कुनै सुविधा नलिने दमक नगर प्रमुखको घोषणा

झापा । झापाको दमक नगरपालिकामा निर्वाचित नगर प्रमुख रामकुमार थापाले नगरपालिकाबाट आफूले पाउने पारिश्रमिकलगायत कुनै पनि सेवा वा सुविधा नलिने घोषणा गरेका छन् ।

निर्वाचन आयोगद्वारा निर्वाचितहरुलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै उनले जनप्रतिनिधि जनताको सेवक भएको प्रमाणित गर्न आफूले अनावश्यक सेवा वा सुविधा नलिने स्पष्ट पारेका छन् ।

जनताको पक्षमा निस्वार्थ काम गर्नाका लागि आफूले कुनै सुविधा नलिने बताउँदै नगर प्रमुख थापाले जनताले तिरेको पैसाबाट आफूले चियासमेत नखाने र कसैलाई नखुवाउने पनि उल्लेख गर्नुभयो । दमकको समृद्धि र विकास गर्न आफनो एकमात्र ध्येय रहेको भन्दै उनले स्थानीय सरकारले हरदम जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए ।

राप्रपासहितको सत्तारुढ गठबन्धनबाट उनी राप्रपाका तर्फबाट नगर प्रमुख र उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई प्रसाइँ निर्वाचित भएका थिए । दमकका १० वडामध्ये गठबन्धनले १,४ र १० जित्यो भने एमालेले अन्य ७ वटा वडामा जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *