अब खाना पकाउने ग्यासमा अनुदान दिन सकिन्न : बडू

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले खाना पकाउने ग्यासमा अनुदान दिन नसकिने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बडूले नेपाल आयल निगम आर्थिक रुपमा टाट पल्टिने अवस्थामा रहेकोले खाना पकाउने ग्यासमा अनुदान दिन नसकिने बताएका हुन् ।

उनका अनुसार हाल निगमको घाटा २३ अर्ब रुपैयाँ पुगिसकेको छ । घाटा कम गर्न स्वचालित मूल्य प्रणाली कायम गर्नुको विकल्प नभएको समेत उनले बताए ।

‘पेट्रोलियम पदार्थको मूल्य बढाउँदा सरकारमाथि दबाब पर्छ,’ उनले भने, ‘मूल्य नबढाउँदा निगमको घाटा बढिरहेको छ । खाना पकाउने ग्यासमा अब सधैँ अनुदान दिन सकिँदैन । त्यसको साटो बिजुली प्रयोगमा अनुदान दिनेबारे सरकारले गृहकार्य गरिरहेको छ ।’

विद्युत् नेपालको आन्तरिक उत्पादन नै भएकोले विद्युत्मा अनुदान दिँदा समस्या नहुने उनको भनाइ छ ।

पेट्रोलियम आपूर्तिको जिम्मेवारी निजी क्षेत्रलाई समेत दिने गरी तयारी अघि बढाइरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *