धनगढीमा पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण : गोपाल हमाल (अन्तर्वार्ता)

काठमाडाैँ । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा गोपाल हमाल भारी मतान्तरले विजयी भएका छन् । उनले गठबन्धनकाे तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडलाई पराजित गरेका हुन् ।

यसअघि २०७४ को निर्वाचनमा विजयी भएका प्रतिस्पर्धीलाई नै हमालले यसपटक १२ हजार बढी मतान्तरले पराजित गर्न सफल भए । त्यसबेला उनी वडसँग करिब अढाई हजार मतले पराजित भएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य एवम् कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका हमालले धनगढीलाई ‘नमूना शहर’ बनाउने उद्घोष गरेका छन् ।

मेयरमा विजयी भइसकेपछि हमाले अगाडि गर्ने कामकारबाही र योजनाका बारेमा सुदूरपश्चिम प्रदेशका मकालुखबरकर्मी अंकुश कुँवरले थप कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

गठबन्धनका उम्मेदवारलाई पनि भारी मतान्तरले पराजित गर्नुभयो, यो नतिजा आशा गरेअनुरुप हाे ? 
अघिल्लो पटकको निर्वाचनमा पराजित भइसकेपछि हामीले नगरवासीसँगकाे सम्बन्धलाई अझ मजबुद बनाउँदै गइरहेका थियाैँ । गाउँ/गाउँसम्म जाने र अवस्था बुझ्ने काम भइरहेको थियो । त्यसक्रममा जनताले मलाई नगरप्रमुखमा हेर्न चाहिरहेको भान हामीले पाइसकेका थियाैँ । सोहीअनुसार सल्लाह सुझावहरू पनि प्राप्त भइरहेका थिए । उम्मेदवारी घोषणा गरिसकेपछि पनि हाम्रो पक्षमा माहोल राम्रो बनेको थियो । जसले गर्दा म राम्रै मतले जित्छु भन्ने लागिसकेको थियो । यति नै मत आउला भन्ने भन्दा पनि फराकिलो मतान्तरले जित्ने विश्वास भने पक्कै थियो ।

अब धनगढी उपमहानगरपालिकामा पहिलो काम के गर्नुहुन्छ ?
मेरो पहिलो प्राथमिकतामा सचिवालय सुदृढीकरण हो । जबसम्म सचिवालय सुदृढीकरण हुँदैन तबसम्म कुनैपनि योजनाहरू सही तरिकाले कार्यान्वयन हुँदैनन् । त्यसका लागि कार्यालय प्रमुख र विभिन्न शाखाका कर्मचारीसँग सल्लाह सुझाव पनि लिन्छु । सचिवालयलाई चुस्त, दुरुस्त, पारदर्शी र जनमुखी बनाउँछु । साथै जति पनि अधुरा योजनाहरू छन् तिनलाई सम्पन्न गर्ने काम पनि प्राथमिकतामा राख्नेछु ।

तपाईं एक्लो स्वतन्त्र मेयरका रूपमा आउनुभएको छ, कार्यापालिकामा फेरि कांग्रेसकै बहुमत हुँदैछ, काम गर्न सहज हुन्छ त ? 
अहिले चुनावको बेला पनि यो विषय आइरहेको छ । जुन स्वाभाविक पनि हो । अब यो विषय सकियो । अब हाामी सबै मिलेर धनगढी बनाउने हो । हाम्रो धनगढी हामीले बनाउने हो । नगर क्षेत्रको विकासका लागि गरिने काममा कसैले पनि विरोध गर्दैनन् होला । स्वार्थ बाझिएमा मात्रै हो कुरा नमिल्ने र अवरोध सृजना हुने । तर मेरो स्वार्थ धनगढी बनाउने मात्रै हो । यो हामी सबैको स्वार्थ हो । त्यसकारण यसमा असहजता हुने कुरै आउँदैन ।

निवर्तमान मेयर अर्थात् तपाईंका निकटतम् प्रतिद्वन्द्वी नृपबहादुर वडलगायतलाई कसरी समेटेर अघि बढ्नुुहुन्छ ?
हामीले काम गर्ने हो । कसरी धनगढीलाई राम्रो बनाउने भन्ने नै हो । हिजो पनि धनगढीलाई राम्रो बनाउनुपर्छ भन्ने पक्षमै आवाज उठाइरह्याैँ । पछिल्लो दिनमा पनि कसरी अगाडि बढ्न सकिन्छ भनेर सबैको राय सुझाव लिएर अगाडि बढ्नेछाैँ । चुनावताका पनि मैले कसैलाई आरोप प्रत्यारोप गरेको छैन । म कसैलाई बदला वा प्रतिशोध लिन जाने होइन । काम गर्न जाने हो । कसैलाई बाहिर राखेर नभई भित्रै राखेर आवश्यकताका आधारमा सल्लाह सुझाव लिएर अघि बढ्छु ।

निवर्तमान मेयरले अगाडि सारेका कामहरूलाई कसरी अगाडि बढाउनुहुन्छ ?
यसअघिका जनप्रतिनिधिले अगाडि सारेका थुप्रै कामहरू छन् । त्यसमध्ये केही पूरा भएका छन्, केही चलिरहेका छन् त केही सुरुवात नै हुन सकिरहेका छैनन् । धनगढीमा खोलानाला अतिक्रमण हटाएर डुबानको समस्यालाई कम गर्ने काम गर्नुपर्ने जरुरी छ । यो काम अघिल्ला जनप्रतिनिधिले अघि सारेको भएपनि काम हुन सक्न । जसले गर्दा धनगढी डुबान हुनेक्रम रोकिएन । त्यो समस्या झन बढी भइरहेको छ । यसलाई रोक्नुपर्ने छ । त्यस्तै अन्य रोकिएका महत्त्वपूर्ण योजनाहरूलाई तोकिएको सीमाभित्र सम्पन्न गर्ने कामलाई प्राथमिकतामा राख्नेछु ।

पाँच वर्षपछि धनगढी कस्तो हुन्छ ?
म धनगढीलाई बनाउनकै लागि यहाँ आएको हुँ । मलाई धनगढीले बनायो, अब मैले नि:स्वार्थ भावनाले धनगढीलाई बनाउनुपर्छ भन्ने मेरो उद्देश्य हो । मैले परिकल्पना गरेको भनेको नै नमूना धनगढी हो । धनगढी एक व्यवस्थित शहरका रूपमा अगाडि बढ्ने छ । सहरीकरणको विकाससँगै पर्यावरण संरक्षणमा ध्यान दिनेछाैँ । खानेपानीकाे दीगाे व्यवस्थापन गर्नुपर्ने छ । जबकी ५० वर्षपछि ट्यांकरको पानी किनेर खानुपर्ने अवस्था नआओस् भन्ने हो । आउने सन्ततिले समस्या भोग्न नपरोस् । यसबाहेक धेरै कुराहरू मैले मेरो घोषणापत्रमा पनि राखेको छु ।

तपाईंसँग जनताको पहुँच पुग्न सक्दैन भन्ने आरोप पनि छ, अबका दिनमा के गर्नुहुन्छ ?
यो चुनावका लागि फैलाइएको भ्रम वा प्रोपोगााण्डा मात्रै हो । जनतासँग मेरो पहुँच हिजो पनि थियो, आज पनि छ र आगामी दिनमा पनि रहिरनेछ । मेयर भइसकेपछि त झन म जनतासँग प्रत्यक्ष सम्पर्कमै रहने छु नै ।

नागरिकले पाउने सेवालाई कसरी प्रभावकारी बनाउनुहुन्छ ? 
म कुन उद्देश्यले यो ठाउँमा आएको हुँ भन्ने कुराको हेक्का मैले राखेको छु र राख्नुपर्छ । त्यही कुरालाई मात्रै आत्मसाथ गरेर हिँड्यो भने उपमहागनरपालिकाबाट जनतालाई प्रदान गरिने सेवा त्यसै प्रभावकारी हुन्छ । म टाइमपास गर्न वा पैसा कमाउन मेयर बनेको नभइ जनताको सेवा गर्न र धगनढीलाई बस्न लायक नमूना शहर बनाउन नै आएकाे हुँ । मैले पाँच वर्षसम्म यही कुरालाई मात्रै मनन गर्दै अगाडि बढ्ने हो भने पनि धेरै कुरा सुधार हुन्छ । जनताले निराश हुनुपर्ने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *