प्रदेश १ का व्यवसायीको नजरमा नीति तथा कार्यक्रम- ‘सन्तुलित तर, कार्यान्वयनमा शंका’

विराटनगर । प्रदेश १ का उद्योगी व्यवसायीले सरकारको नीति तथा कार्यक्रमलाई सन्तुलित र सकारात्मक रूपमा लिएका छन् । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वका उद्योगी व्यवसायीले प्रदेश १ र व्यवसायीका लागि केही सकारात्मक रहेको बताएका हुन् ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले प्रदेश १ को सुख्खा बन्दरगाहमा कार्गो रेल सञ्चालन, पूर्व पश्चिम विद्युतीय रेल मार्ग, आईसीटिको बाँकी काम सक्न भनेर नीति तथा कार्यक्रमले समेट्नुले केही आशा गर्न सकिने बताए । ‘औद्योगिक ग्राम सञ्चालनका लागि निजी क्षेत्रसँगको साझेदारी गर्ने भनिएको छ,’ उनले भने, ‘सरकारसँग पटक पटक निजी क्षेत्रले उठाउँदै आएको कुराहरू समेटिएका छन् ।’

उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राख्ने भनेर अहिलेको नीतिले समेटेको भएपनि बजेटलाई जोडेर जाँदा सन्तुलित हुने उनको तर्क छ। ‘निर्यात मूलक उद्योगलाई विद्युतमा सहुलियत दिने भन्ने खालको कुरालाई हामीले सहज रूपमा लिएको छौँ,’ उनले भने, ‘उद्योग संगठनले सञ्चालन गर्दै आएको स्टार्ट अप व्यवसाय सहजीकरण गर्ने भनिएको छ यसले नयाँ व्यवसायी उत्पादनमा सहयोग पुर्‍याउँछ ।’

प्रधानमन्त्री औद्योगिक प्रवर्द्धन कार्यक्रम आयो भने यसले उद्योगलाई प्राथमिकतामा राख्ने देखिने प्याकुरेलको तर्क छ । उत्पादन दशक घोषणा गर्ने भनिएको छ यसले उद्योग व्यवसायलाई सहजता र प्राथमिकतामा राहेको उनको प्रतिक्रिया छ । उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले भने सरकारको नीति तथा कार्यक्रमलाई खासै प्रभावकारी रूपमा लिएका छैनन् ।

नीति तथा कार्यक्रमले धेरै क्षेत्र समेटेको भएपनि कार्यान्वयनको विषय प्रमुख हुने उनको भनाई छ । ‘नीति तथा कार्यक्रमले विकास निर्माण, औद्योगिक क्रान्ति र आर्थिक समृद्धिमा खासै महत्त्व दिएको देखिँदैन,’ उनले भने, ‘बोलेका कुराहरू कार्यान्वयन भए पनि केही हदसम्म आशा गर्न सकिन्थ्यो तर कार्यान्वयनमा पटकै विश्वास छैन ।’ अहिलेको नीति तथा कार्यक्रमलाई नै आधार मानेर धेरै भन्नभन्दा पनि पूर्ण बजेट आएपछि मात्र कसरी अघि बढ्छ भन्न सकिने उनको तर्क छ ।

उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले सरकारले ल्याएको नीति तथा कार्यक्रम केही नयाँ र केही पुरानै खालको रहेको प्रतिक्रिया दिए । प्रदेश १सँग जोडिएर आएका विमानस्थलकाे नयाँ टर्मिनल भवन बनाउने कुरा, विराटनगरदेखि सुख्खा बन्दरगाहसम्म कार्गो रेल सञ्चालन गर्ने कुरा पुरानै भएको उनको प्रतिक्रिया छ ।

कार्गो रेल सञ्चालनले उद्योगी व्यवसायीलाई ढुवानीमा लागत घट्ने उनको भनाई छ । उनले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने सरकारको नीतिलाई सकारात्मक लिएका छन् । नीति तथा कार्यक्रमले औद्योगिक क्षेत्रमा लगानी बिस्तार देखि उत्पादनसम्म र कृषि क्षेत्र विस्तारलाई छोएको बताए । ‘औद्योगिक उत्पादनको लागि विद्युतमा सहुलियत गर्ने भनेको छ, यो राम्रो छ,’ उनले भने, ‘घरजग्गा कारोबार कम्पनी मार्फत गर्नु राम्रो हो ।’

प्रदेश १ का उद्योगी पवनकुमार सारडा उद्योगको लागि जग्गा अधिग्रहणको समस्यालाई सहजीकरण गर्ने खालको नीति उद्योगीको लागि सकारात्मक भएको बताए । ‘अहिले पनि धेरै जग्गा आवश्यक पर्ने उद्योगहरूलाई जग्गा अधिग्रहणमा समस्या थियो, उनले भने, ‘सरकारले नीतिले केही सजिलो गराएको छ ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रम सबै राम्रो देखिएपनि कार्यान्वयनमा आशंका रहेको उनको भनाई छ । ‘बोलेका कुरा कार्यान्वयन गर्ने कुरा निक्कै चुनौती पूर्ण छ,’ उनले भने, ‘बोल्ने मात्र तर कार्यान्वयन कमै भएको देखिन्छ, पूर्ण कार्यान्वयनमा जाने हो भने नेपाल समृद्ध हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *