सरकारले विपन्न परिवारलाई परिचयपत्र दिने

काठमाडाैँ । सरकारले गरिब तथा विपन्न परिवारलाई परिचयपत्र दिने भएकाे छ ।
मंगलबार राष्ट्रपति भण्डारीले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पहिचान गरिएका गरिब तथा विपन्न घर परिवारलाई राज्य सुविधा परिचयपत्र वितरण गर्ने तयारी भएकाे बताएकी हुन् ।
त्यस्ताे परिचय पत्रका आधार गरिब तथा विपन्न परिवारकाे सुविधालाई नियमित गरिने उनले बताइन् ।
राष्ट्रिय प्राथमिकताका आधारमा विकास कार्यक्रम र आयोजनालाई बजेटसँग आवद्ध गरिने
पूर्व तयारी नभएका र आयोजना बैंकमा प्रविष्ट नभई त्यस्ता आयोजनामा बजेट विनियोजन गरिने छैन ।
त्यस्तै, सरकारले कर प्रणालीको पुनरावलोकन गरी स्वच्छ र पारदर्शी र लगानी तथा व्यवसायमैत्री बनाउने भएकाे छ । वैदेशिक सहायतालाई उच्च प्रतिफल युक्त, रणनीतिक तथा प्रतिफलमूखी आयोजनामा परिचालन गरिने सरकारले जनाएकाे छ ।
त्यस्तै, डिजिटल बैंकिङको अवधारणा अनुरुप सबै विद्युतीय कारोबार विद्युतीय माध्यमबाट हुने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
उत्पादनशील र रोजगारीमूलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाइने, प्रतिस्पर्धी वस्तु तथा सेवा उत्पादन र वितरण गर्न नीति क्षेत्र, सक्षम भएको क्षेत्र बीचआपसमा गाभ्ने नीति सरकारकाे छ ।
पूँजी बजारको विकास र विस्तारका लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण वृद्धि र नियामक निकायको क्षमता अभिवृद्धि गर्ने, आगामी वर्ष नेपालको क्रेडिट रेटिङ सम्पन्न गर्ने, बीमालाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गरिने, आर्थिक विकास र गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई उद्यमशीलता, उत्पादन र रोजगारीसँग जोडिने लगायतका याेजना समेत सरकारले अघि सारेकाे छ ।
त्यस्तै, समान प्रकृतिका सहकारीलाई गाँभ्नेसमेत सरकारकाे नीति रहेकाे छ ।








