जोखिमयुक्त अग्ला रूख काट्न नेपाल ट्रस्ट तयार

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ को गोकर्ण जंगल (तत्कालीन गोकर्ण राज निकुञ्ज)भित्र रहेका जोखिमयुक्त अग्ला रूखहरू काट्नलाई नेपाल ट्रस्ट तयार भएको छ।

गोकर्णेश्वर महादेव मन्दिरको पारीपट्टीको जंगल क्षेत्रमा भएका सल्लाका १०० फिटभन्दा अग्ला जोखिमयुक्त रूखहरू हावाहुरीका कारण कुनै पनि बेला ढल्न सक्ने र मानवीय तथा भौतिक क्षति हुन सक्ने भएकाले स्थानीय र वडा कार्यालयको दबाबपछि आज नेपाल ट्रस्ट रुख काट्ने सहमतिमा आएको हो।

नेपाल ट्रस्टको तर्फबाट उपसचिव विष्णु ढकालको नेतृत्वमा ३ सदस्यीय टोली र वडा कार्यालय र स्थानीयबीच भएको आजको वार्ता अनुसार कम्तीमा १७ वटा त्यस्ता रूख काट्ने सहमति भएको वडा नं ४ का सचिव नवराज सेनले मकालु खबरलाई जानकारी दिए। गए रातिको हावाहुरीले ३ वटा अग्ला रूख सडक हुँदै वडा कार्यालयको भवनमाथि ढलेपछि स्थानीयको दबाबमा आज नेपाल ट्रस्टसँग वार्ता भएको हो। वडा सचिव सेनका अनुसार सोमबार कार्यालय खुलेलगतै लिखित सहमति गर्ने र रूख काट्न सुरु गरिनेछ।

हिजो ढलेर सडक अवरुद्ध भएको रूख पन्छाउने कार्य सुरु भइसकेको र शनिबारसम्म सडक सुचारु हुने र वडा कार्यालय परिसरमा ढलेको रूख हटाउन सुरु गरिसकिएको समेत उनले बताए। उक्त जोखिमयुक्त रूख रहेको स्थानमा नेपाली सेनाको श्री नं १ विपत् व्यवस्थापन गुल्म पनि रहेको छ। गुल्ममा रहेको सेनाको ब्यारेकलाई समेत ठूलठूला रूखले जोखिम बनाइरहेको सेनाको समेत भनाइ रहँदै आएको छ।

केही दिनअघि एउटा रूख ढलेर ब्यारेकभित्र रहेको शौचालय क्षति भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *