पहिलो निर्णयमै कर घटाउँछु-भ्रष्टाचार र अनियमिततालाई माइनस बनाउँछु: नागेश (अन्तर्वार्ता)

विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला निर्वाचित भएका छन्  ।  नेकपा एमालेका सागरकुमार थापालाई पराजित गर्दै कोइराला स्थानीय तह कार्यान्वयनमा गएपछि दोस्रो मेयरको रूपमा उभिएका छन् । विसं. २०३० साल जेठ ३१ गते विराटनगरमा उनको जन्म भएको हो । उनका बुबा उमेश कोइराला र माता जया कोइराला हुन् ।

भिडिओ:

विद्यालय शिक्षा देखि नै राजनीतिमा लागेका नागेशले युनिभर्सिटी अफ बाबियो फिलिपिन्सबाट जनप्रशासनमा स्नातकोत्तर अध्ययन गरेका छन् ।  २०५४ सालमा नेपाल तरुण दल मोरङको कोषाध्यक्ष हुँदै २०५६ सालमा सभापतिसमेत भएका थिए । २०६६ सालमा नेपाली काँग्रेस मोरङको कोषाध्यक्ष र २०७२ सालमा सचिवमा अत्यधिक मतका साथ निर्वाचित भएका  कोइराला २०७८ सालमा सम्पन्न १४ औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भए ।

कोइराला सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । रोटरी क्लब अफ विराटनगर मिट टाउनको अध्यक्ष र राउन्ड टेबल–५ विराटनगरको अध्यक्षको जिम्मेवारीसमेत गरेका कोइराला महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिको दुई कार्यकाल अध्यक्ष भइसकेका छन् । ‘सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रका साथ राजनीतिमा लागेका कोइरालाले विराटनगर पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरमा गुरुकुल विद्यालय सञ्चालनका लागि २ करोड मूल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराउने व्यक्तिमा पर्छन् । सामाजिक, राजनीतिक र आर्थिक रूपमा सम्पन्न नागेश निर्वाचित भएका छन्  ।

उनले विराटनगरलाई कस्तो बनाउने परिकल्पना गरेका होलान् त ? यो बरेमा मकालु खबरका प्रदेश १ संवाददाता सुमन सुस्केराले विराटनगर महानगरपालिकाका नव निर्वाचित मेयर नागेश काेइरालासँग कुराकानी गरेका छन् । यस्तो छ कुराकानीको सारः

विराटनगर महानगरपालिकाको मेयरमा विजयी हुनुभएको छ, विराटनगरलाई बनाउने बारेमा तपाईं के सोच्दै हुनुहुन्छ ?

मैले पहिला पनि भनिसकेको छु, समृद्ध विराटनगर हरियाली सहितको विराटनगर, आत्मनिर्भर विराटनगर र सुरक्षित विराटनगर बनाउने मेरो योजना हो । महानगरपालिका भित्र पसिसकेपछि मेरो पहिलो दुई वटा प्राथमिकताका विषयहरू छन्। पहिलो काम भनेको करको दायरा बढाउने र कर घटाउने यो महत्त्वपूर्ण विषय हो, म चुनाव प्रचारमा जाँदादेखि नै मैले उठाउँदै आएको विषय हो । यो नागरिकसँग जोडिएको पनि छ । त्योसँगै विराटनगरमा डुबानको ठुलो समस्या रहेको छ । यो डुबानको समस्यालाई समाधान गर्नको लागि मेरो प्राथमिकता रहनेछ । डुबानको समस्या समाधान गरेर कसरी विकास निर्माणको काम गरेर जाने भन्ने कुरा छ । जबसम्म डुबानको समस्या समाधान हुन सक्दैन तबसम्म विराटनगरको विकासले गति लिन सक्दैन भन्ने मेरो बुझाई हो । प्राथमिकताका साथ डुबान समस्या समाधानमा काम गर्छु ।

हिजोको नेतृत्व पनि नेपाली काँग्रेसको थियो, आज तपाईं जानुभएको छ, हिजोका कामलाई सुधार गरेर जानुपर्ने के–के देख्नुभएको छ ?

विभिन्न कोणबाट हेर्दा धेरै कामहरू काँग्रेसले गर्न नसकेको जस्तो देखिन्छ । त्यसको पनि कारण छ जस्तो लाग्छ । एउटा एउटा कारण के हो भन्दा लामो समयसम्म स्थानीय निकाय जनप्रतिनिधि विहीन अवस्थामा थियो । १८ वर्षसम्मको जनप्रतिनिधिविहीन विराटनगरलाई गति दिन केही समस्या जस्तो देखियो । अर्को कुरा भनेको स्थानीय तहको निर्वाचन भइसकेपछि निर्वाचित भएर गएका जनप्रतिनिधिलाई आफ्नो अधिकारको बारेमा बुझ्न नै ८–१० महिना नै लाग्यो होला ।

बुझेर विकास निर्माण र विराटनगरको विकासलाई अघि बढाउँदै गर्दा कोरोनाले ग्रस्त बनाएको देखिन्छ । सामाजिक कार्यहरू अगाडि बढाउँदै गर्दा कोरोनाले विश्व नै अस्तव्यस्त बनायो ।  जम्मा दुई अढाई वर्षमा केही कामहरू भएका छन्, अधुरा कामहरू थुप्रै रहेको कारण ती कामहरू पूरा गर्ने दायित्व मेरो काँधमा आएको छ । जस्तो विराटनगर भित्रका सडक विस्तार र सडक सञ्जालका कुरा, डुबान समस्या समाधान, सामाजिक क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका सबै क्षेत्रमा काम गर्नु पर्नेछ ।

अर्को कुरा के हो भन्दा विराटनगरको विकाससँग जोडिएका अप्ठेरो पाटो पनि  छन् । सरकार सञ्चालन गर्ने  निकायका बिचमा पनि तालमेल नदेखिएको जस्तो देखिन्थ्यो । संघीय र प्रदेश सरकार एमालेको नेतृत्वमा थियो सँगैको विराटनगर महानगरपालिकाको नेतृत्व काँग्रेसले गरेको थियो ।

बजेटको भोल्युम सानो भएको कारण पनि धेरै कामहरू हुन सकेको देखिएन  र विराटनगर पछाडि पर्नुको कारण हो जस्तो लाग्छ । अब म निर्वाचित भएर आइसकेको छु । अहिलेको अवस्था भनेको संघीय सरकार पनि आफ्नै, प्रदेश सरकार पनि आफ्नै  र स्थानीय सरकार पनि आफ्नै हुने भएकोले विकास निर्माणसँगै सामाजिक कार्यहरू अगाडि बढ्छ । हामीले घोषणा पत्रमा उल्लेख गरेका कुराहरू कार्यान्वयन गर्नका लागि हामी अघि बढ्छौँ ।

तपाईं महानगरपालिकाको प्रमुख भइराख्दा  बहुमत संख्या त तपाईंको पुगेन, उपप्रमुख लगायत वडा अध्यक्ष अन्य दलको हुँदा काम गर्न अप्ठेरो होला नि ?

म त्यसरी स्थानीय तह चल्छ भन्ने मान्यता राख्दिन । स्थानीय तह भनेको स्थानीय मुद्दा, स्थानीय आवश्यकताका विषयसँग जोडिएका एजेन्डा र  नागरिकका समस्यालाई समाधान गर्नेसँग सम्बन्धित छ । स्थानीय मुद्दामा यो मान्छे जाँदा त्यसले राम्रोसँग काम गर्न सक्छ भन्ने ठानेर मत दिएर पठाउनु भएको छ । निर्वाचित भएर आउनुभएका सबै जनासँग हातेमालो गरेर अघि बढ्दै गर्दा विराटनगरको पुरानो रूप औद्योगिक नगरी, शैक्षिक नगरी, मेडिकल हबको नगरी वा स्वस्थ खानेपानी पिउने नगरीको रूपमा हामीले अघि सारिएका विषयहरू अघि बढ्दै गर्दा मलाई सबै जनाको साथ र सहयोग रहन्छ । यो विषय एउटा प्रमुखको मात्र हैन, यो विषय, उपमेयरको, एउटा वडा अध्यक्ष हुँदै वडा सदस्य र नागरिकको विषय हुने भएकोले सबैको साथ हुनेछ ।

विराटनगर अबको पाँच वर्ष पछि कस्तो हुन्छ ? तपाईंले कस्तो परिकल्पना गर्नुभएको छ ?

विराटनगरवासीले घरबाट बाहिर निस्किएर बजार जाँदै गर्दा खेरी  उहाँहरूले महसुस गर्ने खालको विराटनगर बनाउने हो । फोहोरको दिगो व्यवस्थापन गर्नुछ । पुनः प्रयोग हुने फोहोरलाई पुनः प्रयोगमा ल्याइने, सड्ने फोहोरलाई त्यही अनुसारको व्यवस्थापनको नीति बनाएर करिब १ वर्ष भित्रमा मैले फोहोर व्यवस्थापन गर्छु । डुबान समस्या समाधानका लागि पालिका, नेपाल सरकारले दिएको बजेट पर्याप्त नहुने अवस्थामा  अनुदान खोजेर दातृ निकायसँग समन्वय गरेर भएपनि काम थालिने छ । विराटनगरवासीलाई करको भार नहुनेगरी  हामी काम गरेर देखाउने खालको योजना बनाउँछौँ ।

तपाईंले पटक पटक उठाउँदै आएको कर  घटाउने कुराले महानगरपालिकाको आन्तरिक आम्दानी धान्छ ? अहिले नै कम राजश्व संकलन भयो भनिरहेको अवस्थामा सजिलो त छैन होला ?

कसैले व्यापार वा व्यवसायको लागि लोन लियो भने मात्र उ बाध्य भएर कर तिर्न महानगरपालिका जाने गरेको छ ।  विराटनगरमा यस्ता खालका नागरिक हुनुहुन्छ जो बुबा हजुरबुबाले बनाएको घरमा बस्दै आउनु भएको छ, जसको आम्दानीको स्राेत छैन । आम्दानीको स्राेत नभएको कारण कर तिर्न सकिरहनु भएको अवस्था छैन । त्यस्ता नागरिकलाई कसरी विराटनगर महानगरपालिकामा कर तिर्न सक्छ भनेर अध्ययन गर्ने र कर तिर्ने वातावरण बनाउने विषय महत्त्वपूर्ण हो । सस्तो कर हुने हो भने त्यस्ता नागरिकलाई सहजै करको दायरामा ल्याउन सकिन्छ । कसरको दायरा बढाउने र करको दर घटाउने हो भने नागरिक उत्साहित हुन्छन् जस्तो लाग्छ ।

अब तपाईंको पहिलो निर्णय के हुन्छ ?

मेरो पहिलो निर्णय नै करको निर्णय हुन्छ । त्यो भनेको करको दायरालाई फराकिलो पार्दै करको दर घटाउने नै मेरो निर्णय हुनेछ । मूल एजेन्डा भनेको नै करको हो, त्यो घटाउने नै हो । अर्को कुरा भनेको विराटनगर महानगरपालिकाको सुशासनमा मेरो निर्णय हुनेछ ।  महानगरपालिका भित्र हुने भ्रष्टाचारलाई माइनसमा लग्छु । महानगरपालिका भित्रको स्टोर र विभिन्न ठेक्कापट्टाको नाममा हुने भ्रष्टाचारलाई माइनसमा लगेर प्रविधिमैत्री बनाई सबैले थाहा पाउने गरी अघि बढाउँछु ।

नागरिकले पाउने सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउनुहुन्छ ?

नागरिकका गुनासाको आधारमा अघि बढ्नु पर्छ । यो काम गर्नको लागि मलाई करिब ६ महिना जति लाग्न सक्छ । महानगरपालिका भित्र अहिले पनि एक खालका मान्छेहरू बसेका छन् । उनीहरूले तत्काल त्यस्ता कामहरू गर्न नदिन सक्छन् । त्यसले गर्दा त्यहाँ भित्रको अवस्थालाई हेरेर नागरिकको सेवालाई बढीमा एक घण्टा भित्र सेवा लिएर घर फर्किने खालको वातावरण बनाउने मेरो योजना छ । सबै जनालाई मेरो आव्हान र उद्देश्य पनि त्यही नै हुनेछ ।

विराटनगर महानगरपालिका भित्र हुने भ्रष्टाचार र अनियमिततालाई शून्य बनाउने हो । त्यहाँभित्र अनियमित रूपमा भएका लिकेजलाई बन्द गर्ने र त्यस्ता रकमले  विकास निर्माणसँगै सामाजिक कार्यमा खर्च गर्ने मेरो सोच छ । समस्यामा भएका नागरिकलाई सहजीकरण गर्नको लागि सचिवालयलाई बलियो बनाउने र सहजीकरण गर्ने खालको काम तत्काल सुरु हुन्छ । सहज रूपमा नागरिकले प्रवेश गरेर हरेक सेवामा सहज रूपमा पहुँच पुग्ने गरी सेवा लिएर जाने वातावरण बनाउने छौँ ।

प्रतिक्रिया

One thought on “पहिलो निर्णयमै कर घटाउँछु-भ्रष्टाचार र अनियमिततालाई माइनस बनाउँछु: नागेश (अन्तर्वार्ता)

Leave a Reply

Your email address will not be published. Required fields are marked *