प्रदेश सांसद छाडेर मेयर भए बुढाथोकी

विराटनगर । प्रदेश सांसदबाट राजीनामा दिएका झापाका गोपालचन्द्र बुढाथोकी मेयरमा निर्वाचित भएका छन् । बुढाथोकी झापाको मेची नगर नगरपालिकाकाको मेयरमा निर्वाचित भएका हुन् ।

मंगलबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेबाट मेयरका उम्मेदवार बुढाथोकीले २६ हजार ४७८ मत पाएर निर्वाचित भएका हुन् । मेची नगरमा गठबन्धनबाट मेयरका उम्मेदवार बनेका नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरेका छन् ।

झापाको निर्वाचन क्षेत्र नं. १ (ख) बाट निर्वाचित सांसद बुढाथोकीले मेची नगरको मेयर लड्न गत वैशाख ११ गते सभामुख समक्ष राजीनामा दिएका थिए । मेची नगरको उपमेयरमा पनि एमालेकै मीना कुमारी पोखरेल निर्वाचित भएकी छन् । उनले २१५९० मत प्राप्त गरेकी हुन् ।

उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका प्रकाश भण्डारीले १२ हजार ८१८ मत पाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *