गोरखकाली रबर उद्योग सञ्चालन गर्न मुख्यमन्त्रीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बन्द रहेको गोरखकाली रवर उद्योग र भृकुटी कागज कारखाना पुनः सञ्चालनमा ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

२०७२ देखि यी उद्योगहरु पूर्णतः बन्द छन् । रबर र कागजको बजार निकै राम्रो भए पनि नेपालले विदेशबाट ल्याएर पूर्ति गर्दै आएको छ । तर यहीँको रुग्ण उद्योग सञ्चालनमा चासो दिएको छैन । हरेक सरकारले रबर उद्योग सञ्चालन गर्ने आश्वासन दिएर चुनाव जित्छन्, तर काम गर्दैनन् । अहिले मुख्यमन्त्रीले संघ सरकारलाई रबर उद्योग र कागज कारखाना सञ्चालनका लागि आग्रह गरे ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शेरबहादुर देउवालाई भेटेर पोखरेलले रणनीतिक महत्वका सडकसहित गौरवका योजनालाई महत्वका साथ कार्यान्वयन गर्न बजेट व्यवस्था गरिदिन आग्रह गरे । उनले उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजना सञ्चालनमा आएसँगै बुढीगण्डकी जलविद्युत आयोजनाको सुरुआत गर्न आग्रह गरेका छन् । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको धार्मिक तथा पर्यटकीय प्रवद्र्धन गर्न मुक्तिनाथदेखि लुम्बिनीसम्म जोड्ने मुक्तिमार्ग निर्माण, पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न र फेवातालको संरक्षण तथा विकासको लागि श्रोत सुनिश्चित गर्न आग्रह गरेका छन् ।

गण्डकी प्रदेशसँग जोडिएका मुस्ताङको कोरला, नवलपरासीको त्रिवेणी र गोरखाको लार्के नाकामा भन्सार पूर्वाधार विकास गरी व्यापार तथा वाणिज्य प्रवद्र्धन, गोरखाको आरुघाटदेखि चुमनुब्री हुँदै उत्तरी नाका लार्केसम्म मोटरबाटो निर्माण, देवघाटको प्रवर्द्धनलगायत योजना पनि सुझाएका छन् ।

कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न, मनाङको नार्पाभूमि गाउँपालिकाको केन्द्रमा सडक पुर्याउने योजना समेट्न ध्यानाकर्षण गराए । योजनाको पोको लिँदै प्रधानमन्त्री देउवाले राष्ट्रिय योजना आयोगमा पठाएर सकेसम्म धेरै योजना समेट्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *