँछन् । स्वतन्त्रहरूको जित जनताले दलहरूलाई सच्चिन भनी दिएको ‘सुझाव’ भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘दलहरूले सच्चिनुपर्ने रहेछ है भनेर बुझ्नुपर्छ । यसरी नहुने रहेछ भनेर दलहरूले साेच्नुपर्छ । याे जनताकाे अभिमतले भनेकाे कुरा हाे, सम्झाएकाे कुरा हाे ।’

दलहरूकै कमजोरीका कारण जनताले स्वतन्त्र रोजेको तर्क नेता पोखरेलको छ । ‘चुनावका बेलाचाहिँ ठूल्ठूला कबुल गर्ने र पछि नपुर्‍याउने संस्कार छ हामीकहाँ । याे प्रवृत्तिले पनि दलहरूलाई कमजाेर बनायाे । त्यसैले पनि जनताले दलहरूलाई पाठ सिकाएका हुन् । यसबाट दलहरूले सिक्नुपर्छ ।’ युवाशक्तिको राजनीतिक सक्रियताले पनि याे कुरामा प्रभाव पारेकाे विश्लेषण नेता पाेखरेलकाे छ । ‘पछिल्लो समयचाहिँ युवाशक्ति पनि राजनीतिमा सक्रिय छ । ऊ सक्रिय छ, बुझ्ने छ । यसले पनि यी कुराहरूमा प्रभाव पारेकाे छ ।’

सत्तारुढ दल नेपाली कांग्रेसकाे बुझाइ पनि खास फरक छैन । नेता रमेश लेखक भन्छन्, ‘स्वतन्त्ररूपमा ज-जसले जित्नुभयाे यसलाई सम्मान गर्नुपर्छ । यहाँबाट काेही-कसैले अत्तालिनुपर्ने छैन । यसमा दलहरूले समीक्षा गर्ने कुरा फरक हाेला; तर काेही कसैले यसप्रति नराम्राे मान्नुपर्दैन ।’

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि उही दाेहाेर्‍याउँछन् । स्वतन्त्ररूपमा जितेका जनप्रतिनिधिहरूलाई जनतकाे पक्षमा काम गर्न दलहरूले सघाउनुपर्ने उल्लेख गर्दै उनले भनेका छन्, ‘एक्लै जितेकाे छ कसरी काम गर्छ, दलहरूले समर्थन गर्दैनन् हाेला भन्ने यी प्रश्नहरूबाट टाढा हुँदै जनताकाे पक्षमा सबै मिलेर काम गर्नुपर्छ । यसमा धेरै कुराहरू नै छैनन् ।’

तर राजनीतिक रूपमा हेर्दाखेरी भने यसप्रति दलहरूकाे ध्यान खिचिनुपर्ने महामन्त्री शर्मा सम्झाउँछन्, भन्छन्— ‘राजनीतिक काेणबाट हेर्दाचाहिँ यसप्रति दलहरूकाे गम्भीर ध्यानाकर्षण हुनुपर्छ ।’

स्वतन्त्रहरूको जित, दलहरूलाई झापट

यसपटकको स्वतन्त्रहरूको जितले दलहरूलाई ‘झापड’ हानेको बताउँछन् राजनीतिशास्त्री तथा विश्लेषक लोकराज बराल । ‘स्वतन्त्रहरूको जितबाट दलहरूले लेसन लिनुपर्छ,’ उनले भने, ‘सपना मात्रै बाँड्ने, काम नगर्ने दलका नेताहरूले यसबाट सिक्नैपर्छ । पछिल्लो समय राजनीति नै छाडा बनिरहेको बेलामा स्वतन्त्रहरूकाे याे जितले दलहरूलाई राम्रो लेसन दिएकाे छ ।’

बराल स्वतन्त्रहरूको जित विगतमा दलहरूले जनचाहनाअनुरूप काम नगर्नुको परिणाम पनि रहेको औंल्याउँछन् । जनताले दलहरूले गरेनन्, अब स्वतन्त्र पनि हेरौँ भनेर मत फेरेको बताउँछन् उनी, भन्छन्, ‘सपना बाँड्ने दलहरूलाई हेरियो । अब स्वतन्त्रहरूलाई हेरौँ भनेर पनि जनताले भनेका छन् । त्यसैले उनीहरूले आफ्नाे मताधिकारकाे प्रयाेग यसरी गरेका छन् । याे भनेकाे दलहरूलाई दह्राे झाप’

अब दलहरू सचेत हुनुपर्ने बरालको भनाइ छ । उनले स्वतन्त्रहरूको जितले राजनीतिक दलहरूलाई झापट हानेको बताएका छन् । ‘स्वतन्त्रहरूकाे जितले दलहरूलाई बेजाेड झापट हानेकाे छ । याे भनेकाे दलहरू सच्चिनुपर्छ भनेर जनताले भनेका छन्,’ उनले भने ।

राजनीतिक विश्लेषक हरि राेका जनता सचेत भइसकेकाे र अबका विकृति-विसङ्गतिलाई उनीहरूले नजरअन्दाज नगर्ने बताउँछन् । ‘दलहरूले गर्छाैँ मात्रै भन्ने तर नगर्ने कुराबाट जनता चिढिएका छन्,’ उनले भने, ‘अब उनीहरू सचेत भइसकेका छन् । यस्ता कुराहरूलाई नजरअन्दाज गर्दैनन् अब; यसकाे मतलब दलहरू अब यसैगरी बसेर हुँदैन/रहेर हुँदैन ।’

जनमतले दलहरूकाे राजनीतिक प्रवृत्तिमा सकारात्मक परिवर्तनकाे माग गरेकाे विश्लेषण विश्लेषक राेकाकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *