नवनिर्वाचित गाउँपालिका अध्यक्ष गरे निःशुल्क विद्युत दिने घोषणा

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिपेन पोमूले पालिकाभरिका नागरिकलाई विद्युत् महसुल छुट गर्ने घोषणा गरेका छन् ।

सोमबार पदभार ग्रहण गर्दे उनले आगामी आर्थिक वर्षदेखि लागूहुने गरी नागरिकलाई निःशुल्क विद्युत् उपल्ब्ध गराउने घोषणा गरेका हुन् ।

गाउँपालिकाभित्रका नागरिकले सामान्य बिजुलीको बिल तिर्न जिल्ला सदरमुकाम फुङ्लिङ आउनुपर्ने बाध्यता रहेको भन्दै त्यसबाट छुटकारा दिलाउन यस्तो निर्णय गरेको पोमूले बताए । यस्तै विद्युतीकरण हुन बाँकी रहेको गाउँमा पनि छिट्टै विद्युत् विस्तार गर्ने उनले जानकारी दिए ।

“गाउँपालिकाभित्रका नागरिकले न्यूनतम विद्युत् महसुल तिर्न पनि सदरमुकाम पुग्नुपर्ने बाध्यता छ, अब सरकारी कार्यालय, उद्योग र सङ्घ संस्थाबाहेकको विद्युत् महसुल छुट हुनेछ”, उनले भने । करिब दुई हजार २०० घरधुरी रहेको यस गाउँपालिकालाई उज्यालो पालिका बनाउने योजना रहेको उनले बताए ।

उनले यही आर्थिक वर्षभित्रै प्राविधिक अध्ययन गरी आगामी आवबाट लागू हुनेगरी पालिकाभरिका नागरिकलाई विद्युत् महसुल छुट दिने पहिलो निर्णय गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *