पोखरामा गठबन्धनका धनराजलाई एमालेकै भोट

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनका धनराज आचार्य जित नजिक पुगिसकेका छन्।

५ वडाको अन्तिम नतिजा आउन बाँकी रहँदाहालसम्म २८ वडाको भने नतिजा सार्वजनिक भइसकेको छ। हालसम्म कांग्रेसले २० र एमालेले ८ वडाको अध्यक्ष जितेको छ। ६ वटा वडामा कांग्रेसले अध्यक्ष मात्रै जितेको छ भने एमालेले ४ सदस्य जितेको छ। वडा नं ७, १६, १९, २४, २५ र ३१ नं वडाको अध्यक्ष कांग्रेसले जित्दा वडा सदस्यहरु सबै एमालेले जितेको छ।

मेयरमा आचार्यले ९ वटा वडामा अग्रता गुमाएका छन् भने बाँकी सबैजसो वडामा अग्रता लिएका छन्। सबैभन्दा बढी १६ नम्बर वडामा ९ सय ५४ मत गुमाएका आचार्यले ५ मा २ सय ८, ८ मा १६, १२ मा ७५, १३ मा १ सय १३ मतले पछि परे। यस्तै, १५ मा ३ सय ९३, २० मा २ सय ५१, २५ मा ५० र २९ नम्बर वडामा ३५ भोट कम ल्याएका छन्। बाँकी सबै वडामा उनको अग्रता छ। उनले सबैभन्दा बढी २६ नम्बर वडामा ५ सय ४७ मतान्तरको अग्रता लिए। २७ मा ५ सय ३० र ९ मा ५ सय मतको अन्तरले अग्रता लिए।

प्राप्त मत हेर्दा धनराजको भोट गठबन्धनकी उपमेयर उम्मेदवार कोपिला रानाभाटको भन्दा करिब ५ सय कम छ। अधिकांश यस्ता वडाहरु छन्, जहाँ कोपिलाले नपाएको भोट धनराजले पाएका छन्। १६ वटा वडामा कोपिलाले भन्दा धनराजले बढी मत ल्याए। १७ नम्बर वडामा त कोपीलाको भन्दा धनराजको ३ सय ७७ मत बढी आयो। एमालेको गढ मानिएको भएपनि यहाँ धनराजले अप्रत्यासित रूपमा मतान्तर बढाए।

एमाले र गठबन्धनका उपमेयरबीच ६ सय ७५ मतको अन्तर रहेको यहाँ मेयरमा भने गठबन्धनका उम्मेदवारले २ सय १० मतको अग्रता लिए। जुन एमालेका लागि निकै घातक छ। यहाँ एमालेकी उपमेयर मन्जु गुरुङ भन्दा मेयर उम्मेदवार थापाले ५ सय ८ मत कम ल्याए। अन्य धेरै वडाहरू यस्तै छन्, जहाँ धनराज र मन्जुको अग्रता हुँदा कृष्ण थापा र कोपीला रानाभाट पछि परेका छन्।

धनराजले कांग्रेसको भोट सहित एमालेको मत बढी तानेका कारण उनको जित सुनिश्चित भएको हो। कोपिलाले भने कांग्रेस बाहेकको मत काट्न सकिनन्। त्यसैले, यहाँको मेयरमा गठबन्धनका धनराज र उपमेयरमा एमालेकी मन्जु करिब जित नजिक पुगेकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *