रंगेलीमा मतगणना स्थलमा प्रहरी र दलका कार्यकर्ताबिच झडप

१०७ मत बढी भेटिएको आरोप, मतगणना स्थगित

विराटनगर । मतगणनाको क्रममा खसेको भन्दा बढी मत फेला परेको विषयलाई लिएर मोरङको रंगेलीमा प्रहरी र नेपाली कांग्रेसका कार्यकर्ताबिच झडप भएको छ । नेपाली कांग्रेसले रंगेलीमा मत गणनाको शुरुदेखि नै लफडा गर्दै आएको छ ।

मतगणनामा धाँधली गर्न खोजिएको आरोप नेपाली कांग्रेस र जसपाको छ । उनीहरूले बिहानै देखि मतगणनास्थल बाहिर नारावाजी गर्दै टायर बालेर बिरोध प्रदर्शन गरेका थिए । मतगणना स्थलको सुरक्षार्थ खटिएका प्रहरीमाथि कांग्रेसका कार्यकर्ताले ढुंगामुढा प्रहार गर्न थालेपछि झडपको अवस्था सिजर्ना भएको प्रहरीले जनाएको छ ।

मतगणना स्थलको सुरक्षा र अवस्था नियन्त्रणका निम्ति बल प्रयोग गर्ने क्रममा प्रहरीले दुई राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको छ । रंगेली नगरपालिका वडा नम्बर ७ को मतगणनाको क्रममा १०७ मत बढी फेला परेपछि शुक्रबार बिहानैदेखि नेकपा एमाले बाहेकका नेता कार्यकर्ता आन्दोलनमा छन् ।

कार्यकर्ताहरूको विरोधका कारण रङ्गेलीको अन्य वडाको मतगणना समेत स्थगित भएको छ । वडा नम्बर ७ मा कुल ३२४२ मत खसेकोमा मतगणना पछि सार्बजनिक गर्ने बेला ३३४९ मत सार्बजनिक भएको भन्दै विवाद शुरु भएको थियो ।

कम्प्युटरमा मत प्रबिष्टिका क्रममा प्राविधिक समस्या भएपछि विवाद शुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दिउँसो सर्वदलीय छलफलको लागि बैठक बोलाईएको भएपनि नेपाली कांग्रेस, जसपा सहितले विरोध जनाउँदै आएका छन् । निर्वाचन अधिकृत रामहरी काफ्लेले प्राविधिक त्रुटिका कारण कम्प्युटरमा बढी मत प्रविष्टि भएको स्वीकार गरेका छन् ।

कर्मचारी थाकेर त्यहाँ प्रबृष्टि गर्दा केही तलमाथि परेको हो, उनले भने, मान्छे हो काम गर्ने क्रममा त्रुटि हुनसक्छ त्यसलाई सच्याएर जानुपर्छ । मत गणना गरेर कम्प्युटरमा प्रविष्टि गर्ने क्रममा भएको प्राविधिक त्रुटिका कारण १०७ मत बढी प्रविष्टि भएको उनले बताएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले त्यहाँको समस्या समाधान गर्न तर्फ सबै दलहरूलाई ध्यानाकर्षण गराई सकिएको जनाएको छ । मुख्य निर्वाचन अधिकृत भरत लम्सालले छलफल गरेर समस्याको समाधान निकाल्न भनिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *