सरकारकाे घाेषणा- २ वर्षभित्र भूमिहीन र सुकुम्बासीकाे समस्या समाधान

काठमाडाैँ । सरकारले दुई वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने घोषणा गरेको छ । मंगलबार संघीय संसद्‌काे दुवै सदनसमक्ष नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्ताे घाेषणा गरेकी हुन् ।

उनले मुक्तकमैया र मुक्त हुन बाँकी हरुवा-चरुवाका लागि स्थानीय तहले रोजगारी र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने पनि घोषणा गरेकी छन् । त्यस्तै राष्ट्रिय निकुञ्ज छेउछाउ र नदी किनारका विपन्नका लागि लक्षित कार्यक्रम सञ्चालनमा ल्याइने पनि सरकारले घोषणा गरेको छ भने जग्गा नापजाँच गर्न छुट भएका जग्गाको जग्गाधनी पूर्जा उपलब्ध गराउने, भू-उपयोग नीति र कानूनअनुसार भूमि वर्गीकरण गरी संघ, प्रदेश र स्थानीय तहको भू-उपयोग योजना तयार गरिने पनि सरकारले घोषणा गरेको छ ।

नेपाली उत्पादन र उपभोग अभिवृद्धि दशक घोषणा

यस्तै सरकारले नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक घोषणा गरेको छ । नेपाली उद्योग नेपालमै रोजगार, आफ्ना उद्योग आफ्नै व्यापार भन्ने नाराका साथ नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक प्रारम्भ गरिने उल्लेख छ ।

यो अभियान कार्यान्वयनका लागि प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस कार्यक्रमका लागि कर तथा भन्सार महसुल छुट, निर्यात प्रवर्द्धन, प्रतिस्पर्धी सीप विकास, व्यवसायिक सहजीकरण, साझा भौतिक पूर्वधार जस्ता काम गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै सरकारले आगामी वर्षभित्र हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जाेड्ने घाेषणा गरेकाे छ ।

♦ याे पनि:
   प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना हुने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *