धरानेको नयाँ ‘टेस्ट’ साम्पाङको आगमन

विराटनगर । धरान देशकै चर्चित नगरमध्येको एक हो । लाहुरेको सहर हो धरान । देशकै ११ वटा उपमहानगरपालिका मध्येको एक हो- धरान । यही धरान उपमहानगरपालिकाले स्वतन्त्र मेयर पाएको छ । अहिलेसम्म कुनैपनि दलमा नदेखिएका, कमै मात्र नाम सुनिएका व्यक्तिलाई नागरिकले नयाँ प्रयोगस्वरूप मेयरका रूपमा निर्वाचित गरेका छन् ।

धरान आफैँमा फरक पहिचान बोकेको सहर हो । लाहुरेको सहर भनेर चिनिने धरानले यो पटकको चुनावबाट नयाँ प्रयोग गरेर मेयरमा स्वतन्त्र व्यक्तिलाई जिताएको हो । मेयरमा निर्वाचित भएका हर्कराज राई (साम्पाङ)को अभियान थियो सुशासन र खानेपानी । उनी जहाँ जान्थे, त्यही विषय उठाउँथे । लामो समयसम्म त्यस्ता विषयलाई निरन्तर नागरिकको साथ र सहयोगमा अघि बढाउँथे । कुनै समय यस्तो थियो, अभियान चलाइरहँदा उनलाई पागलको उपमासमेत दिएको स्थानीय पूर्ण साम्पाङ बताउँछन् ।

धराने जनताको समस्या र बेथिति अनि भ्रष्टाचारको विरुद्धमा आवाज उठाइरहँदा झुटो आरोप लगाएर उनलाई थुनियो तर कहिल्यै हिम्मत हारेनन् । धरानवासीहरूको समस्यालाई आफ्नै समस्या ठानेर उनी निरन्तर लडिरहे र झन्डै एक दशकको अथक मेहनतबाट धरानको स्वतन्त्र मेयरमा निर्वाचित भएका छन् ।

को हुन् साम्पाङ ?

खोटाङ जिल्लाको खार्तम्छामा २०३९ सालमा हर्कराज राईको जन्म भएको हो । गाउँमै रहेको शुक्रबारे माविबाट एसएलसी दिएपछि २०५५ सालतिर उच्च शिक्षा अध्ययनको लागि उनी धरान आएका हुन् । महेन्द्र बहुमुखी क्याम्पसबाट उनले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातक गरे । पूर्व ब्रिटिस लाहुरेका छोरा हर्कले केही समय धरानमा ट्युसन सेन्टर सञ्चालन गरे । अंग्रेजी र कम्प्युटर पढाउने काम गरे । रोजगारीको लागि ६ वर्षसम्म इराक र अफगानिस्तानमा पनि उनले बिताए । साहित्यमा रुचि भएका उनी आफैँ गीत लेख्छन् र गाउँछन् पनि । उनले एक दशक अघि नै एउटा एल्बम सार्वजनिक नै गरिसकेका छन् । उनकाे एल्बम ‘मिसिङ हर्ट’ले उनलाई धेरै चिनाएन तर उनको कलालाई चिनाउने काम गर्‍यो । उनी चाहन्छन्, देशमै केही गरौँ र समाजको लागि नयाँ गरेर देखाऊँ ।

उनले २०७२ सालको सेरोफेरोबाट सामाजिक अभियानलाई निरन्तर अघि बढाउँदै आए । मदन भण्डारी राजमार्गले धनकुटे रोड किनारका सयौँ परिवारलाई उठीबास लगाउने भएपछि संघर्ष समिति बनाएर आन्दोलनको सहसंयोजकको नेतृत्व गरेपछि उनी सशक्त अभियन्ताको रूपमा चिनिए । त्यसपछि साम्पाङले धरानेका सामाजिक मुद्दाहरू लिएर हिँड्न थाले ।

भ्रष्टाचार, बेथिति, खानेपानी, सरसफाइ जस्ता जनताको जीवनसँग जोडिएका स–सानो विषयमा आवाज उठाइरहे । उनी सीमा अतिक्रमण र एमसिसीविरुद्ध पनि एक्लै प्रदर्शनमा हिँडे । सर्दुखोला उत्खननको विरुद्धमा त्यहाँ जाँदा ठेकेदारको समूहले उनका समर्थकहरूलाई आक्रमण गरेर घाइते बनायो । प्रहरीले उल्टै उनी र उनका साथीहरूलाई मुद्दा चलायो ।

खानेपानी पाइप तोडफोड गरेको आरोपमा उनलाई पक्राउ गरियो । उनले गर्ने हरेक गतिविधि धराने जनताले नियालिरहेका थिए । २०७६ सालमा धरानमा भएको मेयरको उपनिर्वाचनमा ४२२ मत ल्याएका उनलाई २०७९ सालको निर्वाचनबाट धरानेले न्याय गरेका छन् । कुनै राजनीतिक दलमा नदेखिएका उनी अहिलेसम्म पार्टीको झण्डा नै नबोकेको बताउँछन् ।

विकल्प खोजिरहने धरान

विसं. २०१७ सालदेखि कम्युनिस्टले जित्दै आएको धरानमा २०७६ सालको उपनिर्वाचनबाट कांग्रेसलाई मेयर बनाएर धरानले नयाँ अनुभव लियो । कांग्रेसलाई जिताउँदा पनि अपेक्षाकृत काम हुन सकेन । नागरिकका इच्छा र आकांक्षाभन्दा पनि पार्टी र आफ्ना आसेपासेलाई मात्र मिलाएको भन्दै मेयर तिलक राईको आलोचना हुँदै आयो । पार्टी कार्यकर्ता भर्ती केन्द्रको रूपमा विकास गर्न खोजिएपछि धरानेले अर्को विकल्पको खोजीमा साम्पाङ देखिए । खानेपानी माग्न जाँदा प्रहरी लगाउने, मुद्दा चलाउने गरेपछि जनतामा वितृष्णा बढेर गयो । जनप्रतिनिधिहरू जो सत्तामा पुगे पनि सत्ताका दुरुपयोग मात्र गरेपछि आफू चुनावी मैदानमा होमिएकोमा नागरिकले विश्वास गरेर जिताएको उनको भनाई छ ।

निरन्तर खानेपानीको मुद्दा उठाइरहेका छन् साम्पाङ । आफू मेयरमा निर्वाचित भएमा खानेपानीको चुहावट र कालोबजारी तत्काल रोक्ने कामलाई प्राथमिकता दिने उनले बताए । राजनीतिक दलहरूले अपराधलाई लुकाउने गरेकोले आफू कुनै पार्टीमा नजाने उनको भनाई छ । तर, आस्था र सिद्धान्तको हिसाबले आफू कम्युनिजम मन पराउने साम्पाङ बताउँछन् । न कुनै संगठन, न राजनीतिक दलहरूको जस्तो अघिपछि हिँड्ने ठूलो संख्यामा कार्यकर्ता वा समर्थक छन् तर जनसरोकारको विषय र समसामयिक मुद्दामा निरन्तर खबरदारी गरिरहने साम्पाङको परिचय सामाजिक अभियन्ताको मात्र थियो । आजदेखि उनको परिचय फेरिएको छ । अब उनी धरानको मेयरको रूपमा स्थापित हुनेछन् ।

निर्वाचित भएसँगै प्रतिक्रिया दिँदै साम्पाङले भनेका छन्, ‘कुनै पार्टी व्यक्तिले हारेको छैन, धराने सबैले जितेका छन् ।’ हिजो आन्दोलनकारी आन्दोलन गर्दै हिँडेको व्यक्ति अब काम गर्ने ठाउँमा पुगेकोले नागरिकको साथ र सहयोगले समन्वयकारी भूमिका रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् उनले । आफ्नो जितलाई नागरिकको जित भएको बताउँदै उनी भ्रष्टाचार न्यूनीकरण र निवारणमा लाग्ने बताउँछन् ।

साम्पाङको आगमन : दलप्रतिको वितृष्णाको रूप

धरानमा साम्पाङको विजयलाई लिएर फरक-फरक रूपमा विश्लेषण गर्न थालिएको छ । कुनैपनि पृष्ठभूमि नै नभएका एकजना व्यक्ति आन्दोलन, नागरिकको समस्या र दुःखसुखको आडमा स्वतन्त्र उम्मेदवार भएर उपमहानगरपालिका विजयी हुनु भनेको जनताले दलहरूप्रति देखाएको वितृष्णा भएको विज्ञको बुझाई छ । विश्लेषक आनन्द आचार्यले काकाकुल धरानेका अगाडि एउटा खानेपानी, सुशासनको मुद्दाले साम्पाङलाई स्थापित गरिदिएको बताउँछन् । ‘यो धरानको मात्र हैन, देशका धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारहरू आएको देखिन्छ’, उनले भने, ‘यो भनेको राजनीतिक दल र नेतृत्वले जनअपेक्षाअनुसार काम गर्न नसकेको, जनतामा असन्तुष्टि चुलिएको संकेत हो ।’

धरानमा साम्पाङ र काठमाडौँमा बालेनहरूको उपस्थितिले राष्ट्रिय राजनीतिमा चुनौती दिएको उनको बुझाई छ ।

नागरिकलाई भोट बैंकको रूपमा मात्रै देख्ने, काम नगर्ने, जनताको सेवासुविधामा ध्यान नदिने, नागरिकप्रति संवेदनशील नहुने लगायतका असन्तुष्टिको रूपमा स्थानीय निर्वाचनको मतपरिणामलाई हेरिनुपर्ने आचार्यको ठम्याइ छ । ‘असन्तुष्टिको बदलाको रूपमा हर्क साम्पाङ जन्मिएका छन्’, उनले भने, ‘नागरिकका स–साना समस्या पनि दलहरूको प्राथमिकतामा नपरेपछि नागरिकले विकल्प खोजेका हुन् ।’

हिजो एउटा ट्याम्पो लिएर नागरिक आन्दोलनका अगुवाइ गरेका साम्पाङ अब नगरपालिकाको स्रोत र साधन भएको ठाउँमा पुगेकोले धेरै काम गर्नसक्ने उनको भनाई छ । अब नगरपालिकालाई राम्रो बनाउनको लागि विवेक पुर्‍याएर काम गर्नसके भने धेरै महत्त्वपूर्ण कामहरू गर्नसक्ने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *